×

विरगञ्ज २५ बैशाख । बुधबार विरगञ्जमा एकै परिवारका १७ जनामा कोरोना संक्रमण देखिएपछि सो महानगरमा त्रास फैलिएको छ । महानगरका मेयर विजयकुमार सरावगीले विरगञ्ज कोरोनाको केन्द्रविन्दु बन्ने भयो भन्दै चिन्ता व्यक्त गरेको छन् ।

केन्द्र र प्रदेश सरकारले तत्कालै सो क्षेत्रका ५ हजार जनामा संक्रमणको परिक्षण नगरे ठूलो महामारीको अबस्था आउने समेत उनले चेतावनी दिएका छन् । उनले भने, ‘यदि एक दुईदिनभित्रै ५देखि १० हजार जनाको कोरोना संक्रमण परिक्षण गर्न सकिएन भने भयाभ स्थिति आउने निश्चित छ । केन्द्र सरकारले यो कुरालाई गम्भिरता पूर्वक लिन पर्छ ।’

संक्रमणमा परेका व्यक्तिमध्ये संशुद्धिन मियाँ महानगरले सञ्चालन गरेको राहत वितरण कार्यमा सक्रिय थिए । उनी यसबीच १२ सयभन्दा बढी व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका हुनाले संक्रमण विष्फोटक अबस्थमा पुगेको अनुमान गरिएको हो । मेयर सरावगीको चिन्ता अबका दिनमा यसैगरि ठूलो संख्यामा एकै दिन संक्रमितहरु फेला पर्ने सम्भावनका कारण बढेको हो । संक्रमित व्यक्तिहरुको सम्पर्क सम्बन्ध(कन्ट्रयाक्ट ट्रेसिङ)को अध्ययन समेत अब जटिल बनेको उनको निष्कर्ष छ ।

उनको चित्त दुखाई विरगञ्ज कोरोनाको चपेटामा पर्दै छ भन्ने पूर्वाभास गरेर प्रदेश र केन्द्र सरकारलाई झकझक्याउदा समेत ती सरकारहरुले उदाशिनता देखाएकोमा केन्द्रीत छ । आफूले चाहेर पनि केहि गर्न सक्ने अबस्था नरहेकोमा उनी निरिह बनेका छन् । उनी भन्छन् , ‘हामीले सक्ने काम भनेको नै क्वारेनटाइन निर्माण, राहत वितरण र डिसेन्टिफाइट छर्कने मात्रै हो त्यो गरिरहेका छौं ।’ ५० बेडको कोरोना अस्पताल बनाउने महानगरको प्रस्ताव समेत माथिल्ला सरकारहरुले सुनेको नसुने झै गरेकोमा भने उनी निक्कै आक्रोशित देखिन्छन् ।

सरावगीका अनुसार बुधबार संक्रमण पुष्टि भएका १७ जना यसअघि नै कोरोना संक्रमितका रुपमा पुष्टि भएका शंशोद्धिन मियाका परिवारका सदस्य हुन । जसमा २ महिने शिशुदेखि ६६ वर्षसम्मका वृद्ध छन् । संक्रमितमध्ये १० जना पुरुष र ७ जना महिला छन् ।

Back to top