×

 

वीरगन्ज ४ चैत । प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान हुने भएको छ । प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमति गरेका छन । यता प्रदेशको नामको विषयमा सहमति जुटेको छैन । राजधानीको विषयमा सहमति भइसकेकाले प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट टुंगो लाग्ने सम्भावना छ ।

नाम के राख्ने विषय भने मतदान प्रक्रियाबाट पनि टुंगो लाग्ने सम्भावना कम छ । टुंगो लगाउन दुई तिहाई बहुमत चाहिने र सहमति बिना त्यति मत प्राप्त नहुने भएकाले टुंगिने सम्भावना कम रहेको हो । स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव दर्ता भएका छन् ।

प्रदेशको नामका लागि चारवटा प्रस्ताव दर्ता भएका छन् । प्रमुख प्रतिपक्ष नेकपाले जानकी र प्रतिपक्ष कांग्रेसले मिथिला भोजपुरा नाम राख्न प्रस्ताव गरेका छन् भने सतारुढ समाजवादी पार्टी र राजपाले मधेस प्रदेश नाम राख्नुपर्ने प्रस्ताव गरेको छन् । पारित हुने प्रस्तावको पक्षमा ७२ मत चाहिन्छ । १ सय ७ सदस्यीय प्रदेशसभामा दुई तिहाई मत प्रस्तावलाई पारित गर्न चाहिने प्रदेशसभा सचिवालय सचिव रञ्जित यादवले बताए ।

Back to top