महामारीमा संघ र प्रदेश सरकारले सहयोग नगर्दा अफ्ठ्यारो परेको छ : मेयर सरावगी

97

कोरोना भाइरसको संक्रमणबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले कस्तो पूर्वतयारी गरिरहेको छ?

कोरोना भाइरससँग जुध्न वीरगञ्ज महानगरपालिकाले अहिलेको अवस्थामा गर्नुपर्ने मुख्य तीनवटा काम गरिरहेको छ । पहिलो, संक्रमण फैलन नदिनका लागि स्थानीय बासिन्दालाई विभिन्न माध्यमले चेतना फैलाउने र जगाउने, दोस्रो– लकडाउनमा घरघरमा मान्छेलाई कसरी सुरक्षित राख्ने र तेस्रो– शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन । त्यसका लागि स्वाब परीक्षण गर्न स्वास्थ्यकर्मी फिल्डमै रहेका छन् । साथै, वीरगञ्जमा अझ थप संक्रमण हुन नदिन महानगरपालिका सकेसम्म लागिपरेको छ ।

यससँगै वीरगञ्ज महानगरपालिकामा लकडाउनबाट प्रभावित परिवारलाई राहत वितरण गरिरहेका छौँ । क्वारेन्टाइन रेखदेखका लागि नेपाली सेनालाई जिम्मा दिएका छौँ । महानगरपालिकाका विभिन्न ठाउँमा स्यानिटाइज गरिरहेका छौँ । क्षमताअनुसार वीरगञ्ज महानगरपालिकाले काम गरिरहेको छ । महानगरवासीले पनि आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिए यो महामारीबाट जोगिन सकिन्छ ।



विपत्को समयमा संघ र प्रदेश सरकारले कतिको सहयोग गरिरहेका छन्?

कोरोनाबाट जोगाउन महानगरपालिकाको क्षमताअनुसार गर्न सक्ने काम गरिरहेको छ । तर, सबै काम गर्न सक्ने क्षमता महानगरको छैन । यसका लागि संघ र प्रदेश सरकारले गर्नुपर्ने सहयोग अहिलेसम्म देखिएको छैन । कोरोना भाइरस फैलन नदिन महानगरपालिकामा गर्नुपर्ने काममा करोडौँको खर्च छ । तर, यो महामारीमा संघ र प्रदेश सरकारले सहकार्य त गरेको छैन, सहयोग कहाँबाट हुन्छ ! कसैको पनि सहयोग व्यवहारमा देखिएको छैन । केही दिनअघि प्रदेश सरकारले २५ लाख सहयोग गरेको छ । तर, स्थानीय प्रशासनले मनोमानी तरिकाले काम गरिरहेका छन् । यस्तो अवस्थामा सहकार्यको आवश्यकता देखिएको छ । सरकारबीच सहकार्य र सहयोग भएन भने महामारीले ठूलो रूप लिन सक्छ ।

महानगरभित्र स्वास्थ्य सामग्रीको अभाव छ । यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ?

महानगरपालिकामा सुरुको समयमा स्वास्थ्य सामग्रीको अभाव भएको थियो । अहिले पनि कोरोना परीक्षण गर्ने सामग्रीको अभाव छ । त्यसको परीक्षणका लागि पर्याप्त मात्रामा उपकरण छैन । वीरगञ्जमा सामान्य उपचारका लागि स्वास्थ्य उपकरणको अहिले अभाव देखिएको छैन । कोरोनाका शंकास्पद व्यक्तिलाई परीक्षण गरिएको छ । अब महानगरका धेरैभन्दा धेरै नागरिकलाई कोरोना परीक्षण गर्ने समय भएको छ । अब संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

कोरोनाको उपचारका लागि कसरी तयारी गरिरहनुभएको छ?

