कोभिड–१९ महामारीमा वीरगञ्ज महानगरले चाल्ने पर्ने तीन पाइला – कञ्चन झा

486

कोभिड–१९ महामारीले जतिसक्दो चाडो यस विरुद्ध कारबाही र रोकथामका कार्यक्रमको माग गर्दछ। विश्वमा कोभिड–१९ बिरुद्ध आंशिक सफलता पाएका अधिकांस देशहरुको अनुभवमा ती देशका स्थानिय निकाय र जनप्रतिनिधीको सक्रियतालाई नै दर्शाउछ। हामी अहिले कोभिड–१९ को संक्रमण फैलनबाट रोक्ने चरणमा तिब्र कारबाहीगर्दै यसका संक्रमितहरुको जीवन रक्षाका चरणमा छौं। यसको प्रारम्भीक वस्तुस्थितीले नै हामी जोखिममा छौ भन्ने प्रष्टयाउछ। अझै अन्तर्राष्ट्रिय स्थल सीमा रहेको वीरगञ्ज कोभिड –१९ र अन्य सबै संक्रमित रोगका कारण विगत देखि नै उच्च जोखिममा रहेको छ।

वीरगञ्ज महानगरपालिकामा कोभिड–१९ को संक्रमण फैलनबाट रोक्नेदेखि यसले स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रमा पार्ने दिर्घकालिन प्रभावको अनुमान सहित तत्काल, अल्पकाल र दिर्घकाल सहितका योजना र कार्यक्रम आवश्यक रहेकाले वीरगञ्ज महानगरपालिकाका मेयर श्री विजय सरावगी र स्थानीय जनप्रतिनिधीले तत्काल उठाउनै पर्ने कदमहरु यहाँ सबैको जानकारीका लागि हामीले प्रस्तुत गरेका छौं।

हामी सबैलाई जानकारी छ, कोभिड–१९ का जिवाणु एकबाट अर्को ब्यक्तिमा सर्ने सम्भावना र त्यो बढनेक्रम तिब्र गतिको छ। यसका लागि ब्यक्ति–ब्यक्तिबिचको सम्पर्क निषेध नै एउटामात्रै बिकल्प हो। यसका लागि जारी रहेको बन्दाबन्दी (लकडाउन) ले दैनिक ज्यालादारीगर्ने मजदुर, श्रमजिवी र साना तथा मझौला ब्यापारी सबैभन्दा ठुलो समस्यामा परेका छन्। यसका साथै औद्योगिक नगरी वीरगञ्जमा संचालित उद्योग, कलकारखाना र ठुला सेवा उद्योगहरु दिर्घकालसम्म कोभिड–१९ ले पुर्याउने दिर्घकालिन प्रभावको चपेटमा रहनेछन्। यो रोग विरुद्धको कारबाही कुनै एक व्यक्ति, संस्था वा प्रदेशको मात्र होइन। यो राष्ट्रिय समस्या भएकाले यस विरुद्धको कारबाहीमा सरकारी, गैरसरकारी तथा निजी सहित व्यक्ति व्यक्तिहरुको सहभागिता, सहयोग र सहकार्य अनिवार्य हुन्छ।



हाल भइरहेको प्रयासका साथै उपलब्ध साधनस्रोतमै हामीले तत्कालका योजनाहरु कार्यन्वयन गर्ने, यसपछिको चरणका लागि अल्पकालिन योजनाको तयारी गर्ने र दिर्घकालिन प्रभाव विरुद्धको लडाईका लागि सबैको समान सहभागितामा योजना बनाउदै सोही अनुसार अघि बढनु आजको आवश्यकता हो।संघियताको प्रभावकारी अभ्यासका लागि संघ र प्रदेशले आफ्ना स्थानीय निकायको प्रभावकारी परिचालनबाट मात्रै कोभिड–१९ विरुद्धको कारबाही सफलता उन्मुख हुनेछ। यसका लागि केन्द्र र प्रदेशले वीरगञ्ज महानगरको दायरा फराकिलो बनाएर उसलाई आफ्ना गतिविधी संचालन गर्न दिनुपर्छ। वीरगञ्ज महानगरले तत्काल, अल्पकाल र दिर्घकालका लागि यी योजना र कार्यक्रम कार्यन्वयनका लागि तत्काल अग्रगामी कदम उठाउनु पर्छ।

क. जनस्वास्थ्य रक्षाका लागि पहिलो पाइला

१. कोभिड–१९ संक्रमण रोकथामका लागि महानगरका मेयरको नेतृत्वमा महानगर एकिकृत स्वास्थ्य कमाण्ड सेन्टरको स्थापना: कमाण्ड सेन्टर संचालनका लागि नेपाल मेडिकल एशोसिएसनका प्रतिनिधी, सबै दलबाट महानगर इकाईमा स्वास्थ्य हेर्ने प्रतिनिधी, स्थानिय संस्था, प्रहरी र प्रशासनका प्रतिनिधी र जनस्वास्थ्य विज्ञ सहितको सल्लाहकार समुह गठन गर्ने।

२. महानगरबासीका लागि अत्यावश्यक सेवा र खाद्यान्न र औषधी उपचारको आवश्यकता पूर्ती गर्न यही कमाण्ड सेन्टरबाट परिचालनको ब्यवस्था गर्ने। स्थानीय तहमा रहेका सबै जनप्रतिनिधी र स्वास्थ्य स्वयम सेविकालाई सुरक्षित तबरमा यो रोग विरुद्ध जनचेतना फैलाउने र आवश्यकता अनुसार सहयोगका लागि तयारी अवस्थामा राख्ने र कन्ट्याक्ट त्रेसिंगको लागि आवश्यकता अनुसार परिचालन गर्ने। महानगरमा महिलाहरूको एउटा छुट्टै स्वास्थ्य स्वयमसेवक समुह गठन र परिचालन गर्ने।

