मधेशका सपुतहरुको बलिदान खेर जाँदैन — उपेन्द्र झा

21

 

राजनीतिलाई फोहोरी खेलको मैदान बनाएपछि त्यहाँ लोक–कल्याणको कार्यभन्दा व्यक्तिगत स्वार्थको प्रधानता हुन्छ । वर्चस्वको लडाईमा सिद्धान्त, कर्तव्यनिष्ठा, इमान्दारिता, सच्चरिय पेपकार आदि सद्गुणको प्रायः लोप हुन्छ र सतहमा अनाचार, अत्याचार, व्याभिचार, बेइमानी, लुटमार, मारकाट आदि अमानवीय गुणहरू देखा पर्दछ । वर्चस्वको राजनीतिमा सबैकुरा जायज भनेर पाशविक प्रवृत्तिले प्रोत्साहन पाएको हुन्छ ।


कुरा फेरी मधेश कै गर्नु पर्ला । “सयकडौं चूहा खाके, बिल्ली चली हज कर्ने” हिन्दी उखान जस्तै मधेशमा उपेन्द्र यादवको क्रान्तिकारी नारा गुञ्जिन थालेको छ । संविधान संशोधन भएन भने ठूलो विस्फोट हुने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गर्जिन थालेको छ । उनको व्यवसाय पनि त्यही भएकोले सत्ताबाहिर आएपछि सरकारलाई धम्काउने थर्काउने र आफ्नो भाग कसरी सुरक्षित हुन्छ, त्यसको लागि प्रयत्नशील रहनु स्वभाविक पनि हो । सरकार पक्षबाट पनि गौर घटनाको विषयमा उपेन्द्र यादव जेल जाने, आर्थिक अनियमिततामा समेत मुछिने आदि भय सृजना गरेर उपेन्द्र यादवलाई नियन्त्रणमा राख्ने प्रयास पनि हुँदैछ ।

षटमुख रहेको राजपा उपेन्द्र यादवको सत्ता बहिर्गमनपछि अनुकूलता हाँसिल गरेको छ । यो अनुकूलता रहला कि नरहला, द्विबिधामा समय खेर फाल्नुभन्दा बेलैमा निर्णय गरेर सरकारमा सामेल हुनु बेस हुने दिग्गजहरूको सोच रहेको र सरकारले पनि राजपालाई सरकारमा सामेल गराउन बाध्यात्मक परिस्थितिका कारण राजपाका सत्तारोहण निश्चित प्राय छ । सरकारले राजपालाई उपेक्षा गरे उपेन्द्र यादवसँग एकता गरि मधेशमा ठूलो उपद्रव मच्चाउन सक्ने प्रबल सम्भावनालाई दृष्टिगत गरि राजपालाई सम्मानपूर्वक सरकारमा सामेल गराउने सम्भावना छ । राजपाको दुईटा माग संविधान संशोधन तथा रेशम चौधरीको रिहाई मध्ये दोश्रो मागलाई सरकारले तत्काल मानेर पहिलोलाई समाजवादीको सम्झौता जस्तै पछि आवश्यक परेको बेला गर्ने भन्ने सहमती बन्ने धेरै सम्भावना छ । रेशम चौधरीलाई रिहाई गराएर सरकारमा जाँदा मधेशको सहानुभूति पनि आर्जन गर्न राजपालाई ठूलो अवसर प्राप्त भएको मानिनेछ । मधेशमा पार्टीको हाईट बढ्नु ठूलो कुरा हो । रेशम चौधरीलाई रिहा गर्नु सरकारको लागि सामान्य विषय हो ।

यदि सरकार आफ्नै अडानमा बसेर राजपालाई सम्मान गरेर सरकारमा सामेल गरेन भने नयाँ वर्ष २०२० राहु प्रधान रहने साल भएकोले सरकार अपठ्यारोमा पर्ने सम्भावना पनि छ । वैकल्पिक शक्ति निर्माणमा लागेका शक्तिहरूले अवसर पाउने र पुनश्च मधेशलाई हल्लाउने उपाय गरे सरकारविरोधी सबै शक्ति ध्रुवीकृत भएर सरकारलाई चुनौती दिन सक्नेछन् । विगतमा सरकारको विरोधमा ध्रुवीकृत भई रहेको शक्तिहरूलाई सीमाविवाद प्रकरणले ती शक्तिहरूलाई तितर वितर पारेर सरकारलाई सुरक्षित अवस्थामा पु¥याएको अनुभव ताजै हुनु पर्छ । त्यसकारण समाजवादी पार्टीसँग राजपाले एकता गर्नुभन्दा पहिले सरकाले राजपालाई सम्मानपूर्वक मित्रशक्ति बनाउन बेस होला । यो अनौंठो कुरा नभई राजपाका शक्तिशाली नेताहरूको मानसिक धारणा हो । अप्ठ्यारो अवस्थामा केपी शर्मा ओलीलाई गुहारेर आफ्नो अस्तित्व बचाउने राजपाका दूरदर्शी नेताहरू उपरोक्त धारणाबाहेक अन्य कुरा सोच्न सक्दैनन् । त्यसकारण यो उपाय सार्वजनिक गरिएको हो । मधेशी जनतालाई झुक्याएर मत लिने र सत्तासँग टाँसेर आर्थिक लाभ लिने अहिलेका नेताहरूको डबल अनुहार मधेशका जनताले राम्ररी बुझेका छन् ।

