प्रदेश २ अध्यात्मको राजधानी हो : मनिष झा

56

 

० नेपाल भ्रमण वर्ष किन आयोजना गरिएको हो ?

— कुनै पनि देशमा राजनीतिक, भौगोलिक वा संवैधानिक परिवर्तन आयो भने त्यो देशले कुनै न कुनै किसिमको ठूलो अभियान चलाउने, उत्सव र महोत्सव आयोजना गर्ने गर्दछ । जसले गर्दा त्यो देशको नयाँ ब्रान्ड र इमेज निर्माण हुन्छ । आफ्नो ल्याकत र सान्दर्भिकताअनुसार सबै देशले अभियानहरू आयोजना गर्ने गर्दछन् । नेपालको सन्दर्भमा यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन पनि हो । पर्यटन व्यवसाय हाम्रो लागि एकदमै ठूलो स्रोत हो । किनकि दुई ठूलो देशको बीचमा रहेकोले उत्पादनमा हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसैले सेवा प्रवाहमा हाम्रो लागि पर्यटन ठूलो सम्भावना बोकेको छ ।



० भ्रमण वर्षका लागि अहिले उपयुक्त समय हो त ?

— हामी राजनीतिकरूपमा पुनःसंरचनामा गएका छौं । यो देखाउनका लागि हामी फरक भएका छौं । माओवादी जनयुद्ध वा दरबार हत्याकाण्ड वा बन्द हड्तालको कहरबाट निस्केर पर्यटनको सम्भावना बोकेको देश पनि हो भनेर देखाउनका लागि अन्तर्राष्ट्रिय आकर्षण गर्न सक्ने अभियान हामीलाई आवश्यक थियो । त्यो क्रममा पर्यटन प्रमोशन देखाउन हाम्रो लागि नेपाल भ्रमण वर्ष हो ।

० पर्यटन नै किन ?

— उत्पादन र अन्य कुराहरू हाम्रो लागि उपयुक्त हुँदैन । विश्वमा नेपाललाई फरकरूपमा चिनाउनका लागि पर्यटन एकदमै सान्दर्भिक क्षेत्र हो । जसले गर्दा हामीले पर्यटनलाई छान्यौं । हाम्रो सातवटै प्रदेशको आआफ्नै आधुनिक पहिचान छन् । कुनैमा बजारको सम्भावना छ, कुनैमा प्राकृतिक सम्पदाहरू छन् । प्रदेश २ को हकमा अध्यात्म छ । त्यसरी नै सबै प्रदेशहरूले आआफ्नो महत्व रहेको छ । स्थानीय जनताहरूले पनि आआफ्नो महत्व बुझोस्, सम्भावनाहरू महसुस गरोस् भनेर यो अभियान सञ्चालन गरिएको हो ।

० पर्यटन वर्षको लक्ष्य २० लाख विदेशी पर्यटक भित्र्याउने रहेको छ, यसका चुनौतीहरू के–के देख्नुहुन्छ ?

— हरेक प्रदेशको आआफ्नो पहिचान र लक्ष्यहरू छन् । यो सन्दर्भमा सबै प्रदेशका लागि २० लाख पर्यटक सान्दर्भिक नहुन सक्छ । २० लाख पर्यटक भित्र्याउने मानकहरू के–केमा केन्द्रित गर्ने, कसरी यो सम्भव हुन्छ भनेर हेर्दा भारत, चीन र अन्य मुलुकहरू छन् । सबभन्दा बढी पर्यटक आउने भनेको भारत, चीन, अमेरिका, युरोपियनलगायत छन् । ती देशहरूबाट केके कुरामा अपेक्षा गरेर पर्यटकहरू आउने गर्दछन् त भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने हो । म प्रदेश २ को संयोजकको रूपमा हेर्दा संख्याभन्दा पनि बसाईको अवधि र प्रतिदिन गर्ने खर्चमा बढी ध्यान दिनुपर्छ ।4

० सरकारको २० लाखको लक्ष्य बाराको महागढीमाई मेला एक्लै पूरा गरेको छ । भारतबाट आउने पर्यटकहरूलाई सरकारले किन गन्दैन भन्ने गुनासोहरू पनि छन् ?

— यो एकदमै जायज गुनासो हो र यसमा मेरो पनि ऐक्यबद्धता छ । किनभने भारतीय स्थलमार्गबाट आउनेलाई पर्यटकको रूपमा नगनिनु तर त्यहीं भारतीय त्रिभुवन विमानस्थलबाट आउँदा पर्यटकको रूपमा गनिनु एकदम अचम्मको विषय छ । मैले योभन्दा अगाडिको पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारज्यूसँग बोर्ड मिटिङ्गमै यो कुरा उठाएको थिएँ । पञ्च वर्षीय महागढीमाई मेला, राम नवमी, सलहेश पुजामा आउने पर्यटकहरूलाई मान्ने हो भने हामीसँग पहिला नै १० लाख वैधानिक पर्यटक छन् ।

० तर, हामीसँग संख्या मात्रै ठूलो चुनौती हो कि अन्य कुराहरू पनि छन् ?

