×

वीरगञ्ज, चैत्र २८ –सामाजिक संस्था सानो पाइलाले हालसम्म लकडाउनका कारण प्रभावित भएका विपन्न ८ सय ४१ जनालाई विहान बेलुकाको भोजन गराएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले चैत्र ११ गतेदेखी लकडाउन गरेको छ ।

लकडाउन गरेको आज १८ औँ दिनसम्ममा प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गराउँदै आएका गरीब, विपन्न परिवारलाई विगत १३ दिनदेखी भोजन गराउँदै आएको छ । सानो पाइलाद्वारा सञ्चालित फिडिंग नेपाल कार्यक्रम अन्तर्गत वीरगञ्ज र जनकपुरका न्यून आर्थिक अवस्थाका परिवारलाई साँझ र बिहानको भोजन गराउँदै आएको सानो पाइलाका सञ्चालन प्रमुख जय शाहले बताउनुभयो ।

यसैगरी जनकपुरमा गत ३ दिनदेखी आजसम्म ८ सय ११ जनालाई निशुल्क भोजन गराइएको छ । सानो पाइलाले वीरगञ्जको नारायणी अस्पताल, आइसोलेसन वार्ड, इमरजेन्सी वार्ड, जिल्ला प्रहरी कार्यालय पर्सा, इलाका प्रहरी कार्यालय नगवा लगायतका सार्वजनिक स्थानलाई डिस्इन्फेक्ट पनि गरेकाे छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सा, सानो पाइला तथा विभिन्न स्थानिय संघ संस्थासँग समन्वय गरेर हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । हेल्प डेस्क मार्फत सर्वसाधारणलाई चाहिने अति आवश्यक सामाग्री घर सम्मै पुर्‍याइएको प्रमुख साहले बताउनुभयो ।

Back to top