×

 

वीरगन्ज १ माघ । पर्सा जिल्लाका विभिन्न धर्मका गुरु, पण्डित, पुरोहित, पास्टर (पादरी), मौलानालगायतले बालविवाह नगराउने प्रहरीसमक्ष सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पहल संस्थाको संयोजनमा भएको बालविवाह न्यूनीकरण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रममा हिन्दू, मुस्लिम, सिख, इसाई धर्मका गुरुहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको सो कार्यक्रमका संयोजक पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बढ्दो बालविवाह न्यूनीकरणका लागि यस प्रकारको जनचेतनामूलक सन्देश विभिन्न धर्मगुरुहरूको माध्यमबाट सङ्कल्पको रूपमा प्रचारप्रसार हँुदा विभिन्न समुदायमा यसको सकारात्मक प्रभाव पर्ने बताए । साथै कम उमेरमा विवाह नगराउन तथा यस्ता घटनाको जानकारी पाउनेबित्तिकै स्थानीय प्रहरीलाई खबर गरिदिन सबै सहभागीलाई प्रउ राठौरले आग्रह गरेका थिए ।

कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बालबालिकाको सम्बन्धमा बनेको कानून तथा बालविवाहको अवस्थाका बारेमा वार्षिक तथ्याङ्क प्रस्तुत गरेका थिए । नेपालको सन्दर्भमा मुलुकी अपराध संहिता २०७४ मा विवाहको लागि उपयुक्त उमेर २० वर्ष भनी तोकिएको छ ।

नेपालको कानूनले केटाकेटी दुवैको उमेर २० वर्ष नपुगी गरेको विवाहलाई बालविवाह भनी पुष्टि गरेकोले यदि कसैले पनि कम उमेरमा विवाह गरे गराएमा कानूनीरूपमा अपराध ठहरिनेछ र कानून अनुसार दण्ड जरिवाना हुने प्रनाउ थापाले जानकारी गराए । विगतका दिनहरूमा पनि बालविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साले यस वर्ष पनि ग्रामीण भेगमा अभिभावकमुखी कार्यक्रम तथा प्रत्येक पालिकाको समन्वयमा प्रत्येक विद्यालयमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी प्रनाउ थापाले गराए ।

आव २०७५/७६ मा महिला तथा बालबालिका खोजतलाशका १३४ वटा निवेदन दर्ता भएकोमा १०२ जना फेला परेका प्रनाउ थापाले बताए । बढी हराउनेमा बालबालिका तथा महिला रहेका उनले जानकारी गराए । बालबालिकाको अधिकार हनन गरे ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना रहेको छ भने ३ महीनादेखि १५ वर्षसम्म जेलसजाय हुने कानूनी प्रावधान रहेको उनले जानकारी गराए ।

बालविवाह गराएको खण्डमा सो विवाह स्वतः रद्द हुने तथा मन्जुरीविना विवाह तथा बालविवाह गराए दुई वर्षको कैदसजाय र २० हजार रुपैयाँसम्म जरिवाना हुने प्रनाउ थापाले जानकारी गराए । विश्व हिन्दू परिषद् नेपालका पुरुषोत्तम दुबेले सरकारले चालेको कदम सराहनीय रहेको बताउँदै बालविवाह

रोक्न हिन्दू समाज पनि लागिपरेको जानकारी गराए । तर नेपाल सरकारले राखेको २० वर्षको उमेर बढी भएकोले विवाह उमेर १८ वर्ष राख्दा समय अनुसार अभिभावकहरूलाई सहज हुने बताए । दलित समुदायमा बालविवाह बढी हुने भएकाले सो समुदायमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने क्रिस्चियन समाजका राम प्रसादले अवगत गराए ।

धर्मग्रन्थहरूमा कानून अनुसार उचित उमेरमा विवाह गर्नुपर्ने खुलस्त भएपनि शिक्षाको अभावमा अभिभावकहरूमा चेतनाको कमीले छोराछोरीहरूको २० वर्षभन्दा कम उमेरमैं विवाह गरिदिने समस्या यथावत् रहेको धर्मगुरुहरूले जानकारी गराए । हरेक धर्मका गुरुहरूले प्रवचन तथा धार्मिक समारोहमा सर्वसाधारणहरूलाई कम उमेरमा विवाह गर्दाको बेफाइदाका बारेमा जानकारी गराए प्रभावकारी हुने मदर्सा समाजका नुरुलहोदा आलमको भनाइ थियो ।

पहल संस्थाका दिलीपराज कार्कीले सहजीकरण गरेको सो कार्यक्रममा मदर्सा बोर्ड प्रदेश २ का शशिकपूर मियाँँ, क्रिस्चियन समाजका नारायणप्रसाद आचार्य, सिख धर्मगुरु अमरजित सिंह, इन्सेक पर्साका अध्यक्ष केसी लामिछानेलगायत धर्मगुरुहरूको सहभागिता थियो ।

Back to top