×

बारा ९ बैशाख । कुहिएको दाल बेच्ने कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई मेयरले नै चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले बताउनुभयो ।

यसअघि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा परीक्षणको क्रममा दाल गुणस्तरहीन पाइएको थियो । रहरको दालको प्राप्त नमुना नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुप नपाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं कार्यालय प्रमुख सोमकान्त रिजालले बताएका थियो । दालको नमुनामा जैविक पदार्थको मात्रा अत्यन्तै कम, किराले दानामा क्षति र्पुयाएको र क्षतिग्रस्त दानाको मात्रा बढी देखिएको रिपोर्टमा उल्लेख छ ।

रिपोट पश्चात प्रहरीले कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ गरिसकेको छ । यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो । त्यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो ।

त्यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो । कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्। उनी यादवका छोरा हुन् ।

Back to top