भारतमा १ अर्ब डलर लगानी गर्दै एमजन

24

 

नयाँ दिल्ली (भारत) । अमेरिकी ई–कमर्स कम्पनी एमजनले भारतमा १ अर्ब डलर लगानी गर्ने भएको छ । भारत भ्रमणमा रहेका एमजनका सीईओ जेफ बेजोसले बुधवार उक्त लगानीको घोषणा गरेका हुन् । उनी ३ दिने भ्रमणमा भारत आएका हुन् । उनले कम्पनीको विस्तारको लागि  भारत निकै महŒवपूर्ण बजार भएको बताए ।


बेजोसले साना तथा मझौला व्यवसायलाई डिजिटलीकरण गर्दै अनलाइनमा बिक्री तथा सञ्चालन गर्न उक्त रकम लगानी गर्न लागिएको स्पष्ट पारे । उनले २१ औं शताब्दी भारतीय शताब्दी बन्न गइरहेको बताए । भारतमा उनीविरुद्ध ठूलो प्रदर्शनको अपेक्षा गरिएको अवस्थामा उनले मुलुकको लागि महŒवपूर्ण लगानी अघि सारेका हुन् । एमजनको उपस्थितिले भारतको स्थानीय खुद्रा बजारमा नकारात्मक असर परेको भन्दै हजारौं साना व्यापारीले मुलुकभरका ३०० सहरमा बेजोसविरुद्ध प्रदर्शनको तयारी गरेका थिए । एमजनले आफ्नो प्लेटफर्ममा उल्लेख्य छूट दिने गरेको र ठूला व्यापारीलाई मात्र प्रवेश दिने गरेको उनीहरूको आरोप छ । एमजनले भने सबै आरोप अस्वीकार गर्दै आएको छ ।

बेजोसले सन् २०२५ मा एमजनबाट १० अर्ब डलरका भारतीय सामग्री निर्यात हुने विश्वास व्यक्त गरे । यसअघि नै एमजनले भारतमा ५ अर्ब ५० करोड डलर लगानीको प्रतिबद्धता जनाइसकेको छ । भारतको ई–कमर्स क्षेत्रमा अहिले एमजन र फ्लिपकार्टको दबदबा छ । फ्लिकार्ट अमेरिकी रिटेल कम्पनी वालमार्टको शाखा हो । गत वर्ष भारतले ल्याएको नयाँ नियमले विदेशी कम्पनीलाई भारतमा ई–कमर्स व्यवसायका लागि केही रोक लगाएको छ । यसले दुवै कम्पनी केही समस्यामा परेका छन् ।

जनवरीको शुरूमा एसियाका सबैभन्दा धनी तथा भारतीय उद्योगपति मुकेश अम्बानीले भारतमा एमजनलाई चुनौती दिन नयाँ योजना अघि सारेका थिए । उनको रिलायन्स इन्डस्ट्रिजले मानिसलाई आफ्नो ग्रोसरी डेलिभरी सर्भिसमा साइन अप गर्न आग्रह गरिरहेको छ । एजेन्सी