×

 

वीरगन्ज ९ फागुन । वीरगञ्ज-ठोरी सडकमा पर्ने तिलावे पुलको निर्माण कार्य सुचारु नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । तिलावे पूल हुँदै ८० प्रतिशत पर्सेली सर्वसाधारण आवागमन गरिरहेकाले उनीहरू पूलको घण्टौ जाममा फस्नु परेको दुखेसो गरेका छन् ।

पर्सा जिल्लाको वीरगञ्ज र ग्रामीण भेग जोडिने तिलावे पुल निर्माणको कार्य सुचारु नहुँदा पर्सेली सर्वसाधारणले दुःख झेल्नु परेकाे उनीहरूकाे भनाइ छ । आजभोलि गरी ४ वर्ष बितिसके पनि पुल निर्माणको कार्य सुचारु हुन सकेको छैन । पूल निर्माणको जिम्मेबारी लिएका ठेकेदार कम्पनी लगायत स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले चासो नदेखाउँदा पुल अलपत्र परेको सरोकारवालाले बताएका छन् ।

ग्रामीण क्षेत्रबाट ८० प्रतिशत सर्वसाधारण कामको विषयमा वीरगञ्ज आउने जाने गरेपनि तिलावे पुलको जाममा फस्ने गरेको यात्री बताउँछन् । नेपालको मुख्य नाकाको रुपमा चिनिने वीरगञ्ज जोडिने तिलावे पुल निर्माणको कार्य अधुरो रहेको मुख्य कारण हालको सरकार रहेको यात्रीहरुले आरोप लगाएका छन् । पुलमा जाम भएपछि दुईदेखि तीन घण्टासम्म जाम हुने गरेको सर्वसाधारणको भनाइ छ ।

पूल निर्माणको ठेक्का लिएका पप्पु कन्स्ट्रक्सनले काम गर्न नसकेपछि पप्पु लुम्बिनी जेभीले कार्य अगाडि बढाउने हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगञ्जले जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगञ्जका योजना प्रमुख दीपेन्द्र पाण्डेयका अनुसार पप्पु कन्स्ट्रक्सनले काम गर्न असफल भएपछि उनकै पार्टर लुम्बिनी जेभीले कार्यलाई अगाडि बढाइरहेको बताए । योजना प्रमुख पाण्डेयले ठेकेदार कम्पनीले फउण्डेशन र डाइभर्सनको कार्य गरिरहेको र आज भोलिमा डण्डीफर्माको काम अगाडि बढाउने बताउनुभयो ।

७ करोड ७१ लाख ७३ हजार ठेक्का रकम रहेको तिलावे पुलको काम अहिलेसम्म निर्माण हुन नसक्दा स्थानीय तथा यात्रीहरुलाई सास्ती खेप्नु परिरहेको छ । साभार janatasamachar.com

Back to top