पर्साको ऐतिहासिक पारसनाथ मन्दिरको जग्गामा जमाए दलाल र स्थानीयले कब्जा

1102

 

वीरगन्ज १६ माघ । पर्सा- हेर्दा निक्कै पुरानो देखिन्छ मन्दिरको बनावट र आकारहरु। मन्दिरका भित्ताहरु कतै भत्किएका छन् भने कतै पुरानो भित्तालाई नयाँ पर्खाल लगाएर त्यसमा मन्दिरको पुन:निर्माण गरिएको छ।


यो सखुवा प्रसौनी गाउँपालिकामा रहेका ऐतिहासिक पारसनाथ मन्दिर हो। तर सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर-३ महुवन टोलमा रहेको यो पारसनाथ मन्दिरको २ सय बिगाहा जग्गा दिनप्रतिदिन अतिक्रमित दलालको चंगुलमा परेर स्थानीयहरुले अतिक्रमण गर्दै आएका छन्।

सरकारले नेपाल भ्रमण वर्ष २०२० को पर्यटकीय गन्तव्‍य स्थलको रुपमा घोषणा गरे पनि यहाँको पारसनाथ मन्दिरको नाममा रहेको जग्गा भने दलालहरुको दलदलमा फसेको मन्दिरका पुजारी रविन्द्र मिश्र बताउँछन्।

उनी भन्छन्, ‘यो पाँचसय वर्ष पुरानो मन्दिर हो। यो मन्दिरको जग्‍गा करिब २ सय बिगाहा थियो। तर हाल आएर उक्त जग्गाहरु व्‍यापक रुपमा अतिक्रमण गरेर स्थानीयबासीहरुले ठूलो-ठूलो घर टहरा बनाइसकेका छन्।’

उनले करिब २९ बिगाहा जग्गा मात्र मन्दिरको नाममा रहेको भएपनि सो मध्ये थुप्रै जग्गाहरु स्थानीयबासीले अतिक्रमण गरि घरटहरा बनाइसकेका पुजारी मिश्रको गुनासो छ।

मिश्रका अनुसार मन्दिरको वरिपरि रहेको जग्गाका साथै थुप्रै खेतहरु पनि थिए।जुन गुठी संस्थानको नाममा थियो।तर पछिल्लो समय जग्गा दलालहरुले नै मिलेर गुठीको जग्गा स्थानीयको नाममा पार्न सफल भएकाले अहिले मन्दिरको जग्गा कम हुँदै गएको छ।

मन्दिरको नाममा खेतीयोग्‍य जग्गामा खेतीपाती गर्नेहरुले पनि मन्दिरको जग्गा आफ्नै नाममा पारिसकेर भोग चलन गर्दै आएका छन्।जसले गर्दा २ सय बिगाहा रहेको मन्दिरको जग्गा अहिले धेरै मानिसहरुको नाममा नम्बरीको रुपमा भइसकेको पूजारी मिश्रको दाबी छ।

यस्तै जग्गा दलालहरुको मिलेमतोमा गुठीको जग्गामा नक्कली मोही खडा गरेर पनि केही ब्यक्तिहरुले जग्गा बेच्न लागेको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदिप जैसवाल बताउँछन्।

उनी भन्छन्, ‘केही जग्गा दलालहरुले नक्कली मोही खडा गर्छन्। उनीहरुले मनलाग्दी यो हाम्रो जग्गा हो भन्दै बेच्ने प्रयासमा छन्।’ जैसवालले झुठो मोहीको कागज देखाउँदै गाउँमा जग्गा बेच्न एउटा समूह नै खडा गरे आतंक फैलाएको भन्‍दै अब यसलाई जोगाउन आफूहरु लागि परेको बताउँछन्।

‘करिब २९ बिगाहामा रहेको मन्दिरको जग्गामा स्थानीयले अतिक्रमण गरि बस्ती बनाएका छन्’,जैसवालले भने,‘अहिले पनि बस्ती भएको जग्गालाई केही नगर्ने तर बाँकी रहेको जग्गालाई चाहि संरक्षण गर्नु पर्छ भन्‍नेतर्फ गाउँपालिका लागेको छ। हामी त्यो कदापि हुन दिँदैनौ।’

पारसनाथ मन्दिरको नाममै थुप्रै खेतीयोग्य जग्गाहरु रहेको र एकत जग्गामा पनि दलालहरुले आफ्नो आँखा लगाउन थालिसकेको जैसवालले बुझाइ छ।आफूले सक्दो त्यहाँ रहेका स्थानीयबासीहरुलाई नहटाउने गरि बाँकी बचेको जति पनि जग्गा र खेतीयोग्य खेतलाई संरक्षण गर्नेतर्फ गाउपालिका लागेको जैसवाल बताउँछन्।

