×

 

वीरगन्ज ५ चैत । पर्साको वीरगञ्ज महानगरपालिका योजनामा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारको हैटौंडा कार्यालयबाट आएको टोलीले स्थलगत अनुसन्धान गरेको हो ।

अख्तियारले महानगरका विभिन्न महाशाखाको फाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अख्तियारको ७ सदस्यीय टोलीले विगत ३ दिनदेखि महानगरको शिक्षा, स्वास्थ्य र विकास निर्माणका योजनासँग सम्बन्धित फाइलको छानविन गरेको छ । टोलीले मंगलवार पनि योजनसँग सम्बन्धित अधिकारी र व्यक्तिसँग वयान लिएको छ ।

शिक्षाका योजनासँग सम्बन्धित उजुरी बढी परेको अख्तियार स्रोतले बतायो । अख्तियारका अधिकारीले शिक्षा महाशाखाका अधिकारीहरूसित बयान लिएका छन् । महानगरका सामुदायिक विद्यालयमा पूर्वाधार, छात्रा अनुदान, खाजा खर्चलगायतमा व्यापक भ्रष्टाचार भएको उजुरी परेको छ । ९० ओटा सामुदायिक विद्यालयमध्ये अधिकांशमा निकासा भएको रकममा अनियमितता भएको आरोप छ ।

भवन निर्माण कमसल निर्माण गरेर भ्रष्टाचार भएको दाबी उजुरीमा छानविन भएको अख्तियारका एक अधिकारीले बताए । छात्रा अनुदान र खाजा खर्चमा बढी विद्यार्थी देखाएर भ्रष्टाचार भएको बताइएको छ ।

शिक्षाका अधिकारी र सम्बन्धित विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा भ्रष्टाचार भएको विषयमा छानविन भइरहेको छ । विकास निर्माणका आयोजनामा भएको अनियमितता बारे पनि अख्तियारले बेग्लाबेग्लै टोली बनाएर छानविन गरिरहेको छ ।

अख्तियारको टोलीले शिक्षा, स्वास्थ्य र विकास निर्माणसँग सम्बन्धित कर्मचारी र अन्य पक्षसँग बयान लिएको छ । नगर प्रमुख विजयकुमार सरावगीले नियमित छानविनका क्रममा अख्तियारले टोली पठाएको बताए । सञ्चारमाध्यममा आएका समाचारका आधारमा छानविन गरिएको सरावगीले दाबी गरे ।

शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षामा सहभागी विद्यार्थीको परीक्षा शुल्कमा समेत अनियमितता भएको बताइएको छ । नगरका सामुदायिक विद्यालयमा १७ हजार ५०० विद्यार्थी रहेको देखाएर प्रतिविद्यार्थी २०० रुपैयाँका दरले रकम निकासा गरिएको छ । तर, ती विद्यालयमा १२ हजार ९ सयमात्र विद्यार्थी रहेको बताइएको छ । यसबारेमा महानगरले बेग्लै समिति बनाएर छानविन गरिरहेको महानगरसम्बद्ध स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थाले पछि कर्मचारीहरू लुकेका थिए ।

Back to top