नेपालसँग जोडिएको सबै नाका बन्द गर्न सांसदहरुको माग

1483

वीरगञ्ज, फागुन १९ – प्रतिनिधिसभाका सांसदहरुले नेपालसँग जोडिएका सबै नाका बन्द गर्न सरकार सँग माग गरेका छन् । शोमवार बसेको प्रतिनिधिसभाको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले कोरोना भाईरसको संक्रमण बढेपछि नेपालसँग जोडिएका सबै नाकाहरु बन्द गर्न माग गरेका हुन् ।

विश्वभर त्रासका रुपमा फैलिएको कोरोना भाइरसबारे नेपालले पर्याप्त सतर्कता अपनाउन नसकेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।


सांसद उमा रेग्मीले कोरोनाबारे सरकारले सतर्कता अपनाउन चासो नदेखाएको भन्दै डरलाग्दो रुपमा देखिएको यो प्रभावबाट बच्न सतर्कता नअपनाएको बताइन् । उनले भारतसँग जोडिएका नाकाहरुबाट निर्वाध आवतजावत भइरहेको भन्दै सरकारले यसलाई सम्बेदनशील रुपमा लिएर नाकाहरु बन्द गन सुझाव दिइन् । उनले अरु देशले नाका बन्द गरिसकेको अवस्थामा नेपाललाई पनि नाका बन्द गर्न कुनै अप्ठेरो नपर्ने धारणा राखिन् ।

त्यस्तै, तुलसा थापाले विश्व स्वास्थ्य संगठनले नेपाल समेत उच्च जोखिममा रहेको भन्दै यस्तो अवस्थामा नेपालमा कोरोना छिर्यो भने भयावह हुन सक्ने चेतावनी दिइन् । उनले रोकथाम गर्न र विदेशबाट आउने यात्रुलाई हेल्थ डेक्स स्थापना गरेर नागरिकको ज्यान बचाउन आग्रह गरिन् ।

सांसद कृष्णभक्त पोखरेलले कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको भन्दै विश्वमा ९० हजार मानिस यो रोगबाट प्रभावित भएको ३ हजारको मृत्यु भएको भन्दै सबै उपाय अवलम्बन गर्न आग्रह गरेका छन् । सांसद छक्कबहादुर लामाले तातोपानी नाका र रसुवाबाहेक अन्य नाकामा क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै हाल हिउँलेमात्र क्वारेन्टाइनको काम गरेको बताए । उनले हिउँ बिलाएपछि समस्या आउने भन्दै ती स्थानमा क्वारेनटाइनको व्यवस्था गर्न माग गरे ।