×

रितेश त्रिपाठी/वीरगन्ज चैत २५ - पर्साको एउटा दलित बस्तीमा भोकभोकै बस्नु परेकोलाई राहत बाड्न निस्किदा कलाकार कामेश्वर चौरसियाले शनिवार दिनभरी भोकभोकै अनि चार घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेका घट्ना प्रकाशमा आयो । उनको भोगाइ उनकै भनाईमा ‘अनाहकमा दुःख पाएको औनौठो अनुभव हो ।’

पर्साको सखुवा पर्सौनी गाउँपालिकाको वडा नम्बर १ मा रहेको जमुनी खोलाको बगरभन्दा पिश्चम जंगल नजिकै करिब १९ घरधुरीको झुपडिको बस्ती छ । यो दलितभित्रको उराव समुदायको बस्ती हो । यहाँका मानिसहरु भोकभोकै बस्न थालको कलाकार कामेश्वर चौरसियाले समाजिक अभियन्ता राजकुमार महतोबाट थाहा पाएका थिए । पछि त्यही बस्तीमा राहत बाड्न जाँदा दिनभरी भोकै र चार घण्टा प्रहरी नियन्त्रणमा चौरसियालगायत पाँच जना बस्नु परेको थियो । अनुभव सुनाउन अघि उनले घट्नाक्रमको पृष्टभुमी बताए, ‘स्थानीय तह सरकार छ उसले केही गरिरहेको छ कि छैन बुझ्न खोजेँ । उक्त बस्तीको समस्या बारे महतोलाई त्यहाँका गाउँपालिका अध्यक्ष प्रदीप जैसवालले नै बताएका रहेछन् ।’

यता पालिका अध्यक्ष जैसवालका अनुसार सखुवापरसौनीमा सर्वदलिय संयत्र बनाएर राहत बाड्ने निर्णय भएको रहेछ । बिवाद भएर सबै वडाहरुमा राहत पुर्याउने काम हुन पाएको छैन । कलाकार कामेश्वर र महतोविच फोनमैं योजना बन्यो एक परिवारलाई लगभग १० दिन पुग्नेगरी राहत सामग्री त्यहाँ दिने भनेर । ब्यवस्था पनि भयो । निर्माण ब्यवसायि जागृत चौडेलले पिकअप गाडी आफै चलाएर लैजाने ल्याउने भए । बिहान ९ बजे गाडीमा १९ पोका राहत हालेर महतो, चौडेल, हैटाडाका ब्यवसायि रमेश सापकोटा र सिमराका समाजिक कार्यकर्ता प्रकाश पौडेल कामेश्वरको बारा, जितपुरस्थित घरमा आइपुगे । चौरसिया ‘लकडाउन’ हुनु अगाडि जितपुरस्थित घरमा बस्न आइपुगेका हुन ।

‘आठ बजे आइपुग्ने तय थियो एक घण्टाजति प्रदेश ट्राफिक प्रहरी कार्यालयले रोकेर केरकार गरेको थाहा पाइयो । कैसेले खाना खाएको थिएन, मैले पनि खाइन, गाडीमा बसी हालें,’ चौरसियाले सुनाए, ‘एक घण्टामा हामी मनवा बजार पुगिसक्यौं, त्यहाँबाट थोरै दुरीमा उरावबस्ती रहको बुझियो, प्रहरी चौकीलाई जानकारी गराइयो, गाउँपालिकाले लेखेर पठाएको पत्र पनि देखाइयो जानुस भने प्रहरीले ।’ मनवा बजारअगाडि एउटा पेट्रोलपम्पमा वडा अध्यक्ष आइपुग्ने कुरा थियो । ‘हामीले त्यहीनिर कुरीरहेका थियौं, सानो पसल रहेछ त्यहाँ, बिस्कुट चियाजस्तो केही खाने कुरा छ भने वडाअध्यक्ष आइपुगसञ्जेलमा खाइहालौं भनेर बिचार गरीरहेका थियौं । एक जना हवलदार र अर्को सिपाही गरी दुई जना त्यहाँ मोटरसाइकलमा आइपुगे,’ चौरसियाले घट्ना सुनाएँ, ‘तपाईहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा पु¥याउने एसपी (प्रहरी उपरीक्षक) साहेबको आदेश रहेछ भने प्रहरीले हामीलाई भने । किन ? बुझ्न खोज्यौं, ति प्रहरीहरु छलफल गर्न चाहेनन, माथीको आदेश छ भनी पटकपटक दोह्¥याए । फिर्ता भएर मनवा बजारमा रहेको प्रहरी चौकीमा उनीहरु आइपुगेर इन्चार्जसंग कुरा गरे । वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय जानैपर्ने भने ।’

राहत बोकेको गाडिमा ति दुई जना प्रहरीलाई बसाएर चौरसियासहित बेसबै करिब १२ बजे जिल्ला प्रहरी कार्यालय पर्सामा पुगे । ‘पस्नेबितिकै जिल्ला प्रहरीकाले पहिलो काम गरे गाडिको साँचो खोसी हाले । त्यहाँ कार्यालय परिसरमैं एउटा गोलो बिश्राम घर रहेछ त्यहाँ हामीलाई बसाइयो । एसपी गँगा पन्तले आदेश दिएर बोलाएकोले उहाँले हामीसंग कुरा गर्ने होला, सोधपुछ गर्ने होला भनेर बाटोमा लागेको थियो । त्यसतो केही पनि भएन,’ कामेश्वरले अगाडि भने, ‘एक जना सादा पोसाकको जुनियर प्रहरी अधिकृत आएर सोधपुछ गरेर गए । कुनै प्रतिक्रिया पाइएन । के भइरेहको छ ? केही थाहा भइरहेको थिएन । महतोजीले संचारकर्मीहरुलाई जानकारी गराउनु भयो । केही संचारकर्मीले कलब्याक गरेर एसपिसंग कुरा हुँदा बुझ्नलाई बोलाउनु भएको भनेर प्रतिक्रिया दिएको जनाए ।

