×

वीरगञ्ज, चैत्र २७ - राष्ट्रिय विद्यार्थी संघ पर्साका अध्यक्ष मधुसुदन चौरसियाले प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णयको विरोध गरेका छन् ।

अध्यक्ष चौरसियाले बिहिबार एक प्रेस विज्ञप्ति जारि गर्दै कोरोनाभाइरससँगको लडाईमा फ्रन्टलाईनमा रहेर नागरिकको जीवन रक्षा गर्न अहोरात्र खटिरहेका प्रहरीको तलब कट्टा गर्नु दु:खद भएको बताए ।

उनले कोरोनामहामारी प्रहरी महामारीबेला आफ्नो ज्यान जोखिममा राख्दै नागरिकको स्वास्थ्य र सुरक्षाका लागि खटिरहेका प्रहरीको तलब कट्टाले उनीहरुको मनोबल गिर्ने बताउदै निर्णय सच्याउन माग गरेका छन् ।

'कोरोनभाइरससँगको लडाइमा फ्रन्टलाईन रहेर स्वास्थ्यकर्मी सँगसँगै सुरक्षाकर्मी र प्रहरीले खेलेको भूमिका अतुअल्निय छ । पूरा विश्व नै कोरोना सङ्क्रमण फैलने डरले लकडाउनमा आ-आफ्नो घर भित्र रहेको बेला शुरक्षाकर्मी र प्रहरीले दिन रात नभनी आफ्नो ज्यान जोखिममा राखेर नेपाली जनतालाई लकडाउन पालन गर्न सहयोग गर्दै शान्तिसुरक्षा कायाम राखेको छ । प्रहरीले महामारी बेला देखाएको यो हिम्मत र लगनशीलताको जति तारिफ गरे पनि कम नै हुन्छ होला ।' प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेता चौरसियाले कोरोनाभाइरसको सन्त्रासले संसारनै लकडाउनमा आफ्नो घर भित्र सुरक्षित रहेको समयमा समेत आफ्नो ज्यान जोखिममा राख्ने प्रहरीलाई प्रोत्साहन गर्ने स्थानमा तलब कट्टा गर्ने निर्णय निन्दनीय भएको बताएका छन् ।

'प्रहरीले गरेको कार्यलाई प्रोत्साहन गर्ने स्थानमा सरकारले उनिहरुको तलब कट्टा गर्ने निर्णय निकै दु:खद र निन्दनीय छ, विज्ञप्ति मार्फत नेता चौरसियाले भनेका छन्, 'आजको अवस्थामा प्रहरीलाई थप तलव सुविधा दिँदै जीवन बिमा गरेर उनिहरुलाई प्रोत्साहित गर्नुपर्नेमा सरकारले उनिहरुले तलब काटेर प्रहरीको मनोबल गिराउने कार्य गरेको छ ।'

चौरसियाले अन्य मुलुक झैँ नेपालमा पनि प्रहरीलाई उच्च सम्मान साथ् मनोबल बढाउने गरि निर्णयहरु गर्ने माग समेत गरेका छन् । उनले प्रहरीका लागि विशेष प्याकेजको माग गर्दै उनीहरुको कम्तिमा ५० लाखको जीवन बिमा समेत गर्न माग गरेका छन् ।

Back to top