२१ औं स्मृति दिवस : मधेशले बिर्सिएका बाबा रामजनम तिवारी

144

मधेशमा स्व.गजेन्द्रनारायण सिंहबाट दल निर्माण सुरु भएको थियो । त्यसपछि विभिन्न निर्माण भए । पछिल्लो समय ती सबै दलहरु एकजुट हुँदैछन् । तर गजेन्द्रनारायण सिंहलाई समेत राजनीतिमा ल्याउने बाबा रामजनम तिवारीलाई सबैले विर्सिँदैछन् ।  हुन त गजेन्द्रनारायण सिंहले स्थापना गरेको दल र विचारको कहि यतोपतो छैन । तैपनि उनको स्मृति तथा जन्मदिवसमा कुनै न कुनै रुपमा सम्झने काम नेताहरुले गरेका हुन्छन् ।

तर मधेशलाई पहिचान दिने तथा मधेशको लागि आफ्नो सम्पूर्ण जीवन सम्पर्ण गर्ने बाबा रामजनम तिवारीको सम्झना कसैलाई छैन । मधेशका एक–दुईजना नेताले आफ्नो फेसबुकमार्फत सम्झे पनि सांगठनिक रुपमा वा औपचारिक रुपमा कसैले सम्झेको छैनन् ।


उनको मृत्यु २०५६ बैशाख २९ गते निधन भएको थियो । आज उनको २१ औं स्मृति दिवसमा स्मरण गर्ने कोही भएन । कोरणा भाइरसका कारण अहिले लकडाउन छ । एक ठाउँमा भेला सम्झना गर्न सकिदैन तर उनको नाममा फरक ढंगले केही गर्न सकिन्थ्यो तर त्यसको बारेमा सोच्ने  फुर्सल आज कसैलाई छैन, गोरखापत्रका पूर्वप्रधान सम्पादक सीताराम आग्रहरी भन्छन्, स्मृतिमा भेला भएर सम्झना नगरेपछि एउटा विज्ञप्ति निकालेर वा उहाँको नाममा लकडाउनमा राहत वितरण वा केही गरेर सम्झिन सकिन्थ्यो तर अहिलेका नेताहरुलाई फुर्सदै छैन ।’

मधेशमा योगदान

रघुनाथ ठाकुर, बाबा रामजनम तिवारी, श्यामलाल मिश्र, गजेन्द्रनारायण सिंह, रामराजाप्रसाद सिंह मधेशका ‘टाइकुन’ हुन् । तर, मधेश आन्दोलनको वास्तविक अगुवाई बाबा रामजनम तिवारीले नै गर्नुभएको थियो । गजेन्द्रनारायण सिंहभन्दा पनि अघि तिवारी मधेशको संघर्षमा आएका हुन् ।

बसाई सराई प्रतिवेदनको विरोध गर्नेमा उनकै अगुवाई थियो । र, त्यहीबाट उनले सद्भावना परिषद् गठन गरेका थिए ।
भारतीय स्वतन्त्रताका लागि समेत लडेका बाबा रामजनम तिवारी सन् १९५० मा नेपाली काँग्रेसमा आबद्ध भएका थिए । काँग्रेसका पर्सा जिल्लाका पहिलो अध्यक्ष समेत रहिसकेका रामजनम तिवारीले मधेशीमाथि हुने विभेदको बारेमा पार्टीमा कुरा उठाउने गरेको जनकपुरका अर्का वरिष्ठ पत्रकार राजेश्वर नेपालीले बताए ।

रामजनम तिवारीको साथमा मधेशी संघर्षमा लागेको पत्रकार राजेश्वर नेपाली भन्छन्, ‘२००७ सालको क्रान्ति सफल भएपनि मधेशीमाथिको विभेद अन्यत्य नहुँदा बाबा रामजनम तिवारीले तत्कालिन गृहमन्त्री एवं काँग्रेसका नेता बीपी कोइरालालाई भेटेर मधेशमाथि भइरहेको विभेद अन्त्यका लागि आग्रह गरेका थिए । त्यतिबेला कोइरालाले भर्खर आएको प्रजातन्त्र सुदृढ अवस्था नभएको र सुधार हुनमा केही समय लाग्ने आश्वासन दिएका थिए ।

२००८ मा तत्कालिन राजा त्रिभुवन वीरगञ्ज भ्रमणमा गएको बेला रामजनम तिवारीले उनलाई तराई काँग्रेसको ब्यानरबाट भव्य स्वागत गरी मधेशको समस्या बारे जानकारी गराउन चाहेका थिए ।

तर त्यहाँ उनको कुरा नसुनी त्रिभुवनले उनलाई काठमाडौँ बोलाएका थिए । पछि काठमाडौँ आएर उनले राजा त्रिभुवन समक्षको मधेशका हरेक समस्याको बारेमा जानकारी गराएका थिए । साथै राजाबाट पनि समाधान हुने कुराको आश्वसान पाएका थिए ।

