विकास योजना लिएर सांसद रौनियार घरदैलोमा

522


 

वीरगञ्ज, २५ माघ ।  पर्सा क्षेत्र नं. ३ का सांसद हरिनारायण रौनियार विकास योजना लिएर आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत घरदैलोमा पुगेका छन् ।

सत्तासीन राजनीतिको षड्यन्त्रको शिकार भए पनि निर्वाचनताका जनतासमक्ष गरेको बाचाअनुसार सांसद रौनियारले विकासका योजनाहरु लिएर आफ्नो क्षेत्रमा पुगेका हुन् ।



रौनियारको पहलमा संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पर्सा क्षेत्र नम्बर ३ का दुई सडक योजनाका लागि २० करोड रुपैयाँ निकासा दिएको छ ।

सो योजना कार्यान्वनयका लागि सडक विभागका अधिकारीहरुको टोली लिएर सांसद रौनियारले क्षेत्रमा पुगेका छन् । पर्साको रामनगरीदेखि श्रीपुर पचगवा रंगपुर टाँडी र बहुअअर्वा विश्रामपुर बहुअरीसम्मको लागि सो रकम निकासा भएको पर्सा ३ का सांसद रौनियारले जानकारी दिनुभयो ।

रामनगरीदखि श्रीपुर पचगवा रंगपुरटाँडीसम्मको वहुवर्षीय योजनाअन्तर्गतको १२ किलोमीटर सडक निर्माणका लागि १० करोड र बहुअर्वादेखि विश्रामपुर डकैला बहुअरीसम्म १० करोड रुपैयाँ रकम निकासा दिने भएको हो ।

सांसद रौनियारको पहलमा आएको यो रकम यसै आर्थिक वर्षको असार मसान्तभित्र खर्च भइसक्ने योजना राखिएको छ ।

सडकको ठेक्का प्रक्रिया यही माघ महीनाभित्र अघि बढिसक्ने र असार मसान्तमा दुवै सडक योजनाका लागि छुट्याइएको रकम खर्च गरिसक्ने योजना मन्त्रालयको छ । यो वर्ष पूरा हुन नसकेको सडक वहुवर्षीय योजनाको रुपमा आगामी वर्षमा अघि बढाइने बताइएको छ ।

योजना कार्यान्वयनका लागि सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुमन योगेशलगायतका सरकारी अधिकारीहरुको टोलीले स्थलगत अवलोकन गरेको छ ।

यसअघि पनि सांसद रौनियारको पहलमा पोखरिया नगरपालिकालाई व्यवस्थित सहरको रुपमा विकास गर्ने उद्देश्यअनुसार सडक, स्वास्थ्य, शिक्षालगायतका विभिन्न योजनाका लागि बजेट निकासा गरिएको थियो ।

समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका रौनियारले सो अवसरमा आफ्ना कार्यकर्ताहरुसित पनि भेटघाट गर्नुभएको थियो ।