×

 

वीरगन्ज १२ फागुन । लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको महाधिवेशन नजिकिदै गर्दा यसको नेतृत्व जाने व्यक्तिहरुको बारेमा चर्चा शुरु हुन थालेसँगै यो बर्ष अत्यधिक चर्चामा रहेका हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्नुपर्ने आवाज उठ्न शुरु भएको छ।

श्रमिजीवी तथा व्यवसायिक पत्रकारहरुको प्रतिनिधित्व गर्ने शिवाकोटीलाई अधिकांश सदस्यहरूले अध्यक्ष बनाउनु पर्नेमा चर्चा समेत गर्न थालेका छ्न् ।

युनियनका वर्तमान महासचिव रहेका शिवाकोटीले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरण र पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रीन्टिङ प्रेस खरिदमा कमिसनको डिल गर्दै गरेको अडियो सार्वजनिक गरेसँगै उनीहरु पदमुक्त भएका थिए । यी दुबै प्रकरणमा शिवाकोटीले देखाएको साहसको युनियनका सदस्य पत्रकारहरुले प्रशंसा समेत गरेका छ्न्।

अध्यक्षका आकांक्षी रहेका शिवाकोटी यतिबेला देशभरका युनियनका प्रतिनिधिहरूसँग छलफलमा रहँदा युनियनको राजनीतिमा प्रभाव राख्नेहरुले पनि पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको युनियनका एक पूर्व पदाधिकारीले बताए । स्रोतका अनुसार सर्वसम्मत अध्यक्ष सहितको कार्यसमिति बनाउने प्रयासमा केहि प्रभावशालीहरू लागेका छन् । सर्वसम्मत बन्न बहालवाला अध्यक्ष बद्री सिग्देल लागिपरेपनि माहौल शिवाकोटीको पक्षमा देखिन थालेको बिश्लेषण हुन थालेको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकोले कांग्रेसका बहुसंख्यक नेताहरु पनि शिवाकोटीलाई अध्यक्ष बनाएर टीम बनाउने छलफलमा जुट्न थालेको युनियनका एक केन्द्रीय सदस्यले बताए।

आगामी चैत २१ र २२ गते युनियनको महाधिवेशन हुँदैछ। महाधिवेशनमा शिवाकोटी सहित वर्तमान अध्यक्ष बद्री सिग्देल र अर्का बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, शिव लम्साल, सन्तोष न्यौपाने अध्यक्षको आकांक्षी रहेका छ्न् ।

आफ्नो पेशाप्रती पूर्ण प्रतिबद्ध रहँदै ठूला ठूला अपराध र अनियमितताको घटना सार्वजनिक गरेका शिवाकोटीले भने सुरक्षा चुनौतीका कारण सोचेजस्तो सकृय भइ देश दौडाहामा निस्कन नसकेको उनी निकटहरूले बताएका छन्।

पूर्ण बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीका उच्चनेता संलग्न रहेका अपराध र अनियमितता सार्वजनिक गरेर चर्चामा आएका शिवाकोटी विगत २२ बर्षदेखि पत्रकारितामा सकृय छन् ।

Back to top