लकडाउन, दैनिक मजदूरी गरेर खाने वर्गलाई तत्काल राहत उपलब्ध गराउन नेता रौनियारको माग

69

वीरगन्ज १४ चैत ।  समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियारले कोरोना संक्रमण फैलिन नदिन लगाइएको लक डाउनमा दैनिक ज्यालादारी गरे गुजरा गर्ने मजदूरलाई खाद्यान्न र दैनिक उपभोग्य बस्तुको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पर्सा क्षेत्र नम्बर ३ का सांसद रौनियारले दैनिक रुपमा काम नगरी छाक टार्न नसक्ने वर्गका लागि राहतको विशेष प्याकेजको माग गर्नु भएको हो ।


आज सञ्चारकर्मीहरुसित कुरा गर्दै नेता रौनियारले प्रदेश सरकारले घोषणा गरेको राहतको कार्यक्रमलाई प्रभावकारी तरिकाले जनस्तरसम्म लैजान ढिलाई गर्न नहुने सुझाव पनि दिनुभयो । लक डाउनको समयमा दैनिक उपभोग्य बस्तुको आपूर्ति असहज भएको भन्दै यसबाट दैनिक ज्यालादारी र मजदूरी गरेर जीविकोपाजैन गर्ने वर्ग नराम्ररी प्रभावित भएको पनि उल्लेख गर्नुभयो ।

कोरोना संक्रमण फैलिन नदिन लक डाउनको पालनामा जोड दिँदै यसलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले दैनिक उपभोग्य बस्तुको होम डेलिभरीको व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । उपभोग्य बस्तुको खरिदबिक्रीका क्रममा पनि संक्रमण फैलिने सम्भावना हुने भएकाले होम डेलिभरी प्रभावकारी हुने दाबी उहाँको छ । स्थानीय सरकारले यसको व्यवस्था मिलाउनुपर्ने सुझाव रौनियारले दिनुभयो ।

कोरोना संक्रमण नियन्त्रण र यसका असर न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वयको खाँचो उहाँले औंल्याउनुभयो ।