नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको असर – शीतल महतो

99


 

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि नेपाली अर्थतन्त्रमा त्यसको वहुआयामिक असर पर्ने भएको छ । नेपाल भ्रमण वर्ष– २०२० मा ५ लाख चिनियाँ पर्यटक भिœयाउने सरकारको महŒवाकाङ्क्षी लक्ष्यमा यसले गम्भीर असर पार्ने निश्चित छ । कोरोना सङ्क्रमणकै कारण नेपाल–चीन उडान गरिरहेका अधिकतर हवाई सेवाले उडान स्थगित अथवा कटौती गरेका छन् । विभिन्न पाँच चिनियाँ हवाई सेवाले नेपालमा दैनिक १४ उडान गर्दै आइरहेका थिए भने चीनका विभिन्न पाँच शहरमा नेपालको हिमालय वायुसेवाले उडान गरिरहेको थियो । अहिले भएका सीमित उडानमा अत्यन्त कम सङ्ख्यामा चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् ।


नेपालको पर्यटनका लागि दोस्रो ठूलो स्रोत बजार मानिएको चीनबाट पर्यटक आगमन शून्य भएकोले अहिले पर्यटन क्षेत्रमा असर परिसकेको छ । कुल गार्हस्थ्य उत्पादनमा करीब ३ प्रतिशतभन्दा बढी योगदान दिएको यो क्षेत्र यसरी नै समस्याग्रस्त रह्यो भने अर्थतन्त्रमा नै असर पार्ने निश्चित छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या १ लाख ६९ हजार ५ सय ४३ थियो । नेपाल भ्रमण गर्ने पर्यटकमा सबैभन्दा धेरै खर्च गर्नेमा चिनियाँ नै पर्छन् ।

नेपाल राष्ट्र बंैकले सन् २०१० मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर ८० अमेरिकी डलर खर्च गर्छन् । तर अन्य देशका पर्यटकले ४३ डलर मात्र खर्च गर्छन् । चिनियाँ पर्यटक अन्य देशका पर्यटकजस्तो लामो समय बस्दैनन् । सरदर १० दिन बसेको मान्ने हो भने गत वर्ष चिनियाँ पर्यटकले नेपालमा १६ लाख ९५ हजार ४ सय ३० दिन बिताएका छन् । दैनिक ८० डलरले गणना गर्दा उनीहरूबाट मात्र गत वर्ष नेपालले १३ करोड ५६ लाख ३४ हजार ४ सय अमेरिकी डलर आम्दानी गरेको छ । यो तथ्याङ्क सन् २०१० का आधारमा निकालिएको हो । यो दस वर्षमा चिनियाँ नागरिकको क्रयशक्ति दुई गुणा बढेको छ । उनीहरूको नेपाल–बसाइ पनि लम्बिन थालेको छ ।

भारतबाट आउने पर्यटक धेरै भए पनि चिनियाँको तुलनामा ती नगण्य खर्च गर्छन् । उल्लिखित तथ्याङ्कलाई आधार मान्दा नेपालको पर्यटन उद्योगका लागि चिनियाँ पर्यटक मेरुदण्ड हुन् । तर भ्रमण वर्षको शुरूमैं देखिएका नकारात्मक प्रभावले नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई दीर्घकालीन असर पर्ने सम्भावना प्रबल छ । नेपाल आउने चिनियाँ पर्यटक घट्नु, लगानीमा उत्साह नदेखिनु, नेपाल र चीनबीच व्यापारमा प्रभाव पर्नु आदि कारणले नेपालको अर्थतन्त्र खुम्चिने सम्भावना बढेको छ ।

नेपालको पर्यटन बजार अफ–सिजनमा पनि चिनियाँ पर्यटकले धानेका थिए । सधैं चिनियाँ पर्यटकको भीड देखिने काठमाडौंको ठमेल र पोखराको लेकसाइट सुनसान हुन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण आगामी मार्च र अप्रिलमा हुने चिनियाँ सरकारी भ्रमण पनि स्थगन भइसकेका छन् । त्यस्तै चीनमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमाना बन्द गरिंदा नेपाली व्यापारीका ३ सयभन्दा बढी कन्टेनर सीमापारि रोकिएका छन् ।

यही कारण बजारमा लसुनको मूल्य आकाशिएको छ भने चिनियाँ पर्यटक आगमन शून्य बराबर हुँदा होटल क्षेत्रसमेत प्रभावित भएका छन् । यसरी नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार, सबैभन्दा धेरै विदेशी लगानीकर्ता भएको मुलुक र दोस्रो ठूलो पर्यटन बजारमा आएको सङ्कट नेपालको अर्थतन्त्रका लागि चुनौती र केही मात्रामा नयाँ अवसर खोजी गर्ने समय पनि हो । पहिलो प्रभाव त नेपालका ठूला आयोजनाहरूमा परिसकेको छ ।

