”हैलो सरकार”, घडि–घडि हामी किन लाचार?

51

विश्वव्यापिकरणमा नौलो र प्रभावशाली शब्दश्रृंखला देखियो ”हैलो सरकार” । हामीले पनि प्रयोगमा ल्यायौं तर तात्पर्य पुर्तिको कमि हाम्रोमा देखियो । आफ्नो गुनासो,सल्लाह र सहायताको लागि यस तात्कालिन तिव्रमाध्यमलाई प्रयोगमा ल्याइन्छ तर नेपालको परिपेक्ष्यमा हर विभाग,निकाय,मन्त्रालय,नगरपालिका देखि वडाकार्यालयसम्म कर्मचारि र सरकारपक्षका कर्तव्यप्रतिको निष्ठा हेरेर यस प्रविधिको उपयोग के गर्ने–कत्ति गर्ने भनि दिक्कलाग्ने अवस्था छ । आज हामी यी दिनहुँका परिचर्चामा समय खराब गर्दैनौं बरु सरकार वा आफ्नो घडि घडिका विवशता वा लाचारीमा एक फन्को आँखा घुमाउँछौ ।

१४७१८१ वर्गकिमि क्षेत्रफल जस्मा करिब ३ करोड जनसंख्या, ७ प्रदेशमा मुख्यमन्त्री सहितको प्रदेश मन्त्रीमण्डल, कुल २७५ सिटमध्ये १७४ सिटल्याई प्रचण्ड बहुमतले विजयी संघीय सरकार,संघीय–प्रादेशिक सरकारका सहायक अतिसक्षम यन्त्र र अंगहरु, कतिपय दक्षिण एसियाली राष्ट्रहरुलाई प्रदानगर्न सक्ने हाम्रो जलविद्युतीय महाक्षमता, आ.व.२०७५/०७६ मा करिब १३ खर्ब र २०७६/७७ मा करिब १५ खर्बको संघीय बजेट जस्मा अन्तिमका दुइटै आर्थिक वर्षमा कुल बजेटको करिब ६२ प्रतिशत चालुखर्चको प्राबधान आदि हुँदा हुँदैपनि आज हामि किन नियमित बाहेकका वर्तमानको आकस्मिक परिस्थतिमा समेत जनतालाई सहज खाद्यान्न,एलपिजि ग्याँस,तरकारी,अतिआवश्यक औषधिसमेत सहज र सुपथ मूल्यमा उपलब्ध गराउन नसकि परराष्ट्रहरुकै अनुदान वा सहायतामा तिनका मुखताकि कुर्नुपर्ने अवस्था आउँछ त ? हामी स्वाभिमानी र सक्षम छौँ भनि प्रमाणित गर्न यि बानी सुधार्नुपर्ने समय अब आइसकेको छ ।

यस्ता अतिसामान्य तयारीपूर्ण अवस्थामा रहन हामी सक्षम छौँ तर किन हुन नसकेको भनी एकदमै सोच्नुपर्ने समय आइसक्यो । आज कोभिड–१९ को त्रास र चपेटमा करिब करिब सारा बिश्व नै आइसकेको अवस्थामा केहीदिन पहिला संघीयसरकारको लकडाउन आह्बान सराहनीय र स्वागतयोग्य छ तर उक्त आह्वाहनको करिब ३ दिन बितिसक्दा पनि कर्तव्यनिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि मेडिकल किट,ल्याब सुबिधा,विशेषप्रकारको पहिरणका साथै पर्याप्तमात्रामा मास्क र सैनिटाइजर किन सहज र उपलब्ध हुननसकेको होला ? बिश्वभर गतवर्ष डिसेम्बरमै त्रासदि फैलाएको उक्त महामारीको रोकथाम र सतर्कताको बारेमा जानकारी हुँदाहुँदै पनि स्वास्थ्य र आपुर्ति मन्त्रालय उपयुक्त कदम किन चाल्ननसकेको होला ? १० रुपैयाँ पर्ने सिजेरियन डिस्पोजेबल मास्क यस्तो संक्रमणकालीन अवस्थामा बजारमा रु ५० सम्म कालोबजारी भइरहेको कुरो जगजाहिर हँुदापनि आपुर्ति मन्त्रालय र स्थानीय प्रशासन किन ढूक्क भईबसेका होलान् त आदि जस्ता अनेकौ प्रश्न छन् जनताका मनमा । आजको सन्दर्भमा छिमेकि राष्ट्र चीन र भारतमा कोभिड–१९ ले भयावह ताण्डव गरिरहेको बेला हामीले चीन र अन्य दातृराष्ट्रसमक्ष औषधि,मास्क,मेडिकल किट आदिका लागि गुहार लगाइ तिनका सहयोगि हात कुरिबसिरहेका छौँ ।