यस्तै मन्दिरमा पहिले पुजा गर्दै आएका महन्थ केशवराज गिरीले २०२१ सालमा जग्गा नापी हुने बेलामा मन्दिरको जग्गा तथा खेती योग्य जग्गाहरुलाई आफ्ना आफन्त र नजिकका आसेपासेको नाममा पारेको जैसवालको आरोप छ।उनले नापी हुने बेलामा मन्दिरको खेतीयोग्य जग्गालाइ आफना नजिकका मानिसहरुले जोत्दै आएको भन्दै उनीहरुको नाममा अंशवण्डा समेत गराएको जैसवालको दाबी छ।

मन्दिरमा रहेको ‘पारस पोखरी’ पनि अतिक्रमित


पारसनाथ मन्दिर नजिकै रहेको पारस पोखरी पनि अतिक्रमणको चपेटामा परेको छ।करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको पारस पोखरी अतिक्रमणको चपेटामा परेपछि खुम्चिदै गएको हो।पारस पोखरी वरिपरी पनि बस्तीहरु बसाइएको छ जसका कारण पोखरी दिनप्रतिदिन झनै फोहोर हुनुका साथै अतिक्रमित हुँदै गएको छ।

यता, स्थानीयबासीहरुले पोखरी वरिपरी चारैतर्फ साना एव ठूला घर टहराहरु निर्माण गरेर जथाभावी बसोबास गरेकोस्थानीय चिरञ्‍जीवी यादव बताउँछन्।

उनी पोखरीतर्फ देखाउँदै भन्छन्, ‘पारस पोखरी पहिले कबिर ५ बिगाहाको थियो। तर अहिले भने स्थानीयले अतिक्रमण गरेर वरिपरि घर बनाइ सकेका छन्। पोखरीको धार्मिक तथा ऐतिहासिकता नै नामेट भइसक्‍यो। यसो अस्तित्व नै मेटिसकियो।’

यादवले ऐतिहासिक पारसनाथ मन्दिरसँगै पोखरी पनि अतिकैमणको चपेटामा परेकोले यसलाई संरक्षण गर्नेतर्फ समबन्धित निकाय लाग्नुपर्ने कुरामा जोड दिए।

यता, गुठी संस्थानले पोखरीको हरेक वर्ष ठेक्का लगाएर आर्थिक लाभ लिदै आएको भएपनि संरक्षण गर्नेतर्फ भने खासै ध्यान नदिएको गाउँपालिका जैसवालको भनाइ छ।‘गुठी संस्थानको नाममा रहेको पारस पोखरीलाई संस्थनाले ठेक्का लगाउने काम मात्रै गरेको छ, जैसवालले भने, ‘तर पोखरीको आवशयक रेखदेख र संरक्षण भने गरेको छैन।’

’उनले आफूले पारस पोखरीको सौन्दर्यकरणको लागि बजेट छुटयाएको जानकारी दिदै प्रदेश र संघीय सरकारसित पनि सहयोग माग गरेको बताए।पोखरीको सौन्दर्यकरणको लागि प्रदेश सरकारबाट ५ करोड बजेट पनि छुटयाइएको तथा उक्त बजेटबाट छिटै काम सञ्चालन हुने तयारीमा आफूहरु रहेका जैसवालले जानकारी दिए।

‘पारस पोखरीको सँरक्षण र सौन्दर्यकरणको लागि गाउपालिकाले पनि बजेट हालेर काम गर्ने सोच बनाएको छ,जैसवालले भने,प्रदेश सरकारबाट पनि ५ करोड पोखरीको सौनदर्यकरणको लागि छुटयाइएको छ।’

यसरी गरिएको थियो मन्दिरको निर्माण


यो मन्दिरको निर्माण वि.स. १६०० सालमै नेपालकै एक राजाले बनाउन लगाएको मन्दिरका पुजारी रबिन्द्र मिश्र भन्छन्।वि.स.१६०० सालमा तत्कालिन जंगल रहेको महुवन गाउँमा जंगलको बिचमा (अहिलेको पारसनाथ मन्दिर रहेको स्थान) भनुनाथ भन्‍ने एक बाबा ध्यान गरेर बसेका थिए।

उनी जंगलको बिचमा ध्यान गरिरहेको बेला त्यसबेला बाइसी चौबिसी राज्यमा रहेको नेपालका राजा मणिमुकुन्द सेन घुम्दा घुम्दै जंगलमा पुगेका थिए।जंगलमा पुगेका राजा सेनले जंगलको बिचमा ध्यानमा बसिरहेका भनुनाथ बाबाको नजिक पुगे।

नजिक पुग्दा बाबा भनुनाथ ध्यान गरिरहेको स्थानमा बाघ समेत रहेको राजा सेनले देखे। त्यस पशचात ध्यानमा रहेका बाबा भनुनाथले राजा मणि मुकुन्द सेनलाई नजिक आउनुस यो बाघले तपाईलाई केही पनि गर्दैन भनेर भने।त्यसपछि राजा बाबाको नजिक गए।बाबाको नजिक गएका राजा मणि मुकुन्द सेन बाबाको ध्यानलाई हेरेर अति प्रसन्न भए।

