×

वीरगञ्ज । कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनमा सरकारले अत्यावश्यकीय वस्तुको उत्पादन र ढुवानीलाई खुकुलो बनाउने निर्णय गरे पनि त्यस्ता वस्तुको आपूर्ति अपेक्षित सहज हुन सकेको छैन । कच्चा पदार्थको आयात, उत्पादित वस्तुको ढुवानी र उद्योग सञ्चालनका लागि मजदूरको व्यवस्थापनमा समस्या कायमै रहेको छ ।

अधिकांश खाद्यान्न उद्योग अहिले मौज्दात कच्चा पदार्थको भरमा चलेको नेपाल चामल तेल दाल संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । अहिले अधिकांश यस्ता उद्योगले आफूसँग पहिलादेखि नै स्टकमा रहेको कच्चा पादर्थको उपयोग गरिरहेको गुप्ताले जानकारी दिए । ‘लकडाउनयता कच्चा पदार्थको आपूर्ति हुन सकेको छैन । ढुवानी अझै सहज हुन सकेको छैन,’ उनले आर्थिक अभियानलाई बताए ।

तर, अहिले उद्योगमा रहेको कच्चा पदार्थ, तयारी उत्पादन र व्यवसायीकहाँ थन्किएको खाद्यान्नको मौज्दातले ३ महीनाको आपूर्ति धान्ने भएकाले खाद्यान्न अभाव नहुने दाबी गुप्ताले गरे । ‘चामल, दाल र तेल उद्योगमा ३ प्रकारको मौज्दात हुन्छ । उद्योग, बजार र बाटोमा रहेको कच्चा पदार्थको अनुमानित मौज्दातले नेपालका लागि चाहिने ३ महीनाको माग पूरा गर्न सक्छ,’ मोहित एग्रो इन्डस्टिजका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताले भने । सरकारले अत्यावश्यकीय वस्तुको उत्पादन र ओसारपसार सहज बनाउने निर्णय गरेकाले तयारी उत्पादन र कच्चा पदार्थको आपूर्ति सहज हुने उद्यमीको अपेक्षा छ । खाद्यान्न उत्पादनमा सक्रिय निम्बस समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवाल अहिलेसम्म मौज्दात कच्चा पदार्थको भरमै उद्योग चलेको बताउँछन् ।

लकडाउनपछि बजारमा खाद्यान्नको आपूर्ति असहज भएपछि अनलाइनबाटै घरघरमा खाद्यान्न पु¥याउने उपायमा केन्द्रित भएको यो समूहले यसअघि पनि उत्पादन र आपूर्ति निरन्तर राखेको अग्रवालले बताए । ‘हामीले यसअघि पनि उत्पादन र आपूर्तिलाई जारी नै राखेका थियौं । अब सरकारले नै सहज बनाउने भनेपछि थप सहजीकरण होला,’ उनले आर्थिक अभियानसित भने ।

सरकारले अत्यावश्यकीय उत्पादनलाई सहज बनाउने भने पनि उद्योगमा कार्यरत मजदूरलाई भित्रै राख्नुपर्ने शर्त अव्यावहारिक भएको गुनासो ओसीबी पूmडका सञ्चालक सुरेश रुंगटाको छ । ‘एउटै उद्योगमा २०० कामदार हुन्छन् । त्यत्रा मजदूरलाई कारखानाभित्रै राख्न सम्भवै हुँदैन,’ रुंगटाले भने । मजदूर आपूर्ति र उत्पादित वस्तुको ढुवानी सहज नहुँदा सामान्य अवस्थाको तुलनामा ४० प्रतिशतमात्र उत्पादन भइरहेको जानकारी उनले दिए ।

स्थानीय प्रशासनले अत्यावश्यकीय उत्पादन र ढुवानीलाई सहज बनाउने प्रयास गरिरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । कोरोना नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समितिले सहज बनाउनुभन्दा पहिल्यै पर्सामा सहजीकरण भइसकेको दाबी उनले गरे ।

स्थानीय प्रशासनले भन्सारबाट छुटेका गाडी जुनसुकै बेला पनि उद्योगसम्म जान पाउने र राति ९ देखि बिहान ६ बजेसम्म उद्योगबाट मालसामान ढुवानी गर्नुपर्ने व्यवस्था मिलाइएको बस्नेतले जानकारी दिए । अन्य जिल्लाले उच्चस्तरीय समितिको निर्णयपछि सहज बनाएकाले अब यस्ता वस्तुको उत्पादन र ढुवानीका अवरोध समाधान हुँदै जाने दाबी पनि उनले गरे । साभार abhiyandaily.com

Back to top