×

वीरगंज, माघ २९ - डेढ दशकमा वीरगंज सुक्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढेको छ । सन् २००४ मा ५३ करोड रुपैयाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा २ अर्ब ४० लाख रुपैयाँ राखेर आह्वान गरिएको छ ।

ठेक्काका लागि पाँचओटा भारतीय कम्पनीले आवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का उपनिर्देशक हरेकृष्ण मिश्रले बताए । मिश्रका अनुसार अहिले ती कम्पनीको प्रस्ताव अध्ययन भइरहेको छ ।

भारतीय रेलवेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड (कोन्कर) पनि यस पटक प्रतिस्पर्धा गरेको छ । अहिले यो बन्दरगाह कोन्करको ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सञ्चालन गरिरहेको छ । यो कम्पनीले सन् २००४ देखि बन्दरगाह सञ्चालन गर्दै आएको छ ।

यसपटक आदानी लजिस्टिक्स लिमिटेड, प्रिस्टाइन लजिस्टिक्स, जेएम बक्सी समूह र अपना लजिस्टिक सोलुसन–जगदम्बा जेभीले पनि टेन्डर हालेको एनआईटीडीबीले बताएको छ । ‘अहिले प्रतिस्पर्धी कम्पनीको प्रस्ताव अध्ययनको प्रक्रियामा छौं । ठेक्काको टुंगो सकभर चाँडो लगाउँछौं,’ मूल्यांकन समितिका संयोजकसमेत रहेका मिश्रले आर्थिक अभियानसित भने ।

एनआईटीडीबीको कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाइका कारण ठेक्का प्रक्रिया ढिला शुरू भएको थियो । ठेक्का प्रक्रियामा ढिलाइ भएपछि हिमालयन टर्मिनललाई ६ महीनाको समय थपिएको छ ।

शुरूको ५ वर्ष घाटामा चलेको बन्दरगाहले त्यसयता निरन्तर नाफा गरिरहेको एनआईटीडीबीले बताएको छ । बढ्दो नाफालाई ध्यानमा राखेर आगामी ५ वर्षका लागि आह्वान गरिएको ठेक्काको न्यूनतम रकम २ अर्ब रुपैयाँभन्दा बढी राखिएको बताइएको छ ।

शुरुआती वर्ष सन् २००४ को तुलनामा अहिले बन्दरगाहको व्यवसाय १० गुणा बढिसकेको तथ्यांकले देखाउँछ ।

बन्दरगाहको कारोबार ह्वात्तै बढे पनि त्यसको व्यवस्थापनका लागि पूर्वाधार विस्तारमा ध्यान नदिइएको नेपाल उद्योग वाणिज्य महासंघ स्थल यातायात तथा पारवहन समितिका संयोजक अशोकुमार टेमानी बताउँछन् । ‘बन्दरगाहमा कन्टेनरको चाप बढेको बढ्यै छ । तर, व्यापारको तुलनामा पूर्वाधार बढ्न सकेन । अब सञ्चालनको जिम्मा लिनेले यसमा ध्यान पुर्‍याउनैपर्छ,’ टेमानीको सुझाव छ । शुरू वर्ष सन् २००४ मा सुक्खा बन्दरगाह हुँदै ८५ र्‍याक मालसामान भित्रिएको थियो । बितेको वर्ष यो संख्या ८ सय ६४ पुगेको हिमालयन टर्मिनलको तथ्यांक छ । सन् २०१९ मा तेस्रो मुलुकबाट नेपालका लागि कुल १ लाख ७ हजार कन्टेनर आएकोमा त्योमध्ये करीब ६५ प्रतिशत सुक्खा बन्दरगाहबाट भित्रिएको थियो । भारतका विभिन्न स्थानबाट समेत औद्योगिक कच्चा पदार्थ बन्दरगाहमा आइपुग्छन् ।

एनआईटीडीबीले पूर्वाधार विस्तार गरिरहेको मिश्रले दाबी गरे । गोदाम र सेड थपिइसकेको र कन्टेनर यार्ड विस्तारको काम चाँडै अघि बढाइने उनले बताए । कन्टेनर व्यवस्थापनका लागि रिच स्टेकर थप्ने र सञ्चालनको जिम्मा लिने नयाँ ठेकेदारसँग पनि प्रस्ताव मागिने एनआईटीडीबीको योजना छ ।

Back to top