×

 

वीरगन्ज २१ फागुन । भारतमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् ।

कोरोनभाइरसको संक्रमितको सङ्ख्या बढेपछि भारतले इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ३ वा सोभन्दा अगाडि दिइएका सबै भिसा रद्द गरेको छ भने नयाँ भिसा दिन बन्द गरेको छ ।

अब सबै अन्तर्राष्ट्रिय यात्रुहरुले विमानस्थलमा आफूले यात्राको स्थान, सम्पर्क विवरण लगायत फारम भर्नुपर्नेछ ।कोरोनभाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको कार्यक्रममा सहभागी नहुने बताइसकेका छन् ।

यता कोरोनाभाइरसबाट जोगिन बिरगंजमा पनि सरोकारवालहरुले आग्रह र जनचेतना कार्यक्रमहरु गर्न थालेका छन । कोरोनाभाइरस नियन्त्रणबारे वृहत छलफल भएको छ । बैठकले पर्सा जिल्लामा भाईरस नियन्त्रण गर्न उच्च सर्तकता अपनाउन निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकार वाला निकायको बैठकले सिमा नाकामा उच्च सतर्कता अपनाउनुका साथै जिल्लामा ठुला मेला महत्सव गर्ने अनुमती नदिने निर्णय गरेको छ ।

बैठकले ठुलो संख्यामा भिडभाड हुने कार्यक्रम गर्न नहुने , होलीको अवसरमा जमघट हुनेगरि सार्वजनिक कार्यक्रमहरु गर्न नदिने, नेपाल भारतको मुख्य सिमा नाका शंकराचार्य गेट नजिकै राखिएको हेल्प डेस्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लगायतका निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।

जिल्ला भरिका सरकारी तथा निजी अस्पतालहरुलाई कोरोना संक्रमणको आशंका देखिने विरामीलाई छुटै वार्डमा राखि उपचार गर्न सकिने व्यवस्था मिलाउन स्थानिय प्रशासनले निर्देशन समेत दिएको छ । कोरोनाबाट बच्न चेतना मुलक तथा बचावका उपाएबारे विभिन्न सुचना तथा जानकारी प्रवाह गर्ने जिल्लाका स्थानिय तहलाई आग्रह गरिने निर्णय भएको हो ।

बैठकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बीरगन्ज महानगरका निमित कार्यकारी अधिकृत अरुण महतो , पर्सा प्रहरी उपरिक्षक गंगा पन्त , सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवर , स्वास्थ निरिक्षक अधिकृत जयमोद ठाकुर , लगायतको उपस्थिती रहेको थियो ।

Back to top