×

वीरगन्ज १४ फागुन । खोटाङ बाह्रपोखरी गापा–२ सुन्तलेकी २८ वर्षीया राधा थापा (नाम परिवर्तन) र २९ वर्षीय अशोक कुमार (नाम परिवर्तन) लाई माइती नेपालका सीमा पहरेदारले मंगलबार वीरगन्जस्थित सीमाबाट उद्धार गरे । इटहरीका सुनिल प्रधानले भारतमा मासिक भारु २५ हजार तलब पाइने जागिर लगाइदिने प्रलोभन दिएपछि उनीहरू भारतको खुसीनगर जान रक्सौल नाका पुगेका थिए ।

भारतको ‘अरेन्ज नेटवर्किङ’ कम्पनीमा राम्रो जागिरको प्रलोभनमा भारत जाँदा जोखिममा पर्ने सम्भावना देखेर माइती नेपालले दुवैलाई जिल्ला प्रहरी कार्यालयमा बुझायो । प्रहरीले उनीहरूका आफन्त बोलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाएको छ । फागुन २ गते पनि माइती नेपालले नेटवर्किङ कम्पनीमा काम गर्न भनी हिँडेका तीन जनाको उद्धार गरेको थियो । तीमध्ये मोरङका दुई र नुवाकोटका एक जना थिए ।

चालु फरवरी महिनामा मात्र यो नाकाबाट भारतीय नेटवर्किङ कम्पनीमा रोजगारीका लागि भनी जाँदै गरेका आधा दर्जनको उद्धार गरिएको माइती नेपाल आवधिक गृहकी प्रमुख संगीता पुरीले बताइन् । भारतीय नेटवर्किङ कम्पनीहरूले आकर्षक कमाइको प्रलोभन दिएर दुई वर्षयता नेपाली युवायुवतीबाट मोटो रकम ठग्ने गरिरहेको उनले जानकारी दिइन् । ‘यो समस्या दैनिक बढ्दो छ,’ उनले भनिन्, ‘नेटवर्किङ व्यवसायबारे थाहा नभई लहलहैमा असुरक्षित रुपमा भारत जाने गरेका छन् ।’ जोखिमपूर्ण रुपमा चेलीबेटीहरू भारत जाने भएकाले यो राष्ट्रिय स्तरकै समस्या भइसकेको उनले बताइन् ।

उक्त गृहले सन् २०१९ मा वीरगन्ज नाका हुँदै नेटवर्किङ व्यवसायमा संलग्न हुन भनी भारत जाँदै गरेका २६ जनाको उद्धार गरेको थियो । तीमध्ये आधा दर्जन पुरुष र बाँकी महिला थिए । दलालमार्फत अधिकांश चेलीहरू भारत जाने र दलालीमा अधिकांश महिला नै संलग्न हुने गरेका छन् । टाठाबाठा महिलाहरू तथा विगतमा आफै नेटवर्किङ व्यवसायमा संलग्न भइसकेकाहरूले सोझासाझा चेलीहरूलाई ‘पैसाले पैसा तान्छ’ भन्दै नेटवर्किङ व्यवसायमा लाग्न उत्प्रेरित गर्ने गरेको पुरीले बताइन् । उनका अनुसार लगानी गरेको रकमभन्दा १० गुणा बढीसम्म आम्दानीको प्रलोभन दिने गरिएको छ ।

सोझासाझा महिलासँग ५० देखि ६० हजार भारुसम्म लिने गरेको पाइएको छ । वीरगन्ज नाकाबाट विशेषगरी भारत बनारसको आइकोन र गोरखपुरको बिडी नेटवर्किङ कम्पनी जाने नेपाली धेरै छन् । ती कम्पनीमा पूर्वी नेपालका विराटनगर, झापा, धनकुटा, संखुवासभा, धरान, इटहरी क्षेत्रका महिलाहरू बढी जाने गरेका छन् । यसरी जानेमा विगतमा अधिकांश दलित, जनजाति र सामान्य साक्षर युवायुवती मात्र थिए । पछिल्लो समय शिक्षित युवायुवती पनि दलालको पासोमा परेर जोखिमपूर्ण रुपमा भारत जाने गरेको माइती नेपालले जानकारी दिएको छ । नेपालबाट भारत जाने चेलीबेटीहरू असुरक्षित हुने सम्भावना रहेको पुरीले बताइन् ।

जिल्ला प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रबहादुर शाहीले नेटवर्किङ कम्पनीमा जागिर पाउने आशमा भारत जान लागेका थुप्रै युवायुवतीको उद्धार गरिरहेको बताए । तर भारतका नेटवर्किङ कम्पनीहरुको जालो नेपालसम्मै फैलिएको हुन सक्ने उनको भनाइ छ । सोही कारण विभिन्न कम्पनीको नेपालभित्रको गतिविधिमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘मुख्य व्यक्तिसम्म पुग्न मात्र बाँकी छ,’ उनले भने, ‘केही दिनमै यस्तो गैरकानुनी काममा संलग्नलाई समात्छौं ।’ साभार कान्तिपुर दाैनिक

Back to top