शीतलहरका बेला न्यानो र बाढीका बेला खाद्यान्न बाँड्ने, चन्द्रपुरका रिक्साचालक सबैका लागि प्रेरणादायी बने

67


 

वीरगन्ज २८ पुस । मध्य तराईमा पातलो ज्यान भएका एक इरिक्साचालकको समाजसेवा सबैका लागि प्रेरणादायी बनेको छ। देशीविदेशी संघ-संस्थाबाट पाएको पैसाले मौसमी र फाइदाको समाजसेवा गर्नेहरूका लागि चन्द्रनिगहापुरका रिक्साचालकको सामाजिक काम एउटा गतिलो पाठ हुनसक्छ।


कसलाई पो रहर हुन्छ दैनिक १८ घण्टासम्म रिक्साको घुमाउँदै सडकमा भौंतारिने! आर्थिक अवस्था कमजोर रहेका चन्द्रनिगाहापुरका रिक्साचालक केदारप्रसाद तिमल्सिनालाई चिन्न उनीसँग एकपटक भेटेर मात्रै पुग्दैन। उनको रिक्सामा बसेर मध्यतराईका केही सहर घुम्ने समय निस्किए थाहा हुन्छ- उनी एक सामन्य रिक्साचालक मात्र होइनन्।

रौतहट चन्द्रनिगाहापुर-४ का ४० वर्षीय केदारप्रसाद आफैं बिरामी भएर ओछ्यान परे भने उनको घरको चुल्हो बल्दैन। दुःखमा बाँचिरहेका यी रिक्साचालक समाजसेवामा तल्लीन छन्।

तिमल्सिनाले रिक्सा चलाएर परिवार धानेको दस वर्ष भइसकेको छ। अहिले उनी इरिक्सा चलाउँछन्। फरक यति हो- यही रिक्साबाटै गरिब र दिनदु:खीलाई सहयोग बाँड्छन्। हरेक वर्ष जिल्लामा बाढी, जाडो, आगलागीबाट धेरै जनधनको क्षति हुने गरेको छ। पीडितलाई उनी सहयोग गर्न पुग्छन्।

यस वर्ष तिमल्सिनाले चन्द्रपुरनिगाहपुर लगायत जिल्लाभका विभिन्न गाउँमा मुसहर, बाढीपीडित बस्ती र गाउँमा पुगेर दलित तथा अतिविपन्न छ हजारभन्दा बढी परिवारलाई सर्ट, पाइन्ट, भेस्ट, कुर्ता-सुरुवाल साडी न्यानो कपडा वितरण गरेका छन्।

यसअघिका वर्षहरूमा पनि शितलहर पीडित, बाढीपीडितहरूलाई उनले न्यानो कपडा, खाद्यान्न वितरण गरेका थिए। अघिल्लो वर्ष मात्रै चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाउनु परेकाले यो बर्ष अझ बढी न्यानो कपडा बाँडने लक्ष्य राखेको उनी बताउँछन्।

आफ्नै आँखा अगाडि शीतलहरले गाउँले मरेको देखेका तिमल्सिनाले तराईका जिल्लामा शीतलहरबाट मृत्यु हुनेहरूको कटू यथार्थ सञ्चारमाध्यमबाट पटक-पटक बाहिर ल्याए।

कुनै सरकारी निकाय तथा गैरसरकारी संस्थाहरूले चासो नदेखाएपछि यो अभियानमा लागेको उनी आफैं बताउँछन्। ‘शीतलहरबाट हुने मानवीय क्षतिको कुरा दुनियाँसामू ल्याए पनि गरिबहरूको ज्यान बचाउन कसैले चासो नदिएपछि आफैं न्यानो कपडा जुटाउने अभियानमा लागेको हुँ,’ उनी भन्छन्।

फेसबुकमा ‘रौटहटमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै’ भनी स्टाटस लेखेर गरिबको लागि काम गर्न थालेको उनले बताए। उनी अहिले दिनहुँजसो आफ्ना निजी तथा सामाजिक कामबारे फेसबुक, स्थानीय रेडियो र पत्रपत्रिकाबाट जानकारी दिँदै आएका छन्। त्यही जानकारीपछि दाताले उनलाई कपडा र पैसा जुटाइदिन्छन्, उनी बाँड्छन्।

यो अभियान थाल्न प्रेरणा भने उनी आफैंबाट पाएका हुन्। एक दिन, टोलका छिमेकीहरूसँगै उनी राहत वितरणस्थलमा पुगेका थिए। दस वर्षअघिको कुरा हो। पोखराबाट रोटरी क्लब संस्था आएर उनको गाउँमा सिरक बाँड्दै थियो। त्यो संस्थाबाट उनले पनि उपहारको रुपमा न्यानो सिरक पाएका थिए।

‘न्यानो सिरक उपहार पाएपछि म खुसी भएँ। त्यतिबेला नै पोखराबाट आएका संस्थाका कर्मचारीसँग सोधपुछ गरें। कसरी तपाईंहरूले यो सिरक प्राप्त गर्नुभो?,’ उनले भने, ‘उहाँहरूले थोरै थोरै पैसा उठाएर सहयोग गर्न ल्याएका हौं।’ उनीहरूले यसो भनेको एक साताभित्रै उनले यो अभियान थाले।

शीतलहरबाट मृत्यु घटनालाई सामान्य मान्ने सरकारको आँखा खोल्न स्थानीय रेडियो, रेडियो नेपालसमेतमा शीतलहरबाट भएको मृत्युको तथ्य पटक-पटक बाहिर ल्याएको उनले बताए। मध्य-तराईमा जाडोबाट मृत्यु हुनेको समस्या बाहिर ल्याए पनि त्यहाँका गाउँमा रहेका गरिब निमुखाको ज्यान जोगाउन कसैले चासो नदिएको उनी बताउँछन्।

यो अभियान थाहा पाएर मनकारीहरूले काठमाडौं, पोखरा, भैरहवालगायत नेपालका विभिन्न स्थानबाट समय अनुसारको कपडा, खद्यान्य समाग्रीका लागि कुराकानी गर्ने गरेको उनले बताए। ‘ढुवानी खर्चका लागि स्रोत र साधनको अभाव भएकाले अझै समस्या छ,’ उनले भने। साभार setopati.com