देश लकडाउन परीक्षण, परीक्षण र परीक्षण

कोरोना संक्रमण आजसम्म नभोगिएको र नसोचिएको मानवीय समस्या भएकाले यसका लागि अन्तरराष्ट्रिय अनुभव अनुसार काम गर्नुको विकल्प देखिँदैन । यसका लागि सबैभन्दा जरुरी र अनिवार्य पहिलो काम भनेको परीक्षणको मात्रा बढाउनु नै हो ।

93

 

वीरगन्ज १२ चैत । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न एकपछि अर्को गर्दै अन्ततः देशलाई लकडाउन गरेको छ । कोरोनाको संक्रमण रोक्न मानिस मानिसबीच भौतिक दूरी बढाउनु नै एकमात्र विकल्प देखिएको हुँदा लकडाउन अनिवार्य नै भइसकेको थियो । लकडाउनको पहिलो दिन अपेक्षाकृत रूपमा सफल नै मान्नुपर्ने हुन्छ । अहिले सरकारले उच्च सतर्कताका काम गरिरहेको छ, जुन सराहनीय छ तर परिस्थिति हेर्दा त्यो पर्याप्त नहोला ।

कोरोना भाइरसको संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै औषधि बनेको छैन, न त यसको संक्रमण रोक्न विशेष प्रविधि नै । कोरोना भाइरसबाट संक्रमित व्यक्ति पहिचान गरी उसलाई कसैसँग पनि सम्पर्कमा आउन नदिई (आइसोलेसन) यसको थप संक्रमण रोक्न सकिन्छ भन्ने कुरा चीन र दक्षिण कोरियाले पुष्टि गरेका छन् । कोरोनाको उद्गमस्थल वुहानमा यही विधिलाई पहिलो प्राथमिकतामा राखिएको थियो । तर, नेपालमा भने कोरोना संक्रमणका आशंकित व्यक्तिहरूको परीक्षण हुन सकेको छैन । हालसम्म ६०० जना जतिको मात्रै कोरोना भाइरसको परीक्षण भएको छ । चीनमा प्रतिदिन १० हजार व्यक्तिको परीक्षण भएको थियो भने कोरियामा पछिल्लो समय २० हजार सम्मको । तर अमेरिकामा पछिल्लो समय दैनिक ५०० जतिको हाराहारीमा मात्रै परीक्षण हुन थालेको छ । जहाँ परीक्षणको मात्रा कम छ, त्यहाँ बढी समस्या देखिएको छ ।



हजारौं व्यक्ति कोरोना भाइरस फैलिएका ठाउँबाट नेपाल भित्रिइसकेका छन् । तिनीहरूमध्ये निकै थोरैमात्र क्वारेन्टाइनमा बसेको समाचार छ । त्यसो हु“दा कोरोना संक्रमणको वास्तविक अवस्थाबारे सरकार आफै बेखबर रहेको देखिन्छ । नेपालमा कोरोना परीक्षणका लागि किटको अभाव ठूलो समस्या देखिएको छ । थोरैमात्रै किट हुँदा कोरोनाको आशंकित व्यक्तिहरूको परीक्षण भइरहेको छैन । यसका लागि सरकारले छिमेकी मित्रराष्ट्र चीनबाट कीट र अन्य सामग्री सहयोग लिन लागेको समाचार आएको छ । वास्तवमा अहिले नेपाललाई लाखौं परीक्षण कीटको आवश्यकता छ । निजी क्षेत्र वा कसैले पनि अहिले सरकारलाई सहयोग गर्ने हो भने परीक्षण किट उपलब्ध गराउन ढिला गर्नुहुन्न । सरकारले कोरोना भाइरसको परीक्षण र उपचारका लागि थप अस्पताल तोकेको त छ तर ती अस्पतालमा पनि उपचारका लागि आवश्यक उपकरणको अभाव भएको चिकित्सकहरूले बताइरहेका छन् । आइसोलेसन वार्ड र संख्या पनि पर्याप्त नभएको पाइएको छ ।

त्यस्तै कोरोना विरुद्धको युद्धमा पहिलो पंक्तिमा रहने जनशक्तिलाई व्यक्तिगत सुरक्षाको साधन (पीपीई) अत्यावश्यक हुन्छ । अहिले सरकारी र निजीक्षेत्रका स्वास्थ्य संस्थाका कार्यरत चिकित्सकहरूले मास्कसमेत पाइरहेका छैनन् । यसो हुनु भनेको विनाहतियार सिपाहीलाई लड्न पठाउनु जस्तै हो । त्यसैले खरीद गरेर हुन्छ वा वैदेशिक सहायता परिचालन गरेर हुन्छ यस्ता वस्तुहरुको तत्काल आपूर्ति गरिनु आवश्यक छ । कोरोना संक्रमितको संख्या बढ्नेबित्तिकै आवश्यक अर्को उपकरण भेन्टिलेटर पनि हो । बिरामीको फोक्सोमा असर गरी श्वासप्रश्वास समस्या भएर नै धेरेले ज्यान गुमाएको विश्व अनुभवले देखाएको छ । भेन्टिलेटरको कमीकै कारण विश्वमै उच्चस्तरीय स्वास्थ्य सेवा दिने भनिएको इटालीमा कोरोनाबाट सर्वाधिक मृत्यु भएको हो । यस्तोमा लाखौं संख्यामा भेन्टिलेटरको व्यवस्था गर्न ढिला गर्नुहुन्न ।

सरकारले लकडाउनलाई कडा गर्नु त अनिवार्य नै देखिन्छ, तर यससँगै सरकारले गर्नुपर्ने अर्को तयारी भनेको जीवन यापनमा सहजीकरण हो । लामो समय लकडाउन हुँदा अत्यावश्यक उपभोग्य वस्तुको समस्या हुन सक्छ । त्यस्तै देशबाहिर रहेका नेपालीहरू पनि समस्यामा पर्न सक्छन् । तिनलाई समेत प्राथमिकता हेरेर सरकारले आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुन्छ ।

कोरोना संक्रमण आजसम्म नभोगिएको र नसोचिएको मानवीय समस्या भएकाले यसका लागि अन्तरराष्ट्रिय अनुभव अनुसार काम गर्नुको विकल्प देखिँदैन । यसका लागि सबैभन्दा जरुरी र अनिवार्य पहिलो काम भनेको परीक्षणको मात्रा बढाउनु नै हो ।