×

 

वीरगन्ज २१ फागुन । मधेस आन्दोलनका सहिद धर्मराज सिंह राजपुतका दाजु करण सिंह राजपुत प्रदेश सरकारले दिएको जागिर खोसिए पछि ऋणका लागि बैंकमा डेढ महिनादेखि धाइ रहेका छन् । प्रदेश सरकारले दिएको जागिर पनि खोसीयो, डेढ महिनादेखि कर्जा काढेर बालबच्चालाई खुवाइ रहेको छु, वीरगन्जमा भेटिएका करणले भने, 'पहिलेकै ५-७ लाख रुपैयाँ कर्जा तिर्नै बाँकी छ। त्यसैले खेत धितो राखेर कर्जा काढ्न १ महिना देखि बैंकमा धाइ रहेको छु। '

प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक गरेको २ वर्षको आफ्नो उपलब्धिमा 'एक सहिद परिवार, एक रोजगार' प्रमुख उपलब्धी भनेर दाबी गरेको छ ।

तर, प्रदेश सरकारले नै दिएको वीरगन्ज १८ का सहिद धर्मराजका दाजु करणको रोजगारी भने डेढ महिनादेखि खोसिएको छ । वीरगन्जको घरेलु तथा साना उद्योग कार्यालयमा कार्यालय सहयोगी (पियन) पदमा जागिर पाएका करणको करार अवधी ६ महिनाको मात्रै थियो । करारको म्याद पुष मसान्तमै सकिएको र त्यसपछि प्रदेश सरकारले करार अवधि नथपि दिएका कारण उनको जागीर खोसिएको हो ।

प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालयमा साउनदेखि पियनको जागिर दिएको थियो। महिनाको १९ हजार तलब आउथ्यो। त्यहि तलबले ९ जनाको परिवार पाल्दै आएको थिए किरण।

उनी भन्छन्, 'माघ ५ गते कार्यालयमा जाँदा कार्यालय प्रमुख रिमा साहले एक्‍कासी अहिले काममा आउनु पर्दैन। मैले फोन गरेपछि मात्रै आउनु भनेर पठाइदिनुभयो। तर अहिलेसम्म फोन आएको छैन ।' प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पटकपटक फोन गर्दा पनि फोन उठाउँदैनन्।

जायजेथाको नाममा चार कठठा खेत मात्रै छ। त्यसको आम्दानीले ९ जनाको परिवार पाल्न समस्या भएपछि बैंकमा त्यहि जग्गा धितो राखेर ऋण काढ्न बैंक धाइरहेको करणले बताए।संघीय सरकारले सहिद परिवारलाइ दिएको १० लाख रुपैयाँले घर बनाएको र घर बनाउँदा रकम अपुग भएपछि ऋण लिएको ५÷६ लाख रुपैयाँ पनि तिर्नै बाँकी रहेको उनले गुनासो पोखे।

घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका सूचना अधिकारी अशोक पाण्डले भने करणको करार अवधि सकिएकाले थप गर्ने कि नगर्ने विषयमा मुख्यमन्त्री कार्यालयमा पत्रचार गरिएको र तर त्यसको जवाफ भने आइ नसकेको बताए । साभार annapurnapost.com

Back to top