×

वीरगञ्ज, बैशाख १२ - पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको एकीकरणले क्षेत्रीय र राष्ट्रिय राजनीतिमा नयाँ उत्साह सृजना भएको बताउनुभएको छ । मेधसको हक अधिकार कुण्ठित गर्न भइरहेका अनेक षड्यन्त्र र प्रयोगलाई चिर्दै पार्टी एकीकरण हुनुले राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिएको नेता रौनियारको धारणा छ ।

सत्तासीन राजनीतिले मधेसकेन्द्रित दल विभाजनलाई लक्षित गरी कानून नै परिवर्तन गरे पनि यो षड्यन्त्रलाई नेताहरूले सुझबुझपूर्ण तरिकाले पाराजित गरेको उहाँले बताउनुभयो । ‘मधेस र मधेसीका अधिकारका सवालमा अनुदार अहिलेको सत्ता राजनीतिले मधेसवादी राजनीतिका लागि खनेको खाल्डोमा आफैं पर्ने अवस्था आएको छ । जनताले उचित समयमा उचित तरिकाले यसको जवाफ दिनेमा म विश्वस्त छु,’ सांसद रौनियारले सञ्चारकर्मीहरुसित भन्नुभयो ।

अन्य राजनीतिक दललाई फुटाएर आफ्नो कुत्सित स्वार्थ पूरा गर्ने उद्देश्य असफल भएको भन्दै नेता रौनियारले यो सुझबुझपूर्ण र सिघ्र निर्णयका लागि दुवै दलका शीर्ष नेतृत्वप्रति आभारसमेत प्रकट गर्नुभयो । मधेसका अधिकारलाई आधार भागमा राखेर समग्र राजनीतिलाई डो¥याउनु अबको आवश्यकता भएको औंल्याउदै उहाँले सत्तासीन राजनीतिको दाउपेच परास्त भएको टिप्पणी गर्नुभयो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी विभाजनको व्यवस्थालाई खुकुलो पारिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक समाजवादी पार्टी र राजपालाई विभाजनका लागि ल्याइएको संकेत गर्नुभएको थियो ।

सरकारले विधेयक ल्याएलगत्तै सत्तासीन राजनीतिको इशारामा आफ्नै केही सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र गरिरहेको सुइको पाएपछि दुई दल एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको छ । यो दल निर्वाचन आयोगमा दर्ता भइसकेपछि दल फुटाउने प्रयास तुहिएको छ ।

Back to top