सरकारमा बसेर समाजवादी अध्यक्ष उपेन्द्र यादवले राजपाका नेताहरूलाई गन्ती मै राखेनन्, न मर्यादापूर्वक आचरण गरे । आज ठीक उल्टो परिस्थिति आईलागेको छ उपेन्द्र यादवलाई । अब वल राजपाको कोर्टमा छ भन्ने कुरा सार्वजनिक गर्दा उनको नीरिहता त्यसै झल्किन्छ । परिस्थिति यसरी बदलेर उनको अहंकार चुर हुन्छ भन्ने कुरा कसैले सोचेको थिएन र परिस्थिति प्रतिकूल भएर रून न हाँस्न अवस्थामा पु¥याएको छ ।

राजपाबिना समाजवादी पार्टीले अधिकार आन्दोलनलाई जगाउन सक्दैन । सडक र सदनमा संघर्ष गर्ने उपेन्द्र यादवको उद्घोष मिथ्या साबित हुने कुरा प्रष्ट छ । सत्तामा हुँदा अधिकार आन्दोलनको कुरा नगरि “संविधान संशोधन गर्न सरकारलाई सघाउन” हामी सरकारमा सामेल भएको कुरा नभएर मानसिक रूपले केपी शर्मा ओली र प्रचण्डको गुलामी स्वीकार गरि संघर्ष गर्नुभन्दा सत्ताबाट फाइदा लिनु बेस, सिद्धान्त बनाएर नै नेकपाको सरकारमा उपेन्द्र यादव सामेल भएको थियो । अधिकारवादी आन्दोलन नेतृत्वविहीन भई सुसुप्रावस्थामा पुगेको कुरा सबैलाई थाहा छ ।
बावुुराम भट्टराईको आकांक्षा सत्ताबाट उपेन्द्र यादवको बहिर्गमनले पूरा गरेको छ । लामो समयदेखि आन्दोलन उठाएर सरकारलाई चुनौती दिएर समचारको हेडलाइन बनी रहने आकांक्षा पालेका बावुुराम भट्टराई आन्दोलनको उर्वर भूमि मधेश नै भएकोले मधेशी धरातलमा आएको हो । बावुराम भट्टराई अनुसार उपेन्द्र यादव बाहिरिएपछि आन्दोलनको ढोका खुलेको हो । उनको अभिव्यक्ति पनि त्यस्तै आएको हो ।

राजपालाई साथ नलिई बावुराम भट्टराईको भरमा उपेन्द्र यादवले अविश्वासमा रहेको अधिकारवादी आन्दोलनलाई संचालन गर्न धेरै कठीन छ । मधेशका सपूतहरूलाई बलिदान गरि मन्त्री पद पाउने खेल मधेशले बुझिसकेको छ । यिनीहरूको गुलामी प्रवृति कै कारण धोका खाएर जनाधार भएका धेरै नेताहरू मेधेशका धरातलबाट पलायन भए । कतिपय राजनीतिक सन्यास लिएर बसे ।

पुनश्चः आन्दोलन उठाउने उपेन्द्र यादवको लालसा त्यसै धरासायी हुने निश्चित त हुँदैछ, मधेश आन्दोलनबाट उदाएको उपेन्द्र यादवको प्रवल भाग्य अस्ताचलमा गएको प्रष्ट छ । कुनै पनि हर्कत उसको लागि प्रत्युत्पादक बन्ने निश्चित छ । आन्दोलनकारी सम्मानका अधिकारी हुन्छन्, अपमानजनक व्यवहार त गुलामका लागि हो । (मधेश दर्पण फिचर सेवा)