×

 

वीरगंज १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा जारी गरेको सन्देश अनुसार अत्यावश्यक सेवाबाहेक सबै सेवा चैत १० गतेदेखि बन्द गर्ने निर्देशन जारी गरेपनि पर्सा जिल्लामा सोअनुरूपको निर्देशन पालना भएको छैन।

जिल्लामा रहेका अत्यावश्यक कार्यालयको वर्गीकरण गरेर सञ्चालन गर्ने, नगर्नेबारेमा सूचना जारी गर्ने जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालय, पर्साले सरकारी कार्यालयहरूलाई निर्देशन जारी नगरेको कारण कतिपय कार्यालय सञ्चालनमा आए भने कतिपय बन्द रहे।

जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले कार्यालय बन्द गर्ने निर्देशन नआएको तर सेवाप्रवाहमा मात्र रोक लगाइएको बताए । उनले कार्यालय सञ्चालन गरिएको, कर्मचारी हाजीर भएका तर सेवा भने प्रवाह नगरिएको बताए। जिल्ला प्रशासन कार्यालय, पर्साको अवस्था यो रह्यो भने अन्य कार्यालयमध्ये केहीले ताला लगाएर कार्यालय बन्द गरेका छन्। भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले कोरोना भाइरसको कारण जनाउँदै चैत २१ गतेसम्म सेवा बन्द गरिएको सूचना जारी गरेको छ। चैत २१ गते शुक्रवार पर्ने, २२ गते शनिवार पर्ने भएकोले भूमिसुधार तथा मालपोत कार्यालय चैत २३ गतेदेखि सञ्चालनमा आउने सूचनाबाट देखिएको छ।

तर अत्यावश्यक सेवामा नपरेका कार्यालयहरू भने सञ्चालनमा रहे। वीरगंज महानगरपालिका पूर्णरूपमा सञ्चालनमा रह्यो।

नगरप्रमुख विजयकुमार सरावगीले सरसफाइ, वारुणयन्त्र, विकास निर्माण र सामाजिक सचेतना कार्यक्रम तथा स्वास्थ्य सेवासमेत महानगरपालिकाबाट प्रवाह हुने हुनाले सरकारी निर्देशन पालना गर्दै भीडभाड नगरेर सेवा प्रदान गरिरहेको बताए। उनले कार्यालयका सबै शाखामा १० जनाभन्दा बढी मानिसको आवागमन नहुने गरी सेवाप्रवाह गर्न निर्देशन गरिएको बताए। वीरगंज महानगर अन्तर्गतका ३२ वटै वडा कार्यालय सञ्चालनमा रहे। वडास्तरबाट पनि सरसफाइ र सचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने हुनाले वडा कार्यालय बन्द नगरी सेवा प्रदान गरिरहेको वडा नं. ४ का वडाध्यक्ष जगत साह कानूले बताए।

 

Back to top