— हाम्रो लागि संख्या ठूलो चुनौती होइन । म संख्यामा भन्दा व्यावसायिकरूपमा तथ्यांकमा विश्वास गर्छु । विवाहपञ्चमीमा यसपटक तीन लाख बाह्य पर्यटक आएको प्रहरीको तथ्यांक छ । त्यसको आर्थिक योगदान कति भयो त ? त्यो हाम्रो लागि महत्वपूर्ण छ । ती तीन लाख पर्यटक आउँदा हाम्रो लागि आर्थिकरूपमा कति सहयोग पुग्यो ? कति रोजगारी सिर्जना भयो ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । मान्छे आउनु त्यति महत्व राख्दैन, उसँग आउने अर्थतन्त्र, संस्कार र सन्देश हाम्रो लागि महत्वपूर्ण हुन्छ । नेपालको सन्दर्भमा पर्यटक आउँदा प्रति पर्यटक औसतमा १२.४ दिन बस्छ भन्ने तथ्यांक देखाइएको छ । एउटा पर्यटकले गर्ने खर्च ५४ डलर देखाइएको छ । तर, प्रदेश २ को हकमा हेर्दा पर्यटकको बसाइ २.५ दिन र उहाँहरूले गर्ने खर्च १० देखि १२ डलर मात्रै देखिन्छ । त्यसैले हाम्रो चुनौती भनेको बसाईको अवधि र उसले गर्ने खर्च नै हो ।

० प्रदेश २ मा पर्यटकको बसाईको अवधि र उसले गर्ने खर्च बढाउनका लागि के गर्न सकिन्छ ?

— अहिले जनकपुरको उदाहरण लिऔं । जनकपुर भनेको जानकी मन्दिरलाई लिन्छौं । मान्छेहरू आउँछन्, जानकी मन्दिरमा दर्शन गर्छन् र फर्कन्छन् । पर्यटक आउने र दर्शन गरेर फर्कने सोचलाई हामीले परिवर्तन गर्नुपर्छ । त्यसैले हामीले जानकी सर्किट बनाउनुपर्छ । जनकपुरमा आएका पर्यटकले जानकी मन्दिरको दर्शन गरेर मात्र जाने होइन, धनुषवानको अंश रहेको धनुषाधाम पनि जाने, राम र सीताको विवाह भएको भनिमण्डप पनि जाने । यसरी ग¥यो भने उसको बसाई अवधि बढ्छ । हामीले अब गर्नुपर्ने काम त्यो हो । त्यसका लागि आवश्यक जानकारी महत्वपूर्ण हुन्छ । जस्तै, जानकी मन्दिरको बारेमा धेरैलाई थाहा छ तर राम र जानकीको विवाह कहाँ भएको हो भन्ने कुरा धेरैलाई थाहा छैन । जानकी मन्दिरसँग विवाहमण्डप जोडिएकोले त्यसलाई सोच्छन्, तर त्यो त होइन । त्यहाँबाट पाँच किलोमिटर टाढा मनिमण्डप हो । यो विषयमा अहिलेसम्म पनि हामीले पर्यटकलाई बुझाउन सकेका छैनौं । जब हामी एक अर्को स्थानसँग जोड्न थाल्छौं भने पर्यटकको बसाई अवधि बढ्छ, उसले गर्ने खर्च बढ्छ ।

० पर्यटनलाई अर्थतन्त्रसँग जोड्न तपाइँहरूको पहल के छ ?

