×

 

वीरगन्ज १० माघ । वीरगंजकी मारवाडी समुदायकी नुतन सरावगी अहिले समाजिक क्षेत्रमा पूर्ण रुपमा सक्रिय छिन्। ‘वुमन क्रियसन’ संस्थाकी अध्यक्ष समेत रहेकी नुतन वीरगंजमा कपडा बैंक स्थापनादेखि विभिन्न क्षेत्रमा सीपमूलक तालिम पनि सञ्चालन गरी रोजगारी सिर्जना गर्ने दिशामा अघि बढेकी छिन्।

‘वुमन क्रियसन’ जस्तै वीरगंजका अन्य संस्थाका सक्रिय समाजिक अभियन्ताले गठन गरेको फोरजिआर (गुड फर रिजन) समूहले अहिले वीरगंज-१६ ईनार्वाका महिलाहरुलाई कागजको थोंगा बनाउने काम सिकाउन शुरु गरेको छ। नुतनकै अग्रसरतामा वीरगंज भन्सार नजिकै रहेको टोलका २० जना विपन्न परिवारका महिलाहरुलाई थोंगा बनाउने सीप सिकाएर आम्दानी गराई आत्मनिर्भर बनाउने प्रयास भएको छ।

आमाहरुले बनाएको थोंगा देखेर बालबालिका पनि दंग भएका छन्। फुर्सतको समयमा बालबालिकाहरु बाहिर डुल्नु भन्दा कागत च्यात्ने तथा मिलाएर झोलामा राखी दिने जस्ता काममा आमालाई सघाइरहेका छन्।

थोंगा बनाउने कार्यमा विद्यालयको पहुँच भन्दा टाढा रहेका १४ बर्षीया बालिकादेखि लिएर ७० बर्षीय वृद्धा समेत लागि परेको नुतन सुनाउँछिन्।

घरभित्रको काममा मात्र सीमित रहेका ईनार्वा गाउँका महिलाहरु घरमै केही नयाँ काम गरी आम्दानी गर्ने बाटो देखिएपछि हौसिएका छन्। बजारबाट विभिन्न किताब, म्यागेजिन र पुराना पत्रिका संकलन गरी महिलाहरुलाई दिने गरेको र सोबाट बनेको थोंगा बजारमा बेचेर ती महिलाहरुले आम्दानी गराउने काम थालिएको नुतनले बताइन्।

मंसिरको दोस्रो सातादेखि थोंगा बनाउने काम शुरु भएको र १ किलो थोंगा बजारमा ६० रुपैयाका दरले बिक्री भइरहेको जनाइएको छ।

एक जनाले सबै घरको काम गरी दिनको कम्तिमा १ सय पिस थोंगा मज्जाले बनाउन सकिने नुतनले बताइन्। थोंगालाई औषधि पसल, किराना पसल तथा कस्मेटिक पसल लगायतमा बिक्री शुरु गरिएको उनले बताइन्।

प्लास्टिक झोलाको प्रयोग र यसले पर्यावरणमा पार्ने असरलाई कम गर्न अब पर्साको ग्रामिण भेगका महिलाहरुलाई पनि यस प्रकारको थोंगा बनाउने कार्य प्रति जागरुक बनाउने फोरजिआर समुहको योजना छ। वीरगंज महानगरपालिकाले प्लास्टिक मुक्त नगर बनाउन घोषण गरेपछि अहिले बढ्दो प्लास्टिकको प्रयोगलाई नियन्त्रण गर्न चुनौतिको बिषय नै बनेको छ।

ईनार्वाका महिलाहरुको यस्तो कामले प्लास्टिकलाई न्यूनीकरण गर्न गाउँगाउँमा यस्तो सीपमूलक र रोजगारमूलक कार्यक्रम लागू गर्नुपर्ने आवश्यक रहेको समाजिक अभियन्ताहरुको भनाइ छ। साभार pahilopost.com

Back to top