×

वीरगञ्ज, चैत्र १४ – कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण वीरगञ्जको बसपार्कमा अलपत्र परेका सवारी चालक, सहचालक तथा यात्रुहरुलाई वीरगञ्ज युवा समाजले आज खाजा खुवाएको छ ।

भाइरसको संक्रमणले भन्दा भोकका कारण उनीहरु समस्यामा पर्न थालेपछि खाजाको प्रवन्ध मिलाएको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईँले बताउनुभयो । बसपार्कमा रहेका ६० जना चालक, सहचालक तथा यात्रुहरुलाई आज खाजा खुवाइएको उहाँले बताउनुभयो ।

यस्तै बसपार्कमा लक डाउन भएदेखि भोकभोकै बस्दै आएकाहरुलाई आजदेखि भने वीरगञ्ज महानगरपालिकाले नै खानाको व्यवस्था मिलाउने भएको छ । महानगरपालिकाको समन्वयमा स्थानीय व्यवसायी तथा समाजसेवीहरुको संयुक्त सहयोगमा बसपार्क भित्रै सामूहिक मेस सञ्चालन गरेर उनीहरुलाई खानाको व्यवस्था मिलाउन लगाइएको हो ।

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र विभिन्न ठाउँमा जान नपाएर बसपार्कमै रोकिएकाहरु मर्कामा परेका छन् ।

यसअघि वीरगञ्जको नारायणी अस्पतालमा आउने बिरामीका कुरुवाका लागि अस्पतालमा मै खाना-खाने व्यवस्था मिलाइएको थियो । लकडाउनका कारण कुनै पनि होटल तथा पसलहरु नखुलेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीका कुरुवा भोक भोकै बस्नुपर्ने बाध्यता आएपछि वीरगञ्ज महानगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष जगत साहको पहलमा अस्पतालमा आउने बिरामीका कुरुवाहरुलाई खानाको प्रबन्ध मिलाइएको हो ।

विरामीलाई अस्पतालले नै खानाको प्रवन्ध गर्दै आएको भए पनि यस अघि विरामी कुरुवाले भने आफै खानाको प्रवन्ध मिलाउनु पर्ने थियो । लक डाउन अवधीभर भने अस्पतालमा आउने बिरामीका कुरुवालाई खानाको व्यवस्था रहने वडा अध्यक्ष साहले बताउनुभयो ।

Back to top