हुन्डी कारोबारी कन्हैया सोनार जोगाउन लाखौ रकमको चलखेल, पसल भने खुल्यो, चारजना जेल चलान, कन्हैया सोनार अहिले पनि फरार

879

 

वीरगन्ज ५ फागुन । वीरगंज, माईस्थानस्थित सुनचाँदी पसल केपी स्वर्णकला केन्द्र सञ्चालक कन्हैया सोनारलाई जोगाउन लाखौ रकमको चलखेल भइरहेको बुझिन आएको छ ।


वीरगंज, माईस्थानस्थित सुनचाँदी पसल केपी स्वर्णकलामाथि पर्सा जिल्ला अदालतमा चलिरहेको हुन्डी मुद्दालाई रफादफा गर्न र सञ्चालक कन्हैया सोनारलाई जोगाउन चलखेल भइरहेको बुझिन आएको छ तर कन्हैया सोनार अहिले पनि फरार रहेका छन ।

अदालतमा मुद्दा चलिरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय, पर्साले स्टक लिन दुई साता अघि सिल गरिएको सुनचाँदी पसल खोलेर सबै कागजात नियन्त्रणमा लिई स्टक हेरिरहेको छ । कर अधिकृत सरोज सिंहका अनुसार अदालतको काम कारबाई आफनो हिसाबले चलिरहेको छ तर अवैध सुनचाँदी खरीद बिक्री भएको हो–होइन त्यति बेला पक्राउ परेको रु ४२ लाख वास्तवमा हुन्डीकै हो कि भन्ने विषयमा प्रतिवेदन तयार पार्ने काम भइरहेको बताए ।

यदि अन्डर बिलिङ आयो भने ठीक छ, ओभर बिलिङ भएको रहेछ भने अपराध ठहर गर्दै आवश्यक दण्ड, जरिवाना गर्ने उनले बताए । सिल खोलेपछि पसलका सञ्चालक कन्हैया सोनारकी पत्नी लक्ष्मीदेवीले अहिले पसल सञ्चालन गरिरहेको कन्हैयाका ससुरा रामनारायण सोनारले बताए । रामनारायणले पसल कसरी खुल्यो भन्ने प्रश्नमा भने–“मुद्दाको सबै केस रफादफा भइसक्यो, अब सामान बेच्दैछौ ।” ज्वाइँ कन्हैया कहिले आउँछन् भन्ने प्रश्नमा उनले अहिले उपचारको क्रममा भारतमा रहेको बताए । तर श्रोत्रका अनुसार कन्हैया रक्सौलमा लुकिबसिरहेका छन ।

पर्साका तत्कालीन प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको सक्रियतामा पूर्वसूचनाको आधारमा गत असार ९ गते छापामारी गरी सुनचाँदी पसलबाट रु ४२ लाख नगद, २ किलो चाँदीसहित नेपाल–भारतका गरी सातजनालाई हुन्डी कारोबारमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । यसै सन्दर्भमा पर्सा प्रहरीले पर्सा जिल्ला अदालतमा हुन्डी मुद्दा दायर गरेको छ ।
प्रहरीले रु १ अर्ब २८ करोड ४३ लाख ३९ हजारको अवैध हुन्डी तथा चाँदी कारोबार भएको भन्दै मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि पर्सा जिल्ला अदालतको प्रारम्भिक आदेशमा पक्राउ परेका सातजनामध्ये तीनजना कारीगरको संलग्नता नदेखिएकोले उनीहरू धरौटीमा रिहा भइसकेका छन् भने चारजना अहिलेसम्म पुर्पक्षको लागि जेल चलान भएका छन् । रौतहट, चन्द्रपुर–७ बस्ने राजकपुर साह, भारत, बिहार मोतिहारीका सुनील साह र गुलाब साह तथा वीरगंज–६ का राकेश सिंह गरी चारजना अहिले पनि प्रहरी हिरासतमा छन् ।