×

वीरगञ्ज, बैशाख ३१ – वीरगञ्जको नारायणी अस्पतालबाट बुधबार फरार भएका दुवै कोरोना सङ्क्रमितलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ दोस्रा सङ्क्रमितलाई पनि पक्राउ गरेको हो ।

दुवै सङ्क्रमितलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो । फरार मध्येका एक सङ्क्रमितलाई आज दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं. १९ को तिलावे पुलबाट पक्राउ गरिएको थियो । पक्राउ परेसँगै उनलाई नारायणी अस्पतालको आइसोलेशनमा ल्याएर पुन: भर्ना गरिएको थियो ।

अर्का सङ्क्रमितलाई भने राति लगभग ८ बजे धोबानी गाउँपालिका वडा न. ३ हरियारपुरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरीले नारायणी अस्पताल ल्याउने त्यारी गरिरहेको जनाएको छ ।

सङ्क्रमितहरु सौचालय जाने बहाना बनाएर अस्पतालको पर्खालबाट हाम फालेर भागेका थिए । सङ्क्रमितहरु भागे पछि जिल्लामा त्रासको वातावरण सृजना भएको थियो ।

फरार सङ्क्रमितहरुको खोजि गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको समेत सहयोग लिइएको थियो ।

दुवै सङ्क्रमितहरुलाई हिजो उपचारका लागि अस्पताल ल्याइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

Back to top