— सबभन्दा पहिला यहाँका स्थानीय जनता र प्रतिनिधिहरूको सोचमा परिवर्तन ल्याउन सक्नुपर्छ । पर्यटन पनि हाम्रो अर्थतन्त्रको अंश हुनसक्छ, पर्यटनले पनि रोजगारी सिर्जना गर्न सक्छ भन्ने सोच पैदा गर्न जरूरी छ । हामीले तीन तहमा रणनीतिक योजना बनाएर काम गर्दैछौं । हामीले प्रदेश ५ मा के छ, गण्डकीमा के छ, १ मा के छ भनेर अवलोकन गर्दैछौं । वैदेशिक पर्यटकलाई भित्र्याउने लक्ष्यका साथ हामीले रणनीतिकरूपमा काम गरेकै छैनौं । किनभने मैथिलीमा एउटा कहावत छ, ‘जब तक अहाँ के अपने घरके अवस्था मालुम नै छ तहन पाहुन के बजा कऽ कि करबै’ । अर्थात् तपाइँलाई आफ्नै घर परिवारको अवस्था थाहा छैन भने पाहुनालाई बोलाएर के गर्ने, के जानकारी दिने । त्यसले हाम्रो पहिलो तीन महिनाको योजना के छ भने प्रदेशमा के छ, त्यसको अस्तित्वको परिभाषा के हो, इतिहास के हो त्यो कुराको जानकारी पहिला प्रदेशवासीलाई हुनुपर्छ । जबसम्म जानकी सर्किटको बारेमा जनकपुरकै मान्छेलाई थाहा हुँदैन भने हामीले विदेशीलाई मात्रै ल्याएर हुँदैन । त्यसकारण प्रदेशमा रहेका कुराको जानकारी पहिला प्रदेशवासीलाई हुनुपर्छ, त्यसपछि पूरा देशवासीलाई हुनुपर्छ । प्रदेश र देशमा सबै कुराको जानकारी भएपछि बल्ल विदेशमा लक्ष्य गर्ने हो ।

० भनेपछि, तपाइँहरूले यसमा काम गरिरहनु भएको छ ?

— जति सजिलै हुनुपर्ने हो त्यति सजिलै भइरहेको छैन । अभियानको तीनवटा पाटो हुन्छ । प्रशासनिक, प्राविधिक र व्यावहारिक । यी तीनवटा पाटोमध्ये सबभन्दा अप्ठ्यारो प्रशासनिक नै हो । हामीलाई राजनीतिक र सामाजिकरूपमा हुनुपर्ने सहयोग भइरहेको छ । यसको कारण के हो भने यो अभियानको घोषणा संघीय सरकारले ग¥यो, हामीलाई नियुक्ति दियो, प्रादेशिक कमिटी बनाइदियो तर हामीलाई कार्यविधि दिएन । म कसरी काम गर्छु, मेरो पदको वैधानिकता वा व्यवस्थापन के हो, कार्यविधि के हो भन्ने कुरा लिखितरूपमा नदिँदा मैले प्रदेश सरकारसँग गर्ने सहकार्य प्रशासनिकरूपमा कठिनाइ भइरहेको छ । मुख्यमन्त्रीजीले हामीलाई सहयोग गरिरहनुभएको छ, उहाँ अभिभावकको रूपमा हुनुहुन्छ तर कर्मचारीको हकमा उहाँहरूले लिखित कागज बुझ्नुहुन्छ । र कानूनले पनि त्यहीं नै बुझ्छ ।

० प्रदेश २ मा भएका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरू ओझेलमा पर्नुको कारण के देख्नुहुन्छ ?

— हाम्रा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू ओझेलमा पर्नुको कारण सरकार मात्रै होइन, स्थानीय पनि हो । उदाहरणका लागि पर्सा जिल्लामा पारसनाथ मन्दिर छ । पारसनाथ मन्दिर जैन धर्मावलम्बीहरूको मुख्य धाम हो । त्यर्ही पारसनाथ मन्दिरको नामबाट पर्सा जिल्ला नामाकरण हुन गएको हो । यो कुराको जानकारी कति स्थानीयलाई छ यो कुरा बुझ्नुपर्छ । म पद सम्हालेदेखि यो एउटा ठूलो कमजोरीको रूपमा पायौं । पहिला हामीसँग भएका कुराको जानकारी हामीलाई नै छैन । यस्तै, सप्तरी जिल्लाको मधुवन गाउँपालिका वडा नं. ६ मा बनसखण्डी भन्ने ठाउँ छ । जहाँ गुरूनानक आएर बसेको विश्वास छ । गुरूनानक आएर बसेको ठाउँलाई हामीले शिख धर्मावलम्बीहरूमा यो कुरा प्रचार गर्न सक्यौं भने जिल्लाको त्यो इकोनोमिक टर्निङ्ग प्वाइन्ट हुनसक्छ । यी कुराहरू जबसम्म स्थानीयरूपमा मान्छेहरू सुसूचित हुँदैनन् तबसम्म हामीले सरकारलाई दोष दिन मिल्दैन । अहिले हामी प्रदेशका आठवटै जिल्लामा पाँच–पाँच वटा पर्यटकीय सम्भावना भएको ठाउँहरूको तालिका बनाएका छौं । त्यसको प्रचार प्रसार गर्ने तयारीमा छौं । पहिला आफैमा के क्षमता छ, मेरो महत्व के हो भन्ने कुरा औंल्याउनु आवश्यक छ । हामीले प्रदेश २ अध्यात्मकको राजधानी हो भनेर ब्रान्डिङ्ग गरिरहेका छौं । प्रदेश २ मा एउटा मात्रै धर्म होइन कि सबै धर्म अटाउने, सबै धर्मको सम्भावना बोकेको हो ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)