राजा मुकुन्द सेन खुशी हुदै बाबा भनुनाथलाई एक दिनमा तपाई जति पनि ठाउ घुम्न सकनुहुन्छ त्यति ठाउको जग्गा मन्दिरको लागि दान दिने भनेर भने।त्यसपछि बाबा भनुनाथ एक दिनमै करिब साढे १७ सय बिगाहा घुमेको र ती सबै जग्गा राजा मुकुन्द सेनले पारसनाथ मन्दिरको लागि दिएको मन्दिरका पुजारी मिश्रले बताउँछन ।त्यपछि साढे १७ सय बिगाहा जग्गालाई मन्दिरको जगगाको रुपमा लिइएको पुजारी मिश्र बताउँछन्।

राजाबाट जगगा पाएपछि तीनै बाबा भनुनाथले एतिहासिक पारसनाथ मन्दिर बनाउन लगाएका थिए।साढे १७ सय बिगाहा जग्गा मन्दिरलाई राजाले दान स्वरुप दिएको भएपनि करिब ३० बिगाहामा मात्रै मन्दिर बनेको छ।अरु जग्गामा भने मन्दिरको नाममै त्यस बेला रहेको थियो।मन्दिरमा रहेको त्रिशुल भने अहिले पनि आफनो दिशा बदल्ने गरेको पुजारी मिश्र बताउँछन्।

समय समयमा मन्दिरमा रहेको त्रिशुलले आफनो दिशा आफै परिबर्तन गर्ने गरेको मिश्रको भनाई छ।करिब ५ सय बर्ष पहिले निर्माण गरिएको पारसनाथ मन्दिर परिसरमा स सना साना ६ वटा समाधि रहेका छन ।उक्त समाधि मन्दिरमा पुजा गर्ने पुजारीहरुको रहेको हालका पुजारी मिश्र बताउँछन्।

यस्तै मन्दिर परिसरमै पुजारी तथा अन्य ठाउबाट आउने भक्तजनहरुलाई बस्नको लागि २ तल्ले मठ पनि निर्माण गरिएको थियो।जुन हाल भत्केर जिर्ण भइसकेको छ।

मन्दिरमा रहेको २ तल्ले बिशाल भवन मठको रुपमा मन्दिर बनाउने बेलामा नै बनाइएको पुजारी मिश्रको भनाई छ ।धेरै पुरानो भवन भएकाले उक्त भवन अहिले भत्केको छ।इँटाले बनाइएका मठ भवनको छत पनि ईटा र काठले ढलान गरिएको छ।

ईनारको पानी औषधि !


५ सय बर्ष पहिले पारसनाथ मन्दिरसँगै मन्दिर परिसरमै एउटा ईनारसमेत बनाइएको थियो ।उक्त ईनार मन्दिरजतिकै पुरानो छ । सो ईनार अहिले पनि मन्दिर परिसरमै रहेको छ ।ईनार बनेको बेलामा उक्त ईनारको पानी औषधि झै काम गर्ने गरेको पुजारी मिश्र जिकिर गर्छन्।

ईनारको पानीले घाँटी समबन्धि बिभिन्न रोगहरु सजिलै निको हुने गर्दथ्यो ।पहिले पहिले मानिसहरु घाँटी समबन्धि रोग निको पार्न पनि सोही ईनारको पानी भरेर लिएर जाने गरेको पुजारी मिश्र बताउँछन्।

‘पहिले पहिले यो ईनारको पानी त औषधि नै थियो,मेरै बुवा बाजेले भन्नु हुन्थ्यो,धेरै ठाउमा उपचार गराएपनि निको नहुने घाँटी समबन्धि रोग यस ईनारको पानीले निको हन्थ्यो।

’हाल मन्दिरको पुजारीको रुपमा रहेका मिश्रको बुवा र हजुर बुवा पनि सोही मन्दिरको पुजारी रहि सकेका छन्।पहिले सोही ईनारबाट पुजारीहरुले पानी खाने गरेको भएपनि अहिले भने ईनारको पानीले मन्दिर धुने, नुहाउने जस्ता कार्यहरु गर्ने गरिएको छ ।ईनार पनि जीर्ण अवस्थामा रहेको छ।

मन्दिरकै नामबाट जिल्लाको नामाकरण


पर्साको सखुवा प्रसौनी गाउपालिकाकामा रहेको छ ऐतिहासिक पारसनाथ मन्दिर।सखुवा प्रसौनी गाउपालिका वडा नम्बर ५ महुवन टोलमा रहेको पारसनाथ मन्दिर आज भन्दा करिब ५ सय बर्ष पुरानो मन्दिर हो।

५ शतकअघि निर्माण गरिएको पारसनाथ मन्दिरकै नाममा पर्सा जिल्लाको नामाकरण पनि गरिएको किम्बदन्ती छ।जिल्लाकै सबैभन्दा पुरनो धरोहर पारसनाथ मन्दिर सदरमुकाम बिरगञ्ज भन्दा करिब २५ किलो मिटरको दूरीमा रहेको छ। साभार deshsanchar.com