×

 

वीरगन्ज ६ फागुन । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ ।दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ ।

यो सूचनापछि परोक्ष रूपमा नेपाल–भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएका छन् । ‘नागरिकतामा एराइभल वा डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यसबारेको रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ,’ अध्यागमन विभागका एक अधिकारीले भने ।

दिल्लीस्थित उपनियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार, ‘दिल्ली आउने नेपाली यात्रुको पासपोर्टमा इन्ट्री परमिट देखियो भने मात्रै भारतीय अध्यागमनले एक्जिट–परमिट दिने नियम अनिवार्य’ भएको छ । ‘यो नियमको व्यवस्था हाम्रो अन्तरसरकारी समन्वयमार्फत परराष्ट्रले भारतलाई गरेको अनुरोध बमोजिम हो, यसकारण यो व्यवस्थामा पारस्परिक समान हैसियतको व्यवहार (रेसिप्रोकिसिटी) आवश्यक रहन्न,’ रेग्मीले भने । आवागमनमा यो ‘असमान प्रबन्ध’ लागू भएको अवस्थामा पशुपति दर्शनमा स्थलमार्गबाट आएका भारतीयले भने काठमाडौंबाट विमान चढेर सहजै दिल्ली उत्रन पाउनेछन् ।

दूतावासले जारी गरेको सूचनामा ‘नेपाल–भारतबीच रहेको खुला सिमानाका कारण नेपालीहरूलाई स्थलमार्गबाट भारत प्रवेश गर्न सहज रहेको सर्वविदितै रहेको’ भनिए पनि ‘स्थलमार्ग हुँदै भारत आएर तेस्रो मुलुक उड्न खोज्दा समस्या आइपर्ने भएकाले काठमाडौंबाटै उडान भर्न’ आग्रह गरिएको छ । तर सूचनामा भनिएजस्तो तेस्रो मुलुक उड्न खोज्दा मात्रै नभएर विशेष परिस्थितिमा सडकमार्गबाट दिल्ली गएर विमानबाट काठमाडौं फर्कन चाहने नेपाली यात्रु पनि ‘उडान प्रतिबन्धित’ स्थितिमा पुगेका छन् ।

‘दुई महिनाअघि पेटको क्यान्सरको सम्भावना देखिएपछि मैले बस सेवाबाट आमालाई राजीव गान्धी क्यान्सर हस्पिटल ल्याएको थिएँ,’ पोखराका राजकुमार श्रेष्ठले दिल्लीबाट फोनमा भने, ‘अहिले डाइग्नोसिस भएर पुष्टि भएको छ । एक चरणमा किमो दिएपछि आगामी साता काठमाडौंसम्म नेपाल एयरलाइन्सबाट जाने योजना थियो तर यसरी ‘इन्ट्री परमिट’ नभई र नागरिकताका भरमा उडेर काठमाडौं जान मिल्दैन भनेर एयरलाइन्सले भन्यो । अब नेपाल–भारत खुला सीमा र सहज आवागमनको कुरा मेरोजस्तो कठिनाइमा कसरी लागू हुन सक्ला ?’

यात्रुलाई आवागमनमा आइपर्ने एकाध समस्याप्रति दूतावास जानकार रहे पनि ‘अवैध आवागमन रोक्न र दिल्ली हुँदै भइरहेको मानव तस्करीको सूचनामा कडाइ गर्न’ समेत नेपाली यात्रुले केही असहज स्थिति बेहोर्नुपर्ने अधिकारीको भनाइ छ । यसैगरी, खाडीका साउदी अरेबिया, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, कतार, बहराइन र मध्यपूर्वका सिरिया, इराक तथा पश्चिम एसियाको लेवनानका हकमा दिल्ली हुँदै उड्न चाहने नेपाली श्रमिकले श्रम स्वीकृति र दिल्लीस्थित दूतावासको ‘नो अब्जेक्सन लेटर’ अनिवार्य चाहिने नियम लागू भएको छ । ‘बाँकी देशका हकमा भने काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै यात्रुले उडेको हुनुपर्ने नियम तय भएको छ,’ रेग्मीले भने ।

