×

रौतहट, २७ वैशाख । रौतहट जिल्लासँग सिमाना जोडिएको दशगजा क्षेत्र मिचेर भारतीय पक्षले ड्याम बनाइरहेको छ।भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिका १, २ र ३ नं वडा डुबानमा पर्ने गरी सीमा मिचेर ड्याम बनाइरहेको सो वडाका जनप्रतिनिधिहरूले पनि बताएका छन् ।

नेपाल र भारत दुवै देशमा लकडाउन भएको र सीमा सील रहेको अवधिमा भारतीय पक्षले दशगजा पार गर्दै १० देखि १२ मिटर नेपाली भूमि मिचेर ड्याम बनाइरहेको छ। भारतको पुरानो ड्यामभन्दा पनि ५ फिट अग्लो र चौंडा ड्याम बनिरहेको भन्दै स्थानीय बासिन्दाले सोको चर्को विरोध गरेका छन् ।

नेपाली पक्षबाट सरकारको कुनै पनि निकाय नबोलेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले आक्रोश पोखेका छन्। पुरानै भारतीय ड्यामका कारण रौतहटको ईशनाथ र राजपुर नगरपालिकाका विभिन्न वडा डुबानमा पर्दै आएको छ। त्यसमा पनि नेपालतर्फ सीमा मिचेर ड्याम फराकिलो पार्दै उचाइसमेत बढाएपछि आफूहरू प्रत्यक्ष चपेटमा पर्ने ईशनाथ नगरपालिका वडा नं १ का अध्यक्ष बिगु साहले बताए ।

ईशनाथ–१ बन्जराहमा भारतले सीमा मिच्दै अग्लो ड्याम बनाएको विषयमा आफूहरूले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटमा खबर गरेको वडाध्यक्ष साहले बताएका छन्। स्थानीयस्तरबाट जति विरोध गरे पनि भारतीय पक्षले काम रोक्ने लक्षण नदेखाएको उनको भनाइ छ ।

Back to top