×

 

वीरगन्ज ६ चैत । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यसबारे आज निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, भारतबाट आउजाउ रोकिएको छैन । हवाई मार्गबाट औसत दैनिक १५०-२०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेका छन् । तर, स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी छ ।

तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग भएर आउन रोक लगाए पनि रोजगारीका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल आइरहेका छन् । उनीहरुलाई सीमा नाकामा ज्वरो मात्र नाप्ने गरिएको छ । साथै सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितहरु भेटिन थालेकाले सरकारले सीमा नाकाहरुमा कडाइ गर्नेबारे छलफल थालेको हो । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १३७ जनामा संक्रमण भेटिएका छन् । त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको स्रोतले बताएको छ ।

यसका लागि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले मंगलबार नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रालाई बोलाएर छलफल गरेका थिए । उनले भारत सरकारसँग छलफल गरेर राय दिने भन्दै एक दिनको समय मागेका थिए ।

सरकारको तयारी भने नेपाल भारतबीच ८-१० वटा नाकाबाहेक सबै बन्द गर्ने र त्यहीँबाट अत्यावश्यक वस्तु आयात निर्यात गर्ने तयारी गरेको छ । स्रोतले भन्यो, ‘वस्तु आयात रोकिँदैन । मानवीय आवत–जावतको हकमा अति जरुरी बाहेक रोक्ने हाम्रो तयारी छ ।’ भारत सरकारले पनि नेपालसँगको सीमानाकामा कडाइ गर्ने बताइसकेको छ ।

Back to top