×

 

वीरगञ्ज २३ फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् । चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ≈वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए ।

जनवरीयता चीनबाट मालवस्तु मगाउन कुनै पनि नयाँ कन्साइन्मेन्ट ‘अर्डर’ नआएको यस लजेस्टिकका सञ्चालकसमेत रहेका टेमानीले जानकारी दिए । उनका अनुसार चीनमा कोरोना भाइरस फैलिएयता चीनबाट आयात हुने मालवस्तुको ‘बुकिङ’ ७५ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार परिमाणका आधारमा चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो ।

चीनबाट औद्योगिक उपकरण, कच्चा पदार्थ, जुत्ताचप्पल, विद्युतीय सामान, दूरसञ्चार उपकरण, औषधि र यसका उपकरण, ब्याग, कपडा, खेलौनादेखि दैनिक उपभोग्य वस्तुको आयात हुन्छ ।

कोरोना संक्रमण महामारीका रूपमा फैलिएयता चीनबाट मालवस्तु मगाउन एउटा पनि नयाँ ‘डकुमेन्ट’ नआएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए । ‘कोरोना फैलिएपछि चीनका लागि कुनै पनि नयाँ डकुमेन्ट आएको छैन । अहिले पुरानै अर्डरको काममात्र भइरहेको छ,’ शर्माले आर्थिक अभियानसित भने ।

चीनतर्फको बुकिङ कम भए पनि अहिलेसम्म कोरोनाकै कारण चीनबाट आउने ‘कन्साइन्मेन्ट’मा कमी नदेखिएको भन्सारका अधिकारीहरू बताउँछन् । भन्सार विभागका सूचना अधिकृत शिशिर घिमिरेले रसुवा र तातोपानी नाका बन्द भएकाले त्यहाँबाट हुने व्यापार ठप्प भए पनि अन्य नाकाबाट कोरोनाका कारण चीनबाट आउने ‘कन्साइन्मेन्ट’मा कमी नदेखिएको बताए ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले रसुवा र तातोपानी नाकाबाट आवागमन रोकेको छ । समुद्रीमार्गमार्पmत कोलकाता हुँदै चिनियाँ समान भित्रिने मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले पनि अहिलेसम्म चीनबाट आउने ‘कन्साइमेन्ट’ नघटेको बताए ।

कन्टेनर कार्गो बढी आउने वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारले पनि राजस्व असुलीमा चिनियाँ वस्तुको योगदानमा कमी नआएको बताएको छ । ‘अहिलेसम्म चीनबाट आउने मालवस्तु घटेको देखिएको छैन । राजस्व पनि समान्य समयसरह नै उठिरहेको छ,’ बन्दरगाह भन्सार प्रमुख उमेश श्रेष्ठले बताए ।

कोरोना फैलिनुअघि ‘बुक’ भएको सामान भित्रिइरहेकाले अहिले भन्सार नाकाहरूमा त्यसको असर नदेखिएको हुन सक्ने नेपाल फ्रेट फर्वाडर्स एशोसिएशनका कोषाध्यक्ष नरेश अग्रवाल बताउँछन् । कोरोना फैलिनुअघि पानीजहाजमा गइसकेको चिनियाँ सामान अहिले भन्सारमा आइरहेको दाबी अग्रवालले गरे । ‘चीनबाट कोलकातासम्म सामान आइपुग्न कम्तीमा ३५ दिन लाग्छ । त्यसैले मालसामानको अर्डरमा आएको कटौतीको असर भन्सारमा अब देखिन थाल्छ,’ अग्रवालले भने ।

कोरोना संक्रमण फैलिएको दक्षिण कोरियासँगको व्यापार पनि प्रभावित भएको अग्रवालले जानकारी दिए । पछिल्ला दिनमा दक्षिण कोरियाबाट आउने मालवस्तुको ‘बुकिङ’ घटेको उनले बताए ।

कोराना संक्रमणलाई कारण देखाएर सिपिङ कम्पनीले कन्टेनर ढुवानीमा समेत बढी समय लगाउन थालेको आयातकर्ताले बताए । कोरोनाको असरले ढुवानीको खर्च बढेको बताएर केही कम्पनीले समुद्री भाडासमेत बढाएको उनीहरूले बताए । सिपिङ कम्पनीले चीनबाट कोलकातासम्मको समुद्री भाडा १५० देखि २०० अमेरिकी डलरसम्म बढाएको फ्रेट फर्वाडर्सले बताएका छन् ।

Back to top