×

बीरगन्ज, ३० बैशाख । पत्रकार तिवारी यादवमाथि हातपात र दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाहीको माग गर्दै पत्रकारले आज ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको पत्रकारहरुको टोलीले दोषी प्रहरीलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउदैं पत्रकार महासंघका अध्यक्ष बन्जाराले यादवमाथि हातपात र दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याएर निलम्बित गर्न प्रमुख जिल्ला अधिकारी कार्कीसँग आग्रह गर्नुभयो ।

दोषी प्रहरीलाई तीन दिन भित्र कारवाही नगरिए आन्दोलनका थप कार्यक्रमसहित अघि बढ्ने पनि अध्यक्ष बन्जारले उद्घोष गर्नुभयो ।

यसअघि, पत्रकार यादवमाथि भएको दुर्व्यवहारको घटनामा प्रहरीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ पर्साले आज दोस्रो दिन पनि धर्ना जारी राख्यो ।

बीरगन्जको घण्टाघरमा भेला भएका पत्रकारहरु आज दोस्रो दिन पनि बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्नामा बसे । धर्ना पर्साका करिब १५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

बीरगन्जस्थित नारायणी एफएम र नयाँ पत्रिका दैनिकका पर्सा सम्वाददाता पत्रकार यादवमाथि प्रहरीले गत बैशाख २८ गते एफएमको कार्यालय अगाडि बाटै लछारपछार गर्दै कुटपिट गर्दै पक्राउ गरेको थियो ।

https://www.facebook.com/yatradaily/videos/243062993581867

Back to top