चिनियाँ लगानीका २ दर्जनभन्दा बढी परियोजना अहिले ठप्प छन् । कतिपयले कामदार नै ल्याउन पाएका छैनन् भने कतिपयलाई स्वास्थ्यका कारण नेपाल सरकारले सतर्कताका लागि चिनियाँहरूलाई यहाँ आउन नै अवरोध खडा गरिदिएको छ । चिनियाँ लगानीकर्ता र ठेकेदारले निर्माण गरिरहेका करीब दुई दर्जन योजनाको काम कोरोना भाइरसका कारण प्रभावित भएका छन् । नयाँ वर्ष मनाउन घर (चीन) गएका चिनियाँ कामदार काममा नफर्कंदा पूर्वाधार आयोजनामा असर परेको हो । त्यस्तै आयोजनाहरूले चीनबाट थप कामदार एवं उपकरण पनि ल्याउन पाएका छैनन् ।

चीनतर्फका दुवै नाका बन्द गरिएको छ । यो समस्याका कारण धादिङमा चिनियाँ लगानीमा निर्माण भइरहेको हुवसिन सिमेन्ट, भैरहवा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, माथिल्लो त्रिशूली बीलगायत करीब आधा दर्जन विद्युत् आयोजनाको काम प्रभावित भएको छ । रसुवामा बनिरहेको सुक्खा बन्दरगाह पनि प्रभावित बनेको छ । माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाका ६५ चिनियाँ कामदार अझै फर्केका छैनन् ।

त्यस्तै, मेलम्ची र माथिल्लो तामाकोशीका कामदार पनि चीनमैं रोकिएका छन् । तनहुँ जलविद्युत् आयोजनामा थप कामदार आउनुपर्ने, रोकिएका छन् । यसबाहेक सुपर न्यादी जलविद्युत् आयोजनामा पनि कामदार फर्केका छैनन् । बिपिसी न्यादी, मस्र्याङ्दी, दोर्दीलगायत जलविद्युत् आयोजनामा पनि चिनियाँ कामदारका कारण प्रभाव परेको छ । रसुवागढी, मध्यभोटेकोशी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।

नेपालबाट चीनतर्फ हुने निर्यातको अंश त्यति धेरै छैन । तर, नेपालमा आयात हुने वस्तु र तिनको परिमाण निकै धेरै छ । नेपालमा चिनियाँ वस्तुको विकल्प तत्काल त्यति सहज नभए पनि सङ्क्रमण लम्बिंदै गए अन्य देशबाट वस्तु आयातको सम्भावना देखिन्छ । यसले नेपालको व्यापार चक्रको स्थानान्तरण हुने सम्भावना पनि छ । भारत र चीनसँग अत्यधिक व्यापार हुने गरेकोमा नयाँ क्षेत्र प्रवेश हुने मौका पनि हुन सक्छ, चीनको अहिलेको सङ्कट । यद्यपि यस्तो सम्भावना तत्कालै शुरू भइहाल्न भने देखिंदैन । यसबाट नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने हो र तिनको सामना कसरी गर्ने हो अनि त्यसको विकल्प के खोज्न सकिन्छ भन्नेमा सरकारले गम्भीर अध्ययन गर्न ढिला गर्नुहुँदैन ।

कोरोना भाइरसका कारण नेपाल र चीनबीच व्यापारिक आयात–निर्यात वर्षको शुरूमैं प्रभावित भएको छ । चीनको तिब्बतबाट नेपाल हुँदै दक्षिण एशियाको बजार शिथिल हुँदै गएको छ । नाकाहरू बन्द गरिएकाले छोटो समयमैं पनि ठूलो घाटा लाग्ने देखिन्छ । तिब्बतले नेपालतर्फको व्यापारलाई उसको अन्तर्राष्ट्रिय कारोबारको सबैभन्दा ठूलो गन्तव्यका रूपमा लिंदै आएको छ । तिब्बततर्फ निर्यात हुन नपाउँदा नेपाली अर्थतन्त्रमा पनि नकारात्मक असर पर्नेछ ।

हुनत नेपालको अर्थतन्त्र चीनभन्दा भारतमैं बढी निर्भर छ । नेपाल पूर्व तयारीका हिसाबले कमजोर हुनु र भारतसँग सीमा पनि खुला हुनुले यो अझ धेरै चिन्ताको विषय बन्न पुगेको छ । दक्षिण एशियामा पहिलोपटक नेपालमा कोरोनाको सङ्क्रमण भेटिएको थियो भने हाल भारतमा पनि भित्रिएको आशङ्का छ । खुला सीमाका कारण सहजै कोरोना भाइरस आउन सक्छ ।

यसले यतापट्टिको व्यापार पनि कालान्तरमा प्रभावित नहोला भन्न सकिन्न । भारतमात्र होइन, यसै वर्षदेखि चीनसँग यातायात तथा पारवहन प्रोटोकल कार्यान्वयनको गतिमा पनि शिथिलता देखिने छाँटकाँट छ । जनवरी दोस्रो साता काठमाडौंमा वाणिज्य मन्त्रालयले चीनका चार समुद्री बन्दरगाह, तीन सुक्खा बन्दरगाह र छ स्थलनाका प्रयोग गर्न पाउने सहमति कार्यान्वयनमा आएको जनाएको थियो ।

तर यसको व्यावहारिक कार्यान्वयनको पाटोका लागि तात्नुपर्ने व्यापारिक वर्ग कोरोनाका कारण सेलाएको अवस्था छ । अतः नेपालले कोरोनाजन्य अनेक सम्भाव्य क्षतिबाट जोगिन यथोचित कदम चाल्न ढिलो गर्नुहुँदैन ।