‘कोही काठमाडौंबाट उडेर आएर अथवा बाहिरी मुलुकबाट आएर दिल्ली–ट्रान्जिटमा रहेको छ भने यसमा समस्या रहन्न,’ उनले भने, ‘तर एयरपोर्टबाट बाहिर निस्केर फेरि ‘इन्ट्री’ खोजिएमा उडान अनुमति नहुन सक्छ ।’ नेपाल सरकार स्वयंले आफ्ना नागरिकलाई ‘भारत हँॅदै तेस्रो देशमा उड्न नदिनू’ भनेर दिएको निर्देशनलाई अफ्रिकाको तान्जानियास्थित गैरआवासीय नेपाली अगुवा हिक्मत थापाले ‘अनावश्यक र अनुपयुक्त’ भनेर टिप्पणी गरेका छन् । उनका अनुसार अफ्रिकी मुलुकमा कामका लागि आउने दर्जनौं नेपाली श्रमिकले सस्तो टिकट मूल्य र प्रत्यक्ष उडान सुविधाका कारण दिल्ली नाकालाई रोज्ने गरेका हुन् । ‘एक त दूतावासले सहजै नो अब्जेक्सन लेटर दिने गरेको छैन,’ उनले भने, ‘अर्कातिर, दिल्ली हुँदै काठमाडौं फर्कन चाहने नेपाली श्रमिकले पनि अनाहकको कठिनाइ बेहोर्नुपर्ने स्थिति देखिएको छ ।’

द्विदेशीय खुला आवागमनको सुविधामा काठमाडौं, पोखरा, भरतपुर, बुटवल, नेपालगन्जसहितका सहरबाट दिल्ली, लखनउ, पन्जाबसम्म दर्जनभन्दा बढी बस सेवा सञ्चालनमा छन् । काँकडभिट्टा, पशुपतिनगर, विराटनगर, वीरगन्ज, बेलहिया, सुनौली, जमुनाहा, मोहना र गड्डाचौकीमा नेपाल–भारत दुवैतर्फ अध्यागमनका शाखा युनिट रहे पनि द्विदेशीय आवागमनमा कहींकतै पनि ‘इन्ट्री’ वा ‘एक्जिट’ छाप लगाइने गरेको छैन । कुनै घुमफिर वा धार्मिक यात्रामा भारत जाने नेपालीले घर फर्कंदा भने दिल्ली–काठमाडौं, बनारस–काठमाडौं, कोलकाता–काठमाडौं आदि उडानको उपयोग गर्दै आएका छन् तर अहिले तय भएको आवागमन प्रबन्धबाट यसरी नेपाली यात्रुले हवाई सेवामा ‘डिपार्चर स्टाम्प’ नभई घर फर्कन नपाउने भएका छन् । बस सेवाबाट दिल्ली वा भारतीय सहरमा यात्रु ओसार्ने बस सञ्चालकहरूलाई बोलाएर दिल्लीस्थित नेपाली दूतावासले सोमबार अपराह्न ‘आफूले ल्याएका यात्रुलाई हवाई सेवाबाट घर फर्कन नसकिने जानकारी दिन’ निर्देशित गरेको थियो ।

‘खुला सीमा र सहज आवागमनका नाममा नेपाली सर्वसाधारणले विगतमा अनौपचारिक तहमा दुःख–हैरानी बेहोर्दै आएका थिए,’ भारतीय सहरमा नेपाली श्रमिकको अवस्थितिबारे जेएनयूबाट विद्यावारिधि गर्ने विज्ञ केशव बस्यालले भने, ‘अब भने सरकारी तोक आदेशबाट औपचारिक तहमा दुःख बेहोर्ने अवस्था आएको छ । सामान्य नागरिक अधिकार र आवागमनको स्वतन्त्र पहुँचअनुसार पनि अहिले लागू भएको प्रबन्ध निन्दनीय छ ।’

एक महिनाअघि मात्रै बुद्ध एयरको बनारस–काठमाडौं उडान भर्ने क्रममा केही यात्रुलाई बनारस अध्यागमनले उडान अनुमति दिएको थिएन । यसैगरी, थिम्पु–दिल्ली–काठमाडौं उडान भर्ने ड्रुक एयरबाट दिल्ली ट्रान्जिट हुँदै काठमाडौं आउन चाहने यात्रुलाई पनि दिल्ली विमानस्थलले उडान अनुमति दिएको थिएन ।

‘खुला सीमा तथा सहज आवागमनको व्यवस्था रहिआएको भुजडित अवस्थामा आफ्नो स्थिति र अवस्था हेरेर जोकोहीले द्विदेशीय स्थल वा हवाईमार्गबाट सहजै आवागमन गर्न पाउनैपर्छ,’ डा.बस्यालले भने, ‘मानव तस्करी नियन्त्रण वा अवैध आवागमनमा निगरानी राख्ने नाममा नेपाल सरकार, दूतावास स्वयंले यसरी आफ्ना नागरिकलाई ‘निषेधित’ अवस्थामा राखेको स्थिति मानवअधिकारका दृष्टिमा पनि नमिल्दो देखिन्छ ।’

दिल्लीस्थित दूतावासका अनुसार हवाई उडान अथवा स्थलमार्गबाट दैनिक कति नेपाली भारत जान्छन् वा कति फर्कन्छन् भन्ने आधिकारिक तथ्यांक कहींकतै छैन । अध्यागमन विभागमा पनि यसबारे ‘अद्यावधिक तथ्यांक’ छैन । साभार ekantipur.com

Back to top