×

वीरगन्ज २३ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि भएको लकडाउनमा अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गर्दै आएको छ । जसले गर्दा देशको आर्थिक राजधानी मानिने वीरगन्जका व्यवसायीहरूको दैनिकीमा पनि परिवर्तन आएको छ ।

गणेश लाठ प्रबन्ध निर्देशक, गणेश टेडिङ सेन्टर

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउनलाई अवसरका रूपमा लिएको छु । पहिलेभन्दा अहिले लकडाउनको समयको दैनिकीमा केही परिवर्तन आएको छ । सरकारले सबै क्षेत्रमा बिदा दिएर घरमा बस्न भनेपछि एक्लै व्यापारको चिन्ता लिने कुरा भएन । अहिलेको समय भनेको परिवारका लागि सरकारले उपलब्ध गराएको महत्वपूर्ण समय हो ।

विगतमा गर्ने बाँकी कामलाई कहिले फुर्सद निकालेर सकाउँछु भनेर सपनामा योजना बनाउँथेँ । अहिले पेन्डिङमा रहेका संस्थागत तथा व्यक्तिगत कामलाई समय दिइरहेको छु । आफूलाई मनपर्ने कुरा लेख्ने,पढ्ने समय बनाएको छु । अहिले त दिनरात घरपरिवारका सदस्यहरूसँग रमाइलोसँग दिन बिताइरहेको छु ।

गोपाल केडिया अध्यक्ष, वीरगन्ज उद्योग वाणिज्य संघ

लकडाउनमा उद्योगीहरू र समाजका लागि खटिएको छु । अहिले दैनिक रूपमा बजारमा आपूर्ति सहज बनाउन सरोकारवालासँग बैठक गरिरहेको छु । साथै, नारायणी अस्पतालमा रहेका विभिन्न विषयमा छलफल गरिरहेको छु । अस्पतालमा बिरामीलाई समस्या हुन नदिन पनि पहल गरिरहेको छु । लकडाउनमा केही समय मात्र परिवारका सदस्यलाई दिइरहेको छु । अन्य साथीहरू जस्तो मेरो समय लकडाउनमा घरमा बितिरहेको छैन ।

अशोक वैद्य उद्योगी

लकडाउनले उद्योगीलाई मात्र नभई सबैलाई समस्याभएको छ । अहिले सरकारले लगाएको लकडाउनमा घर बसेर पूर्ण रूपमा पालना गरिरहेको छु । साथै, परिवारका सदस्यहरूसँग कुराकानी गर्दै, किताब पढेर समय बित्दै छ । अहिले उद्योग, व्यापार सबै पूर्ण रूपमा बन्द भएका कारण पारिवारिक वातावरणमा दिन बितिरहेको छ ।

प्रदीप केडिया उद्योगी

सरकारले गरेको लकडाउनलाई शत प्रतिशत पालना गरेको छु । सरकारले अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्किन भनेपछि परिवारमा समय दिएर समय बिताएको छु । साथै, यो अवस्थामा प्रत्यक्ष रूपमा साथी, शुभचिन्तकसँग भेट नभए पनि फोन र सामाजिक सञ्जालका माध्यमले कुरा गरेर समय बिताएको छु । परिवारका सदस्यलाई पनि घरमाहुँदा समय दिन पाउँदा खुसी महसुस हुन थालेको छ । साथै, केही नयाँ–नयाँ किताब यो समयमा पढिरहेको छु । बाँकी समय समाचार, फिल्मर संगीत सुनेर पनि बित्ने गरेको छ ।

अशोक टेमानी उद्योगी

लकडाउनको समयमा उद्योगी–व्यवसायीलाई बाहिरको कामले फुर्सद भएको छ । त्यसकारण घरमा परिवारका सदस्यसँग नजिक भएर बित्ने गरेको छ । यो समयमा खासै नयाँ काम भएको छैन । घरपरिवारसँग बसेपछि बाहिरका विभिन्न हल्लाहरू थाहा हुँदैन । यस्तो समयमा एक्लो बस्ने समय भएकाले घरपरिवारमा समय बित्ने गरेको छ ।

पहिले कमाइ जिन्दगी लाग्थ्यो, तर अहिले आएर समाज, परिवार सबै लागिरहेको छ । अहिले परिवारसँग धार्मिक छलफल हुन्छ । साथै, लकडाउनको समयमा रामायण हेर्ने गरेको छु । सरकारले उद्योग–व्यवसायमात्र नभई सबै क्षेत्रमा बिदा दिएर लकडाउन पालना गर्ने भनेपछि घरमै सुरक्षित बस्दै आएको छु । साभार nayapatrikadaily.com

Back to top