×

काठमाडौं, वेशाख ६ - कोभिड-१९ को असर ऋणीलाई कम परोस् भनेर नेपाल राष्ट्र बैंकले चैत १६ गते एउटा निर्देशन जारी गर्यो- ब्याज भुक्तानी अवधि थप सम्बन्धमा।

सर्वसाधारण तथा ब्यवसायीहरु राष्ट्र बैंकले किस्ता तिर्ने समय थपिदियो भनेर खुसी भए । ब्यवसायिक संगठनहरुले राष्ट्र बैंकको निर्देशनको स्वागतमा विज्ञप्तिसमेत निकाले। तर चैत मसान्तमा ऋणीको खाताबाट पैसा काटिएको एसएमएस आउन थाल्यो । राष्ट्र बैंकले नकाट् भन्दाभन्दै बैंकहरुले पैसा काटिदिए भनेर ऋणीहरु रिसाए पनि ।

तर यसमा बैंकको गल्ती भने थिएन । तैपनि बैंकहरुले काटिएको पैसा अनुरोध भइआएमा फिर्ता गरिदिने भएका छन् । ऋणीले बैंकको नियमित किस्ता तिर्नका लागि खाता खोलेको हुन्छ । त्यो खातामा पैसा छ भने बैंकले अवधि पुगेपछि स्वत: कट्टा गरिदिन्छ । त्यो खातामा पैसा हुनु भनेको ऋण तिर्न ऋणीको 'रजामन्दी' छ भन्ने अर्थ लाग्छ ।

ऋणीले त्यही खातामा पैसा राखेका थिए । बैंकले बुझ्यो- ऋणी पैसा तिर्न चाहन्छ । त्यसैले उसले पाकेको साँवा र ब्याज काट्यो । राष्ट्र बैंकले १६ गतेको निर्देशनमा भनेको छ- चैत महिनामा असुल गर्नुपर्ने मासिक/त्रैमासिक किस्ताहरुको (डेबिट कार्डसमेत) भुक्तानी असार मसान्तसम्ममा हुने ब्यवस्था मिलाउनु पर्नेछ । यो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता अनुकूल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नुपर्ने छैन ।

चैत महिनामा भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्मका लागि थप गर्न सकिने छ- भनेर अर्को बुँदा पनि निर्देशनमा छ ।

मासिक/त्रैमासिक किस्ता तिर्नेलाई पाकेको ब्याजमा १० प्रतिशत छुटको ब्यवस्था पनि गरिएको छ । पैसा काटिएपछि ऋणीहरु रिसाएका थिए । उनीहरुले बैंकले पैसा काटेकाले कर्मचारीलाई तलब ख्वाउन पनि समस्या भएको भन्दै विरोधमा उत्रिएका थिए । ऋणीले यदि ब्याज तिर्ने खातामा पैसा राखेका थिएनन् भने बैंकले काट्नै पाउँदैनथ्यो ।

प्रणालीले स्वत: पैसा काटे पनि कसैले अनुरोध गरे त्यो पैसा बैंकहरुले फिर्ता गर्न थालेका छन् । 'फोन गरी गरी ऋण उठाएको छैन । खातामा कसैले राखेको छ भने त्यो काटिने हो,' लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बिजमाण्डूसँग भने, 'मेरो पैसा किन तानेको कसैले भन्नुहुन्छ भने त्यो फिर्ता गरिदिन थालेका छौं । यसका लागि मौखिक रुपमा भने पनि हुन्छ ।'

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कसैले नजानेर ऋण तिर्ने खातामा पैसा राख्दा त्यो काटिएको बताए । उनले १० प्रतिशत छुटको स्किम अन्य प्रकारका ऋणमा पनि भएको भए यसपाली राम्रै पैसा उठ्ने अनुमान सुनाए । 'दुई महिना समय दिइएकाले हुनेले पनि तिर्न चाहेनन्,' उनले भने ।

पैसा काटिँदा भोलि ती ब्यापार ब्यवसायमा समस्या हुन जाने भन्दै उनीहरुलाई समस्या नपरोस् भनेर पनि आग्रह आएमा काटिएको पैसा फिर्ता गर्ने नीति लिइएको शाहले बताए ।

उनले पैसा हुनेले अहिले तिर्दा फाइदा हुने बताए । नियमित इएमआइ तिर्नेलाई १० प्रतिशत छुट हुँदा त्यसै फाइदा हुने उनको तर्क छ । उनका अनुसार, ब्यवसायीलाई दुई महिनापछि तिर्दा जरिवाना नलाग्ने हो, तर ब्याज त पाकिरहेको हुन्छ । 'यसो हुँदा हुनेले तिर्दा राम्रो हुन्छ,' शाहले भने ।

Back to top