×

 

वीरगन्ज ५ फागुन । आइतबार बिहान आगो ताप्दा जलेर शख्त घाइते सायरा खातुनको उपचारमा समस्या भएको छ। पर्साको छिपहरमाई गाउँपालिका-५ की सायरा आफैँले बालेको आगोको घुर ताप्ने क्रममा जलेर शख्त घाइते भएकी हुन्।

उनको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको नारायणी अस्पतालका चिकित्सकले बताए। मध्य तराईमा दुई दिनदेखि बिहान–बिहान लागेको हुस्सुले चिसो बढेको छ। सोही क्रममा जिलको छिपहरमाई गाउँपालिकाकी सायराले आगो ताप्न घुर बाल्दा शरिरमा आगो सल्किएको उनका श्रीमान रजाक मियाले बताए।

'आर्थिक अभावका कारण बिहान साढे आठ बजेतिर जलेकी श्रीमतीलाई दुईघण्टा बित्दासम्म पनि अस्पताल लान सकिनँ' मियाँले रुदै भने 'अलि पछि गाउँमा हल्ला हुँदा स्थानीय ताराचन्द पण्डित आएर उहाँले नै पहल गरिदिनु भयो।' त्यसपछि नारायणी अस्पतालमा ल्याइपुर्‍याएको उनको भनाइ छ। 'चार वर्षदेखि बिरामी पनि थिई।

त्यसैले जिउमा सल्केको आगो निभाउन र भाग्न पनि सकिनछ' सायराका श्रीमान मियाँले भने। आर्थिक अभावमा आगोले जलेर घाइते गाउँकी सायरालाई अस्पताल लान समस्या भएको थाहा पाएपछि आफूले छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तासँग पहल गरी एम्बुलेन्स व्यवस्था गरेर अस्पतालसम्म ल्याएको स्थानीय समाजसेवीसमेत रहेका पण्डितले बताए।

साढे आठ बजेतिर जलेकी सायरालाई एम्बुलेन्स व्यवस्था गरेर वीरगन्जको नारायणी अस्पताल पुर्‍याउँदा करीब १२ बजेको उनको भनाइ थियो। 'आफूसँग भएको केही पैसा पनि खर्च गरेँ। मसँग पनि अब पैसा छैन । एचए पढिरहेका यहि काम गर्ने विद्यार्थीले चन्दा उठाएर थप केही औषधिको व्यवस्था हुँदैछ' उनले भने। शरीरको आधाभाग जलिकी सायराको उपचार सुरु भए पनि त्यसले निरन्तरता पाउनेमा समस्या भएको उनको भनाइ छ।

Back to top