हामीले यहाँका निजी अस्पताललाई लिएर कोरोना उपचार गर्ने अस्पताल बनाउने प्रयास गर्दै थियौँ । तर, संघीय सरकारको निर्देशनले नारायणी अस्पताल कोरोना उपचार गर्ने अस्पताल तोकिएको छ । जसका कारण सरकारी अस्पतालमा आउने बिरामी निजी अस्पतालमा पुग्ने भएकाले भनेअनुसार सेवासुविधा लिन सकिँदैन । महामारीका समयमा पहिले आफ्नो अस्पताल कोरोनाका बिरामीको उपचारमा दिन अगाडि बढेका व्यक्ति पनि अहिले पछाडि सरेका छन् । संघले गर्दा यसमा स्थानीय तह र स्थानीय प्रशासनको योजना असफल भएको छ ।

सामान्य अवस्थाका बिरामी नारायणी अस्पतालले नेसनल मेडिकल कलेजसँग सहकार्य गरेर पठाएकाले धेरैलाई यो सूचना नभएकाले समस्या भएको गुनासो बढेको हुन सक्छ । महानगरपालिकाले आफ्नो मातहतमा कोभिड अस्पताल बनाउन टेन्डर खोलेका छौँ । केही अस्पतालले टेन्डर भरेका छन्, अन्य अस्पताललाई पनि टेन्डर भर्न आग्रह गरेका छौँ । जति अस्पतालले टेन्डर भर्छन्, सबैलाई प्राथमिकतामा राखेर कोरोना उपचार अस्पतालको रूपमा प्रयोग गर्ने तयारी अगाडि बढाएका छौँ ।

महानगरका निजी तथा सरकारी अस्पतालमा सामान्य ज्वरोदेखि अन्य रोगीको उपचार नपाएको गुनासो आएका छन् । कसरी सेवा प्रवाह गर्ने व्यवस्था गर्नुहुन्छ?

विगतको समयमा सामान्य ज्वरोदेखि अन्य रोगीको उपचार नपाएको गुनासो आएका थिए । अहिले त्यस्तो कुनै गुनासो छैन । सुरुआतमा अस्पतालको लापरबाही थिएन, बाध्यता थियो । किनभने, जाँचका लागि उपकरण अभाव थियो । बिरामीलाई हेर्नका लागि पिपिई नभएको व्यापक रूपमा गुनासो आएपछि महानगरपालिकाले सहयोग गरेको छ । हामीले सहयोग उपलब्ध गराएपछि सबै अस्पतालले सबै प्रकारका बिरामी लिइरहेका छन् । अहिले सबै अस्पतालले सबै प्रकारका बिरामीको उपचार गरिरहेका छन् । अब गुनासो आउँदैन भन्नेमा विश्वस्त रहेका छौँ ।

कोरोना परीक्षणका लागि प्रदेश सरकारले वीरगञ्जमा मेसिन जडान गर्ने भनेको थियो । के हुँदै छ?

भारतसँगै जोडिएकाले बढी जोखिममा रहेका बारा, पर्सा, रौतहटलगायतका बिरामी स्वास्थ्य उपचारका लागि वीरगञ्ज आउँछन् । तर, प्रदेश सरकारले वीरगञ्जलाई छाडेर जलेश्वरमा मेसिन जडान गरेको छ । जुन कि अहिले जलेश्वरमा आवश्यक देखिएको छैन । संघीय र प्रदेश सरकारले जति कुरा गरेका हुन्छन्, त्यति पूरा गर्दैनन् ।

अहिले त्रिभुवन विश्वविद्यालयबाट बुधबार नारायणी अस्पतालमा मेसिन आएको छ । संघीय र प्रदेश सरकारले किनेर पठाएको होइन । उहाँहरूले सहयोग लिएर पठाउनुभएको होला । वीरगञ्जमा परीक्षणका लागि आवश्यक मेसिन आए पनि अहिलेसम्म सञ्चालन भएको छैन । अब हेरौँ, कहिलेदेखि सञ्चालन हुन्छ । यो सञ्चालनमा आए भरतपुर महानगरपालिकाजस्तै परीक्षण गर्न सकिन्थ्यो, राम्रो हुन्थ्यो ।

यो महामारीमा सिडिओलगायत संघमातहत रहेका कर्मचारीसँग कतिको समन्वय भएको छ?

