×

 

वीरगन्ज २ माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभाग सिमेन्ट उद्योगमाथी कडाईकासाथ जाई लागेको छ । आफ्नो पटक–पटकको चेतावनीलाई बेवास्ता गरेको भन्दै विभागले यी उद्योगलाई कारवाही गरेको हो ।

सिमेन्टको गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै चार वटा सिमेन्ट उद्योगको इजाजत पत्र, नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) स्थगन गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, आरएमसी सिमेन्ट र हिमालयज सिमेन्टको नेपाल गुणस्तर चिन्ह (एनएस) स्थगन गर्दैै कारबाही गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले पुष्टि गरेका छन् ।

उनले भने, 'समय–समयमा चेतावनी पत्र पठाउँदा पनि बेवास्था गर्ने, विभागका कुरामा ध्यान नदिने, आनाकानी मै कुरा टार्दै आएको कारण स्थगनको कारबाही अगाडी बढाएका हौ ।' उनले थपे, 'अहिले स्थगनको लागि सिमेन्ट उद्योगलाई इजाजत पत्र पठाएको छ यदि पुनपरिक्षण गर्दा अझै तोकिएको मापदण्ड अनुसार भएन भने रद्ध गर्ने प्रक्रियामा अघि बढ्न विभाग तयार रहेको छ ।'

सिमेन्टको गुणस्तर मापदण्डमा पिपिसी सिमेन्टमा एमजीओ ६ प्रतिशत हुनुपर्छ । जुन उद्योगहरु मापदण्ड विपरित जान्छन् त्यस्ता सिमेन्ट उद्योगलाई कानुनी दायरामा ल्याउने महानिर्देशक पुडासैनीले बताए ।

विशाल सिमेन्टको पीपीसी सिमेन्टमा एमजीओ ६ दशमलव ४ प्रतिशत भेटिएको छ । त्यस्तै इन्टरनेशनल सिमेन्टको ओपीसीमा ६ प्रतिशत एमजीओ पाइएको छ । ओपीसीको गुणस्तर मापदण्ड ५ प्रतिशत एमजीओ हुनुपर्छ ।

यसमा इन्स्लोबल रेसिड्यू (आईआर) को मात्रा ३ प्रतिशत हुनुपर्नेमा ४ दशमलब ९ प्रतिशत पाइएको छ । आरएमसी सिमेन्टको ओपीसीमा एमजीओ ७ दशमलव २ प्रतिशत र हिमालयज सिमेन्टको पीपीसीमा आईआर २९ दशमलव ३ प्रतिशत पाइएपछि विभागले गुणस्तर चिन्ह स्थगन गरेको पुडासैनीले बताए ।

विभागले अन्य थप उद्योगहरुमा पनि अनुगमन, छानविन तथा मापदण्ड बमोजिम रहे नरहेको अध्ययन गरिरहेको र अझै थप कम्पनीहरु पनि कारर्बाहीको भागिदार बन्ने देखिएको जानकारी दिए ।

पुडासैनीले थप्दै भने ‘सिमेन्टको गुणस्तर मापदण्ड पूरा नगर्ने अन्य लगभग १५ कम्पनी कारबाहीमा पर्न सक्ने देखिएको छ । हामी छानविन गर्दैछौं ।’ बिगतमा स्पष्टिकरण सोध्ने र उधोगबाट प्रतिवद्दता प्राप्त भएपछी छोड्ने गरिएकोमा अब त्यसो नगरिने उनले बताए । उनले भने, 'अब हरेक कम्पनीको उत्पादन गुणस्तरीय छ या छैन जांच गरिन्छ र यदि त्यस्तो भेटिएमा तुरुन्तै सचेत गराइन्छ । यदि हाम्रो चेतावनीलाई कसैले बेवास्था गरेको पाइएमा हामि हदैसम्मको कारवाहीको लागि तयार छौं ।'

सिमेन्ट उद्योगको नेपाल गुणस्तर प्रमाण चिन्ह स्थगन गरिएको बेला उत्पादन गर्न पाउने छ तर बिक्रि वितरण गर्नमा भने विभागले बन्देज गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले यसअघि पनि गुणस्तरहीन वस्तु उत्पादन गर्ने भनी गत वर्ष बिभागको कारवाहीमा परेका सिमेन्ट उद्योगहरुमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु, गणपति सिमेन्ट प्रालि कपिलवस्तु, होङ्सी सिमेन्ट उद्योग नवलपरासी, अर्घाखाँची सिमेन्ट उद्योग रुपन्देही लगाएतका थिए । यी उद्योगहरुले गुणस्तर मापदण्ड पुरा नगरी उत्पादन गरेको बिभागको भनाई थियो ।

अन्य उद्योगहरुमा सुगम मेनिफेक्चर काठमाडौँ, नवनेपाल प्लाष्टिक उद्योग, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा, गोल्डेन ब्याट्री प्रालि मोरङ लगायतका उद्धाेगहरूलाइसमेत विभागले कारबाही गरिसकेका छन् । यसरी कारबाहीमा परेका उद्योगहरुको ईजाजत पत्र स्थगन र उत्पादित बस्तुहरु बिक्री वितरणमा समेत बन्देज लगाईएको थियो ।

Back to top