×

 

वीरगन्ज १२ चैत । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा चढेका उनीहरुलाई गएराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु काठमाडौंबाट चितवनको भरतपुर हेटौडा हुँदै वीरगञ्ज पुगेका हुन् । कन्टेनर चालकलाई दुई–दुई सय रुपैयाँ भाडा दिएर उनीहरु वीरगञ्ज पुगेका हुन् । प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा, पर्सा र रौतहटका बासिन्दा हुन् ।

उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए । मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेका लरी चालक महराले पनि आफुले यात्रुलाई चढाउन नमानेको भएपनि बाटो नै छेकेर गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताए। प्रहरी निरीक्षक कुशल बर्तौलाले कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा बुधबार बिहान पठाइएको बताए।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले लकडाउन उल्लङ्घन गरी यात्रु ओसार्ने लरीका चालकलाई प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कारबाही गरिने बताए। यात्रुहरुलाई भने क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरेपछि अवस्था कस्तो देख्निछ त्यहि अनुसार निर्णय गरिने उनले जानकारी दिए।

Back to top