विपत्का समयमा सबैले आ–आफ्नो क्षेत्रमा काम गरिरहेका छन् । तर, एक–अर्काबीच समन्वयको धेरै अभाव छ । स्थानीय तहलाई जानकारी नभएको काम उहाँहरू आफैँले गरेपछि समस्या भएको छ । स्थानीय तहको कार्यक्षेत्र आफ्नो छ, संघ र प्रदेश सरकारको आफ्नै छ । जुन एक–अर्काबीच फरक–फरक रहेको छ । यहाँ आएर समन्वयको आवश्यकता भए पनि समन्वय देखिएको छैन । ताजा उदाहरण, वीरगञ्ज महानगरपालिकामा केही दिनअघि संक्रमण देखियो । त्यसले वीरगञ्जवासी त्रासमा छन् । तर, स्थानीय तहसँग सहकार्य र समन्वय नगरेर लामो समयका लागि त्यो क्षेत्र सिलबन्दी गरिएको छ । अहिले स्थानीय तहका जिम्मेवार व्यक्तिलाई पनि प्रवेश गर्न दिइएको छैन । त्यसकारण जनतालाई समस्या हुन नदिन सहयोग र समन्वयको आवश्यकता देखिएको छ ।

उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्था, कालोबजारी नियन्त्रण र गरिब मजदुरलाई भोकै बस्न नदिन कसरी काम गरिरहनुभएको छ?

उपभोग्य वस्तु अभाव हुन नदिन र कालोबजारी रोक्न काम गरिरहेका छौँ । आपूर्ति कम भएपछि कालोबजारी बढ्नु स्वाभाविक हो । सहज गराउनका लागि वातावरण नबनेपछि व्यवस्थापनमा समस्या हुनु स्वाभाविक हो । यो समयमा स्थानीय प्रशासनले मनोमानी गरेर काम गरेपछि आपूर्ति व्यवस्थापनमा समस्या भएको छ । बजारमा सामग्री आउँदैन भने बजारको सामग्री कति पुग्छ । त्यो सबै सकिने अवस्थामा पुगेकाले कालोबजारी बढेको गुनासो आइरहेको छ । यसमा स्थानीय प्रशासनलाई बजारमा सामग्री अभाव हुन नदिन स्थानीय तहसँग सहकार्यको आवश्यकता देखिएको छ ।

त्यस्तै, लकडाउनमा प्रभावित परिवारलाई राहत वितरण गरिरहेका छौँ । प्रभावित परिवारलाई रोजगारी दिन सकिँदैन । तर, लकडाउन रहुन्जेल महानगरपालिकाले आवश्यकता भएका परिवारलाई राहतबापतको खाद्यान्न सामग्री वितरण गर्न सक्छ । लकडाउन भएको तेस्रो दिनदेखि महानगरपालिकामा राहत वितरण भएको छ । अहिले वीरगञ्ज महानगरपालिकामा लकडाउनबाट प्रभावितमध्ये एक लाखभन्दा बढी व्यक्ति रहेका छन् । यसमा सबैलाई सहयोग गर्न आवश्यक देखिएको छ । साथै, यसमा केही राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट राहतमा राजनीतिकरण भएको छ । त्यो तरिकाले राहत वितरण भए अगामी दिनमा अझ ठूलो समस्या देखा पर्छ । यो अवस्था कहिलेसम्म रहन्छ, यकिन छैन । त्यसैले महामारीमा सबै संयमित हुन आवश्यक छ ।

वीरगञ्जमा संक्रमण देखिएका व्यक्तिको अवस्था कस्तो छ?

दुई साताभन्दा बढी बसेका जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि वीरगञ्जवासीमा डर, त्रास पैदा भएको छ । लामो समयसम्म जमाती बसेकाले कस—कसलाई लागेको छ भन्ने विषयमा धेरै अनभिज्ञ छन् । तर, अहिले मुस्लिम धर्मावलम्बीका अधिकांश व्यक्तिले कोरोना परीक्षण गर्न आफैँ अघि सरेर सहयोग गरिरहेका छन् । सुरुसुरुमा स्थानीय प्रशासनले गर्ने काममा केही असहयोग भएको थियो । अहिले विभिन्न ठाउँका मुस्लिम धर्मावलम्बीका जमातीहरू भेटेका व्यक्तिले सहयोग गरेका छन् । अब यस्तो अवस्थामा वातावरण अलिकति सहज भएको छ । साथै, यो महामारीमा लकडाउनलाई आ–आफ्नो क्षेत्रबाट सुरक्षित रूपमा सहयोग गर्न वीरगञ्जवासीलाई आग्रह गर्दछु ।

नयाँ पत्रिकाडेलीबाट साभार