राष्ट्रव्यापि लकडाउन आह्वान गर्ने सरकारका आधिकारिक प्रवक्ताको मुखारबिन्दुबाट रिक्सातान्ने,मजदुरी गर्ने,ज्यालाकमायि बिहानबेलुकि हातमुख जोर्नेहरुका लागि आज र आगामिका दिनका लागि खान लाउन गरिएको प्रबन्धको उदघोषनको पर्खाइमा आजपनि लाखौँ कानहरु कुरिरहेका होलान् ।

सन् २०१५ मा नेपालमा आएको प्रलयकारी महाभुकम्प होस् वा उक्त वर्षकै आन्तरिक आन्दोलनको स्वरुप,बाढीको प्रकोपको समय होस् वा हाल विद्यमान रहेको कोभिड–१९ को महासंक्रमणको घडी किन हामी ठयाक्कै समस्या परेकै बेला चामल,दाल,तरकारी,गोलभेँडा,नुन,पेट्रोलियम पदार्थ,औषधि आदिका लागि भारत,चीन वा अन्य हाम्रा सहयोगि मुलुकलाई तुरुन्तै गुहार्नु पर्नेहुन्छ ? किन हामी पहिला देखि नै तयार रहन नसकेका छौँ भन्ने प्रश्न घडिघडि उठेकै होलान् नेपाली जनताका मनमा ।

  • करिब २४ प्रतिशत बजेट मात्र पूँजीगत खर्चका लागि छुटयाइएका छन् अन्तिमका दुई आर्थिक बर्षमा, भने चालु खर्चका रकमले स्वास्थ्य क्षेत्र,आपुर्तिका विषयवस्तु मजबुत बनाउनुपर्ने थियो ।
  • देशमा सामान्य,बिशेष र शिक्षण गरि ५० देखि करिब २०० शैय्या सम्मका स्थानीय,जिल्ला,क्षेत्रीय र केन्द्रिय अस्पतालका स्वरुपहरु छन् तर उपयुक्त व्यवस्थापनको आधारमा जिर्ण हुने अवस्थामा आइसकेका छन् । परिणाम स्वरुप अलि विशेष प्रकारको ल्याब परिक्षणको लागि पनि नमुना विदेश पठाउनुपर्छ ।
  • भाइरस रुपि यस विश्वयुद्धमा हाम्रा स्वास्थ्यकर्मिहरु बिना कुनै खास सुरक्षाउपायका मैदानमा उत्रिएका छन् ।
  • देशमा खाना पकाउने ग्याँसको असहज उपलब्धता,तरकारी र खाद्यान्न वस्तुको मुल्य अचानक आकासिएको छ, चिकित्सक क्लिनिक बन्द गरि घर बसेका छन्, निरन्तरको बन्दभन्दा पनि वस्तुको सम्भावित अनुपलब्धताको त्रासले बजारमा महँगाइ ह्वत्तै बढाएको छ यस्तोमा सरकारको निर्णयहरुका पाना मात्र पढेर कतिका दिन कुर्न सक्छन् होला सर्वसाधारणले,डर छ कहिँ भोका पेट र शिकिस्त शरिरहरुमा भागाभाग नहोस् ।
  • दैनिक उपभोग्यका अधिकतम मालसामानका साथै एलपिजि ग्याँस आपुर्ति गर्ने भारत आज आफ्््नै देशमा आपुर्ति पुर्याउने दमखम गरिरहेको बेला उसले के हाम्रा आवश्यक मागको आपुर्ति गर्न मान्ला त ? यो परिस्थिबाट जुझ्नसकने हुन अझ कति दशक कुर्नु पर्नेहुन्छ त हामीले यस्को जवाफ माननीय संघीय अर्थ तथा आपुर्ति मन्त्री ज्यूहरुले दिनसक्नुपर्छ जस्तो लागेको छ मलाई ।
  • उपाय के त भन्दा स्वास्थ्य र शिक्षा क्षेत्रलाई निःशुल्क र राजनीतिरहित बिकसित गर्नुपर्छ । स्वदेशी उद्यमलाई बढावा दिई दैनिक उपभोग्य सामाग्री र औषधिको स्वदेशमै अधिकतम् उत्पादन हुनसक्ने वातावरण बिकसित गर्नु पर्छ । प्राकृतिक प्रकोप,महामारी,आकस्मिक अवस्थाको लागि पूर्व तैयारी र मौन्दात व्यवस्थापन गरिनुपर्छ । देशको व्यापारलाई मनोबल,प्रोत्साहन र नागरिकलाई प्रभावकारी स्वास्थ्य र आर्थिक पृष्ठभुमिमा भविष्यको मजबुत आधार प्रदान गरिनुपर्छ ।