‘दुई बज्यो । एसपी पन्त मिटिङ्गमा ब्यस्त हुनुहुन्छ भनेर थाहा पाइयो । एकजना संचारकर्मी आइपुगे । उनले २ बोतल पानी ल्याएर दिए । घाँटी भिँजाइयो । भोकले बटारिएको आन्द्रा चस्क दु्ख्यो । संचारकर्मीले एसपी पन्तलाई भेंटेर कुरा गरे, फेरी त्यही जवाफ आयो ‘बुझेर छोड्छौं भनेर’ ।’ उनले सुनाए, ‘करिब ३ बजे फेरी त्यँही सादा पोषाककाले आएर सोधपुछ गरे –समान के कति रहेछ ? हामीले बतायौं, १९ वटा पोका छ, प्रत्येकमा १८ किलो चामल, २ किलो दाल, २ वटा साबुन, ४ वटा मास्क रहेछ भनेर । उनले पोका खोलेर हेरे ।’ आफुहरुसंग प्रतिबन्धित बस्तुको तस्करीमा समातिएकाहरुसंग गरिनेजस्तो ब्यवहार भएको भान भएको चौरसियाको अनुभव छ ।

‘हामी भोकले छटपटिदै त्यतिकै बसिरहेका थियौं । त्यहाँ फुलको रोपिएको रहेछ । एउटा फुलको आकारप्रकार त ठ्याकै कोरोना भाइरसको भनेर देखाइएको ‘शेप’मा रहेछ । फुल रहेर रमाइलो मान्न खोज्यौ । तर, मुख सुकेर झयाउ लागिरहेको थियो,’ उनले थपे, ‘फेरी अर्को एक जना सादा पोषाकको प्रहरी आएर भने –तपाईहरुलाई छोड्ने आदेश भइसकेको छ, एउटा पोका खोलेर हेराउनुस फोटो लिनु छ । हामीले त्यसै गर्यौ । करिब पौने ४ बजे कन्ट्रोल रुम लेखिएको कोठाबाट निस्केर एक जना असईले भने आएर सही गर्नुस । रजिष्टरमा सबैको नाम ठेगाना र फोन नम्बर लेखेर सही गराइएयो । र, हामीलाई छोडियो । साँझ ४ बजे जिल्ला प्रहरी कार्यालय पर्सा बाहिर रहेको एउटा पसलमा एक कप चिया खान पाइयो ।’

पर्साका प्रहरी उपरीक्षक गँगा पन्तले राहत बाँडेर मानिसहरुलाई परनिर्भर बनाउनु हुन्न भन्ने आफ्नो मान्यता रहेको नागरिकलाई बताइन । यस घट्नामा भने राहत सामग्रीको स्रोत के हो लगायत बुझ्न ल्याइएको उनले बताइन । आफ््नो क्षेत्रभित्र कुनै अनुचित काम नहोस भनेर बुझ्न प्रहरीको दायित्व रहेको उनले बताइन ।

समाजिक अभियन्ता समेत रहेका फिल्म निर्माता महतोले आफुहरु हेटौडाबाट जिल्ला प्रसाशन कार्यालयको समन्वय गरेर र गन्तब्य रहेको गाउँपालिकाका पत्र लिएर हिडेको बताए । स्थानीय सरकार भनिएको गाउँपालिकाले लेखेको पत्रलाई समेत प्रहरीले महत्व नदिनु संघीय ब्यवस्था र संबिधानको अपमान भएको उनको भनाई छ ।

आफहरुसंग प्रहरी उपरीक्षक पन्तले चार घण्टा बढी नियन्त्रणमा राखेर कुरा सुन्न पनि उचित नठानेकोमा उनको चित दुखाई छ । ‘जब असई लगाएर बुझ्नु थियो भने असई त मनवा चौकी मैं थिए, हामीलाई यहाँ किन ल्याइयो ?’ महतोले भने, ‘राणा शासन हो कि लोकतन्त्र हो ? कोही भोकभोकै मर्ने कसैले खाद्यान्न दिन चाह्दा यसरी बाधा खडा गर्ने यही धर्म हो प्रहरी को ?’ उता साँझ करिब साढे ५ बजे उराव बस्तीमा राहत लिएर चौरसिया समेतको टोली पुगेपछि त्यहाँ दलितहरु समाजिक दुरी बनाउदै लाइनमा बसीसकेका थिए ।

जनप्रतिनिधिहरु उपस्थित थिए । ‘मलाई खुसी त के लाग्यो भने त्यो बस्तीको समस्या स्थानीय प्रहरीहरु बुझेका रहेछन्, उनीहरुले ब्यवस्थित ढँगले राहत सामग्री बितरण गराईदिए,’ चौरसियाले भने, ‘हाम्रो वास्तविक्ता यही नै हो, असल कामल गर्न खोज्दा दुख पाउनु अनिवार्य शर्तजस्तै लाग्यो मलाई । अनौठो अनुभव भयो । साँझ ७ बजे म घर आइपुगे भोक मरिसकेको थियो ।’

Back to top