×

वीरगञ्ज, बैशाख ६ – प्रहरीको दुर्व्यवहारको विरुद्धमा वीरगञ्जका औषधी पसलहरु बन्द गरिएको छ ।

नेपाल औषधी व्यवसायी संघ नारायणीका अध्यक्ष ताजुद्धिन अन्सारीलाई वीरगञ्जको घण्टाघरमा प्रहरीले दुर्व्यवहार गर्दै उनी चढेको मोटरसाईकल नियन्त्रणमा लिएपछि औषधी व्यवसायीले पसल बन्द गरि विरोध जनाएका हुन् ।

संघका अध्यक्ष अन्सारीलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले दुर्व्यवहार गर्दै उनी चढेको मोटरसाईकल नियन्त्रणमा लिएको औषधी व्यवसायी संघले जनाएको छ ।

पसलबाट घरतर्फ आउँदै गर्दा घण्टाघरमा रहेका प्रहरी निरीक्षक पनेरुले औषधी व्यवसायी भएको जानकारी दिँदा दिँदै पनि आफूलाई अभद्र व्यवहार गर्दै मोटरसाईकल नियन्त्रणमा लिएर राखेको अन्सारीले बताउनुभयो ।

कोभिड १९ को महामारीका बेला औषधी व्यवसायी, स्वास्थ्कर्मी अहिले प्रहरीको निशानामा परिरहेको भन्दै उहाँले सरकारले आह्वान गरेको लकडाउनलाई सहयोग गर्न आफूहरु पनि अब औषधी पसल बन्द गरेर घरमा बस्ने निर्णय गरेको बताउनुभयो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पनेरुले औषधी व्यवसायी संघका व्यक्तिलाई मात्रै नभई स्वास्थ्यकर्मी तथा अस्पतालबाट उपचार गरेर आएका बिरामीलाई पनि दुर्व्यवहार गरेका घटनाहरु यसअघि बाहिरिएका थिए ।

कोरोना भाइरस (कोभिड १९) का कारण अहिले सम्पूर्ण बजार बन्द रहँदा औषधी पसल मात्रै सन्चालनमा थिए । तर वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पनेरु जस्तै अन्य प्रहरीले दिनहुँ जसो औषधी व्यवसायी र स्वास्थ्यकर्मीलाई लाठि प्रहार गर्ने, दुर्व्यवहार गर्ने जस्ता प्रवृत्तिले औषधी पसल बन्द गर्न आफूहरु बाध्य भएको संघका अध्यक्ष अन्सारीले बताउनुभयो ।

औषधी व्यवसायीले प्रहरी दुर्व्यवहारको विरुद्धमा औषधी पसल बन्द गरेपछि विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीहरु भने औषधी नपाउँदा मर्कामा परेका छन् ।

यसैबीच विर्ताका प्रहरी निरीक्षक पनेरुले भने औषधी व्यवसायीको पास लिएर तरकारी किन्न निस्केकाले उनको सवारी साधन नियन्त्रणमा लिएको प्रतिकृया दिएका छन् ।

एउटा प्रयोजनका लागि लिएको पास अर्को प्रयोजनमा दुरुपयोग भइरहेकाले आफूले त्यसलाई रोक्न मात्र खोजेको पनेरुको प्रतिकृया थियो ।

Back to top