×

वीरगञ्ज, बैशाख १८ - प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ पुगेको छ । बुधबार बारा र पर्सामा थप ३ जनामा पोजिटिभ देखिएसँगै यो संख्या १२ पुगेको हो । मंगलबार रौतहटका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बारा, पर्सा र रौतहटका सबै कोरोना संक्रमितलाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि वीरगञ्जमा भेटिएका तीनजना भारतीय र रौतहटका एकजना गरि ४ कोरोना संक्रमित निको भइ घर फर्किसकेका छन् ।

रौतहटका दुवैजनाको प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थिएन । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भयो ।

यसअघि सर्लाहीका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट पनि प्रादेशिक अस्पताल जनकपुरले नेगेटिभ भनेको थियो । तर, टेकु अस्पतालले पोजिटिभ भन्यो ।

टेकु प्रयोगशालाले सर्लाहीका ती बालकमा कोरोना संक्रमित रहेको पुष्टि गरेसँगै प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा जडान गरिएको पीसीआरमाथि प्रश्नचिह्न उठ्यो । र, पछिल्लो एक साताभन्दा बढी समयदेखि प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा कोरोना परीक्षण बन्द छ ।

संघीय सरकारले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका लागि पीसीआर मेसिन पठाएको दुई साताभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म उक्त मेसिन सञ्चालनमा आउन सकेको छैन् । जडानका लागि सहायक र अन्य उपकरणहरु उपलब्ध नहुँदा पीसीआर परीक्षण सुरु हुन नसकेको अस्पतालले प्रशासनले जनाएको छ ।

पीसीआर मेसिन सञ्चालनका लागि त्यसमा लाग्ने थप १२ थरी उपकरण आवश्यक रहेको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख मदन

उपाध्यायले जानकारी दिए ।

उपकरण खरिद गर्न बोलपत्र आह्वान भइसकेको र उपलब्ध भएलगत्तै पीसीआर सञ्चालनमा आउने उनले बताए ।

प्रादेशिक अस्पतालको प्रयोशालामा यसअघि भएका परीक्षणमा सबै नतिजा नेगेटिभ आएपछि टेकु अस्पतालमा पुनः परीक्षणको लागि पठाइएको छ ।

प्रदेशभर हुँदैन परीक्षण

अहिले प्रदेश २ का आठ जिल्ला पर्सादेखि सप्तरीसम्म करिब पाँच सय किलोमिटरको सेरोफेरोमा कतै पनि पीसीआर परीक्षण भइरहेको छैन ।

कोरोना संक्रमणका शंकास्पद व्यक्तिहरुलाई प्रादेशिक अस्पतालमा परीक्षण गरेर घर पठाइएपछि जोखिम झन् बढेको चिकित्सकहरु बताउँछन् । जनकपुरमा १०१ जना शंकास्पदको स्वाबको नमुना परीक्षण भएको थियो । तर, यहाँ नेगेटिभ भनिएकामध्ये केहीमा कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ चुनौतीपूर्ण बन्दै गएको छ ।

१०१ मध्ये मंगलबारसम्म ३४ जनाको काठमाडौंमा पुनः परीक्षण गर्दा तीनजनामा पोजिटिभ देखिएको छ ।

प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साह फरक नतिजा आउनुमा पीसीआर मेसिनको त्रुटि रहेको दाबी गर्छन् । उनी भन्छन्, 'देशभर कतै पनि प्रयोग नभएको मेसिन प्रादेशिक अस्पतालमा पठाइएकोले फरक नतिजा आएको हो ।'

भक्तपुर क्यान्सर अस्पतालका रगत रोग विशेषज्ञ डा.अजय झा कोरोनाविरुद्धको तयारी हेर्दा अहिलेसम्म प्रदेश २ ‘भगवान् भरोसा’ मा रहेको टिप्पणी गर्छन् ।

‘प्रदेश २ को आठ जिल्लाको कुनै स्थानमा स्वाब परीक्षणको सुविधा छैन । प्रादेशिक अस्पतालमा भएको पीसीआरले ठीक रिपोर्ट दिन सकेन,’ उनी भन्छन, ‘वीरगञ्जको पीसीआर मेसिन पनि थन्किएको छ, प्रदेश २ मा अहिलेसम्म भगवान् भरोसा छ ।’

छैन बेग्लै अस्पताल

‘लकडाउन’ सुरु भएको एक महिना नाघिसकेको छ । तर, प्रदेश सरकारले अहिलेसम्म कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाउन सकेको छैन ।

प्रदेशको अस्थायी राजधानी जनकपुरमा समेत कोरोना अस्पताल नहुँदा नजिकै रहेको सर्लाहीका बालकलाई उपचारका लागि वीरगञ्ज ल्याउनु पर्‍यो ।

यद्यपि, प्रदेश सरकारले प्रादेशिक अस्पताल नजिकै रहेको नर्सिङ क्याम्पसको होस्टलमा छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। अस्पताल निर्माण हुन अझै १० दिन लाग्ने बताइएको छ ।

प्रदेश सरकारको आफ्नै मातहतमा रहेको प्रादेशिक अस्पताल जनकपुर, जलेश्वर अस्पताल, मलंगवा अस्पताल, रौतहटको गौर र बारा अस्पताल पनि कोरोना संक्रमणको विरामीको उपचारका लागि तयार भइसकेका छैनन् ।

संघीय सरकार मातहत रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा संक्रमितको उपचार भइरहे पनि अहिलेसम्म परीक्षण गर्ने पीसीआर मेसिन जडान भएको छैन् ।

संघीय सरकारकै मातहत रहेको सप्तरीस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पनि कोरोना संक्रमणको परीक्षण र उपचारको व्यवस्था हुनसकेको छैन् ।

स्वाब संकलनदेखि उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षा र सुविधामा ध्यान नदिइएको चिकित्सक झा बताउँछन् । ‘सबै स्वास्थ्यकर्मीहरु निरन्तर काम गरिरहेका छन्, उनीहरुलाई पनि आराम चाहिन्छ,’ झाले भने, ‘प्रत्यक्ष उपचारमा संलग्न रहेकोले सोझै घर जानसक्ने अवस्था छैन्, उनीहरुलाई खोइ त क्वारेन्टिनको व्यवस्था?’

समाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा हालसम्म २ हजार २१८ जनाको स्वाब संकलन भएकोमा ८५६ जनाको परीक्षण नतिजा आउन बाँकी छ ।

प्रदेश २ मा हालसम्म ४ हजार ९१४ जनाको आरडीटी जाँच भएकोमा १० जना पोजिटिभ र ४ हजार ९०४ जनामा नेगेटिभ नतिजा आएको मन्त्रालयले जनाएको छ ।

Back to top