×

वीरगंज, फाल्गुन १ - नेपाल आंशिक प्राध्यापक संघ परिवार ठाकुराम बहुमुखी क्याम्पस एकाई समितिले एक सुत्रिय माग राख्दै अनिश्चितकालिन धर्ना शुरु गरेको छ ।

विगत १३-१४ वर्ष देखि क्याम्पसमा कार्यरत प्राध्यापकहरुलाई करारमा नियुक्ति दिन, बाँकी रहेको पारिश्रमिक भुक्तानीको माग राख्दै आंशिक प्राध्यापकहरु धर्नामा बसेका हुन् । माघ २९ गतेदेखि तीनै सिफ्टको कक्षा बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका प्रधायापकहरुले बिहीबारदेखि क्याम्पसमा धर्ना सुरु गरेका छन् ।

धर्नामा बसेका प्राध्यापकहरुको कारण क्याम्पसको पठनपाठन समेत ठप्प भएको छ । संघका अध्यक्ष तेजनारायण प्रसाद यादबको नेतृत्वमा धर्ना बसेका ३३ प्राध्यापकहरुको करारमा नियुक्ति नभए सम्म संघर्ष जारि रहने संघका सचिब मुक्तराज भुषालले बताउनुभयो । विगत १३-१४ वर्षदेखी अध्यापन गराउँदै आएपनि आंशिक प्राध्यापकहरुले हाल सम्म नियमित पारीश्रमिक समेत नपाएको भुषालको गुनासो छ ।

अहिलेको विज्ञान र प्रविधिको युगमा पनि यसरी बौद्धिक श्रम शोषण गर्नु आफैमा लाजमर्दाे विषय भएको आंशिक प्राध्यापक रुदल ठाकुर बताउनुहुन्छ । विगतका दिनमा पनि थुप्रै आन्दोल र धर्ना गरेतापनि कुनै सुनुवाई नभएको ठाकुरको भनाई छ ।

आंशिक प्राध्यापकको आन्दोलनका कारण अध्ययन र अध्यापन समेत ठप्प भएको नेपाल विद्यार्थि संघ ठाकुराम बहुमुखी क्याम्पस इसकाई समितिका उपाध्यक्ष मुनराज तिवारले बताउनुभयो । त्यसैगरी राष्ट्रिय विद्यार्थि संघ पर्साका अध्यक्ष मधुसुदन चौरसियाले स्थाई प्राध्यापक भन्दा पनि आंशिक प्राध्यापकले लिने कक्षा धेरै भएको कारण पनि पठनपाठन प्रभावित भएको बताउनुभयो ।

यस समस्याको समाधानमा क्याम्पस प्रशासनले यथाशिघ्र कदम चालेर पठनपाठनलाई सुचारु गर्नुपर्ने माग विद्यार्थिहरुको छ । यता सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ताले भने करार गर्ने अधिकार त्रिभुवन विश्वविद्यालयलाई भएको हुँदा उहाँहरुको समस्या रजिष्टारलाई जानकारी गराइसकेकोले आंशिक प्राध्यापकहरुको मागको सुनुवाई हुन्छ की हुदैन भनेर आफुले भन्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।

Back to top