×

वीरगन्ज ३१ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बुधबार बिहान ५ बजेदेखि आगामी ५ जेठसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । औषधि उपचारका लागि बाहेक अन्य काममा घरबाहिर निस्कन पूर्णतः रोक लगाइएको छ ।

पर्सामा मंगलबार मात्र ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाभर संक्रमितको कूल संख्या ६४ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले शान्ति सुरक्षाका साथै महामारी नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासनले निषेधाज्ञा अवधिभर खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अत्याआवश्यक सेवा सञ्चालन गर्न पाइने जनाएको छ । बजार, पसल, उद्योगधन्दा, व्यवसाय र सेवा भने बन्द हुने कार्कीले जनाए ।

उनका अनुसार सीमावर्ती भारतीय क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोक्न थप सुरक्षाकर्मी परिचलान गरिनुका साथै अन्य जिल्लाबाट हुने आवतजावत निषेध गरिएको छ । उनले यदि कसैले निषेधाज्ञा उल्लंघन गरेमा सुरक्षाकर्मीले बल प्रयोग गर्ने चेतावनी दिए ।

चेतावनी, लाठी चार्ज, टियर ग्यास र आवश्यक परे अनुमति लिएर गोलीसमेत हान्ने अधिकार सुरक्षाकर्मीलाई रहेको कार्कीको भनाइ छ ।

Back to top