मजदुर दिवस मनाएर घर फर्किँदा मजदुर भोकै बस्न नपरोस् : निखिल बरनवाल

229


निखिल बरनवाल 

मजदुरको बलिदान र संघर्षले विश्व राजनिती र अर्थतन्त्रको परिभाषा र व्यवस्था परिवर्तन गरेका भए पनि मजदुरको दैनिकी भने अझै पनि परिवर्तन भएको छैन । नेपालको राजनिती र समयको हरेक कालखण्डमा युवा र मजदुर समय सापेक्ष संघर्षमा आफ्नो योगदान दिएका छन् र प्रत्येक राजनितीक पार्टीमा मजदुर संगठन भईरहँदा र राजनितीक मञ्चबाट मजदुरको बिकास र स्तरोन्नतिका बारे नेतृत्व तहबाट ठूला ठूला कुरा गरिएपनि ती प्रतिबद्धता भने शब्दमा मात्र सीमित भएका छन् र मजदुरको अवस्थामा भने कुनै परिवर्तन आएको छैन् ।

मजदुरहरु राष्ट्र निर्माणका धरोहर हुन् । मजदुरको परिश्रम र योगदान विना कुनै पनि मुलुक विकासको कल्पना गर्नु असम्भव छ । राष्ट्र निर्माणमा मजदुरको योगदानलाई अवमुल्यन गर्दाको परिणाम सुखद हुँदैन भन्नेकुरा विश्व ईतिहासमा सफल भएका महान मजदुर आन्दोलनले प्रमाणित गरिसकेका छन् । प्रत्येक वर्ष मजदुर दिवस मनाईरहँदा मजदुरको पेशागत हित र उनीहरुको जीवनस्तर उभो बनाउने निश्चित योजना प्रस्तुत गर्नुको साटो मजदुर दिवसलाई राजनीति गर्ने प्रयोगशालाको रुपमा उपयोग गर्दा दलपिच्छे मजदुर संगठन खुल्ने र ट्रेड युनियनहरुमा भित्रिएको अवसरवाद र संरक्षणबादी सोच र प्रवृत्तिले श्रमिकको वास्तविक एजेन्डा सही ढङ्गले उठ्न सकिरहेको छैन । यसकारण, वास्तविक श्रमिकको अवस्था आज पनि दयनीय छ । आफ्नो व्यक्तिगत स्वार्थ र हितलाई पुरा गर्न ट्रेड युनियनलाई भर्याङ्ग बनाउने र आफ्नो स्वार्थ पुरा भएपछि आन्दोलनलाई कमजोर बनाउने तथा पुँजीपति वर्गसँग आफ्नो व्याक्तिगत स्वार्थ अनुकुल सम्झौता गर्दा आजको अवस्थामा ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको छ ।

मुलुकमा पर्याप्त रोजगारीका अवसर नहुँदा खाडी मुलुकमा दैनिक हजारौ युवा कष्टपुर्ण, अपहेलित र असुरक्षित काम गर्न बाध्य छन् । समाज र राष्ट्रको अग्रगामी परिवर्तनको लागि विभिन्न असुरक्षाका वाबजुद कलम चलाउने श्रमजीवी पत्रकारले आजपनि मालिकबाट उचित पारिश्रमिक पाउन सकेका छैनन् । बढ्दो मुल्यवृद्धि र महँगीले दैनिक जीवन गुजार्न अप्ठ्यारो पर्दा समेत अन्य देशको तुलनामा अत्यन्त कम तलव सुविधामा निजामती श्रमिकहरुले देशका लागि काम गरिरहेका छन् । यी सबै दृष्टान्तबाट नेपालको ट्रेड युनियन आन्दोलन राजनीतिक रुपमा सफल भएपनि आर्थिक र सामाजिक रुपमा सफल हुन सकेको देखिँदैन । नयाँ सडकमा दिनभर खाली खुट्टामा भारी बोक्ने भरियाको जीवनस्तर आज पनि उस्तै छ । सामान्य बेला मजदुर दिवस मनाउन जम्मा भएका मजदुरहरु दिवस मनाएर साँझ घर फर्कदा परिवार र आफ्ना लालाबालासँग भोक दिवस मनाउन बाध्य छन् । चिया बगानमा काम गर्ने मजदुरको अवस्था उस्तै दयनीय छ । ठूलो मेहनेत, श्रम र पसिना बगाएर खेती गर्ने उखु किसानले आजपनि उधोगहरुबाट उचित मुल्य पाउन सकेका छैनन् ।



झन अहिलेको परिस्थिति एकदम फरक छ। विश्व नै सबै भन्दा ठुलो महामारीसँग कुस्ती लडिरहेको छ। कोरोनाभाइरसको महामारीले विश्व भरिको राजनीतिक र आर्थिक व्यवस्थामा ठुलो प्रभाव देखिने छ। त्यो प्रभावमा नेपाल पनि उतिकै पिडामा आउने छ। देशलाई कोरोनाभाइरससँग लड्ने बेलामा हाम्रो नेतृत्व वर्गहरु राजनीतिक दाउपेचमा लागिपरेका छन। यो एउटा सानो संकट हो। पिक्चर अभि बाकि है मेरे दोस्त ! कोभिड-१९ पछि देशले ठुलो संकट देख्नेछ। ति १५ लाख श्रमिकहरुको व्यवस्थापन कसरि गर्ने? उनीहरुको लागि के नीति बनिरहेको छ ? सरकारले ति १५ लाख र देश भित्र थप लाखौँ मजदूरहरुको लागि के प्याकेज दिएको छ वा दिनेछ? सरकारले यो पालि मात्र शुभकामना दिएर हुदैन मजदूरहरुको लागि उचित राहत प्याकेज घोषणा गर्न जरुरि देखिएको छ। बामदेव गौतमलाई प्रधानमन्त्रि बनाउने अफर तर मजदूरसँग किन अन्याय?

अन्त्यमा –लोकतन्त्र सबै सम्मान हुने र सबैको अधिकार सुनिश्चित हुने सुन्दर बगैँचा हो । यो बगैँचाले श्रमिकले आफ्नो रगत र पसिना बेचेर श्रम गर्दा अनुकुल श्रम वातावरण, भेदभाव रहित कार्यव्यवहार एंव पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सुनिश्चित हुन सक्ने अवस्था सिर्जना गरोस् । मजदूरदिवस मनाएर साझ घर फर्कदा मजदूर र उसको परिवारले भोक दिवस मनाउन नपरोस् । सबै श्रमिकहरुलाई मजदूरदिवसको शुभकामना ।

लेखक समाजवादी विद्यार्थीका केन्द्रीय सचिवालय सदस्य हुन्