३. कमाण्ड सेन्टरले वीरगञ्ज महानगरमा रहेका सबै अस्पताललाई कोभिड–१९ को महामारीमा जाँच र उपचारका लागि आवश्यक सबै सामाग्री उपलब्ध गराउदै तयारी अवस्थामा राख्ने।

४. केन्द्रबाट वीरगञ्जका लागि महामारी विरुद्ध आवश्यक सबै उपकरण सहित साधन स्रोतको पहिचान र ब्यवस्थापन गर्ने। आवश्यकता अनुसार खुला प्रतिस्पर्धाबाट मनफुकाएर आवश्यक सामाग्री खरिद गर्ने।

५. संक्रमित आशंका गरिएका धेरै भन्दा धेरैको कोभिड–१९ परिक्षण गर्ने। विदेशबाट आएका महानगरबासीसँग तत्काल सम्पर्क स्थापित गरेर उनीहरूको परिवार समेतको स्वास्थ्य अवस्थाको जानकारी लिने।

६. कोभिड–१९ को संक्रमण आशंका भएका र संक्रमण देखिएका व्यक्ति र उनको परिवारलाई क्वारेन्टिन र आइसोलेसन देखि आइसियुसम्म राखेर उपचार र परामर्श दिनसक्ने गुणस्तरीय संयन्त्रको विकास गर्ने।

७. सामाजिक र सामुदायिक एम्बुलेन्स सेवालाइ महानगर मातहत राखेर प्रभावकारी परिचालन र सहुलियत शुल्क कायम गर्ने।

८. महानगर एकिकृत हेल्थ कमाण्ड सेन्टर र महानगर स्वास्थ्य सल्लाहकार समितीलाई दिर्घकालसम्म रहने संयन्त्रका रुपमा विकास गर्ने।

९. महानगरका हरेक वडामा उपलब्ध साधनस्रोतका अनुसार स्वास्थ्य तथा सरसफाई केन्द्र स्थापना गर्ने। बन्दाबन्दी (लकडाउन) अवधि भर महानगरलाइ डिसइन्फ़ेक्ट गर्ने सामग्रीको व्यवस्थापन गरि महानगरलाइ दैनिक डिसइन्फ़ेक्ट गर्ने।

ख. सामाजिक सहकार्य र पूर्नउत्थानका लागि दोस्रो पाइला

१.कोभिड–१९ को रोकथामका लागि लागू गरिएको बन्दाबन्दीसँगै दैनिक ज्यालादारी गर्ने मजदुर र निम्न आयस्रोत भएको परिवार भोकभोकै मर्नुपर्ने अवस्था आएको छ। यसका लागि महानगरले सामाजिक सहकार्यगर्दै महानगर जनता भोजन केन्द्र स्थापना गर्नुपर्छ।

२. स्थानिय वार्डहरूमा हाललाइ आपतकालिन र पछि त्यही दिर्घकालिन उद्यमका रूपमा विकास हुने गरि खाद्यान केन्द्र स्थापना गर्ने।

३. महानगरमामा छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई विभिन्न माध्यमबाट आफ्नो वरिपरी र छरछिमेकको सूचनाका लागि परिचालन गर्ने। उनीहरुलाई कोभिड–१९का विषयमा आफ्नो छरछिमेका जानकारी तथा सचेतना गराउन आग्रह गर्ने।

४. बन्दाबन्दीले महानगरबासीमा पर्ने सामाजिक तथा मानसिक तनावको ब्यवस्थापनका लागि मेयरले दैनिक एउटा निश्चित समय महानगरबासीलाई प्रविधी मार्फत संवोधन गर्ने।

५. महानगरमा केही समयका लागि इन्टरनेट सेवा निशुल्क गर्ने।

ग. आर्थिक पूर्नउत्थानका लागि तेस्रो कदम

१. कोभिड–१९ महामारी विरुद्ध कारबाहीका लागि कोभिड–१९ रोकथाम तथा राहत मेयर कोष स्थापना गर्ने र यसमा महानगरका तर्फबाट कम्तीमा पाँच करोड रुपैयाँ राख्ने। यही कोषबाट तत्काल र अल्पकालिन योजनाका लागि खर्च गर्ने। रकम बचेमा दिर्घकालिन योजनाका लागि खर्च गर्ने। यो कोषमा जम्मा हुने र खर्च हुने रकम पारदर्शी राख्नका लागि दैनिक आयरब्यय विवरण सार्वजनिक गर्ने।

२. दैनिक ज्यालादारी गर्ने मजदुरहरू र श्रमजिवीलाइ कम्तीमा ३ महिनाका लागि आर्थिक राहत प्याकेज उपलब्ध गराउने।

३. साना–मझौला ब्यवसायी , घरेलु उद्योग, साना सवारीसाधन र अन्य स्थानीय कर ६ महिनाका लागि माफी गर्ने।

४. घरभाडा छुटका साथै यहाँ रहेका औद्यौगिक क्षेत्रको पूर्नउत्थानका लागि केन्द्रसँगको सहकार्यमा आवश्यक पहल गर्ने।

झा सानो पाइला संस्थाका संस्थापक र स्वतन्त्र पत्रकार हुन् ।