त्यसपछि उनी काँग्रेस पार्टी छाडेर सप्तरीका कुलानन्द झाको अध्यक्षतामा गठन भएको तराई काँग्रेसको महामहामन्त्री भए । तराई काँग्रेसमा लागेपछि उनी त्यसको संगठन विस्तार गर्नुको साथै हिन्दी भाषा बचाउ आन्दोलन पनि गरेका थिए ।

२०१७ सालमा पञ्चायतकाल आएपछि रामजनम तिवारी भारत प्रवासमा बसेका थिए । त्यतिबेला भारत पटनामा नेपाली काँग्रेसको सम्मेलन भएको थियो । सो सम्मेलनमा रामजनम तिवारीले तराई काँग्रेसलाई नेपाली काँग्रेससँग एकता गराएर प्रजातन्त्र प्राप्तिको लडाईंमा लागेका थिए ।

हर्क गुरुङ्को प्रतिवेदन

उनको संघर्ष जारी थियो । त्यतिबेलै बसाइसराइ सम्बन्धी हर्क गुरुङको प्रतिवेदन आयो । त्यो प्रतिवेदनले तराई मधेशलाई निकै अपमान गरेको महसुस गर्दै त्यसको विरोधमा रामजनम तिवारीले आन्दोलनसमेत गरेका थिए ।

प्रतिवेदनको विरुद्धमा लामो आन्दोलन चलेको थियो । त्यही आन्दोलनको क्रममा उनी वीरगञ्जबाट समातिएका थिए । गजेन्द्रनारायण सिंह लगायत अन्य नेताहरु समातिए थिए । सरकारले रामजनम तिवारीबाहेक अन्य सबैलाई छाडेको थियो । रामजनम तिवारीलाई भने दुई महिनापछि मात्र रिहा गरियो ।

सद्भावना पार्टी

२०४६ सालको आन्दोलनमा पनि सक्रियका साथ लागेका रामजनम तिवारी २०४७ सालमा नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावाना पार्टीमा परिवर्तन गरे । र, उनले त्यसको अध्यक्ष गजेन्द्रनारायण सिंहलाई बनाए । उनी आफै वरिष्ठ नेताको रुपमा रहे ।

२०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीले भाग लिएको थियो तर रामजनम तिवारीले चुनावमा भाग लिएनन् । त्यो चुनावमा पार्टीले ६ वटा सीट जितेको थियो । राष्ट्रसभामा रामजनम तिवारीलाई मनोनित गर्ने कुरा थियो । तर गजेन्द्रनारायण सिंहले रामेश्वर राय यादवलाई मनोनयन गरेपछि उनी गजेन्द्रनारायण सिंहको साथ छाडेर नेपाल सद्भावना पार्टी (आर) गठन गरे । सोही दलबाट उनले आफ्नो राजनीति यात्रा तय गरेका थिए ।

पत्रकार अग्रहरी भन्छन्, ‘गजेन्द्रनारायण सिंहबाट अलग भएपछि नेपाली काँग्रेसले उहाँलाई पार्टीमा ल्याउन निकै प्रयास पनि गरेको थियो । तर उहाँले आफू मरेपनि अब नेपाली काँग्रेमा नजाने र यही दलबाट बाँचेसम्म मधेशका लागि आवाज उठाउने जवाफ दिनुभएको थियो ।’

तिवारीले नेपाल सद्भावना पार्टी (आर) बाट निरन्तर संघर्षमा रहे । तर, सार्वजनिक लाभको पदमा कहिले गएनन् । उनलाई काँग्रेसले राष्ट्रिसभामा मनोनित गर्ने भनेर पटक–पटक पार्टीमा आउन आग्रह गरेको थियो । तर आफू पदका लागि मधेशसँग बेइमानी नगर्ने भन्दै सोही पार्टीमा रहेर आन्दोलनमा रहे ।

उनी मरेर गए तर जीवनभर कसैसँग पदका लागि कुनै पनि सम्झौता गरेनन् । उनीसँगै आएका नेताहरु गिरफ्तार हुँदा दरवारमा बिन्ती चढाएर रिहा हुन्थे । रिहाइका लागि विभिन्न ठाउँमा भनसुन गराउँथे तर रामजनम तिवारीले भने कहिले त्यस्तो नगरेको पत्रकार अग्रहरी बताउँछन् । उनले चाहेको भए काँग्रेस पार्टीमा गएर मन्त्रीसम्म बन्न सक्थे तर उनले मधेशका साथ धोका नगरेको जानकारहरु बताउँछन् ।

भारतमा जागिरे

भारतमा बेलायती शासन रहेको बेला उनी त्यहाँको दरोगा थिए । तर, त्यहाँका निर्दोष जनतामाथि गोली चलाउन निर्देशन आएपछि उनले जागिर नै छाडेका थिए ।

प्रहरीबाट जागिर छाडेपछि उनले त्यहीको अमेरिकी सूचना केन्द्रमा अनुवादकको रुपमा काम गरेका थिए । अङ्ग्रेज विरोधी आन्दोलन शुरु भएपछि उनले त्यो जागिर छाडेर आन्दोलनमा होमिएका थिए । साभार ratopati.com